गाउँको सिरानमा दम्स्याइलो घाँसे चउरसँगै बाह्रैमास पानी जम्ने पाटाखाडी थियो। गाउँले त्यहीं सनपाट कुहाउँथे; गाईबस्तु पानी पिउँथे, आहाल बस्थे। कतिपय गोठाला पौडी खेल्थे, माछा पनि मार्थे।
झापाको कन्काई नगरपालिका १ र २ मा पर्ने जामुनखाडीको यही सिमसार अहिले 'धनसार' बनेको छ। तर, यसो हुनुमा सरकारभन्दा बढी गाउँलेकै पाखुरीको बल लागेको छ। ४३४ हेक्टरको यो वन क्षेत्र २०५६ सालमा जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिको नाममा हस्तान्तरण भएको हो। सामुदायिक वन बनेसँगै जामुनखाडी सिमसार तथा पर्यटकीय समिति गठन गरेका गाउँलेले प्रत्येक वर्ष दुईहजार भन्दा बढी घरबाट एक–एक जनाले बाह्र दिन स्वयंसेवकको रुपमा खाडी खन्ने र सफा गर्ने नियम बनाए।
यतिवेला जामुनखाडी रहरलाग्दो बनेको छ, जहाँ हिउँदका पाँच महीना (कात्तिक―फागुन) पर्यटकको रमिता र एकैदिन सयभन्दा बढी पिकनिक टोलीको भीड लाग्छ। समितिले पिकनिक स्थल र टोलीको संख्या हेरी रु.३०० देखि रु.५ हजारसम्म लिने गरेको छ। उत्तरबाट बगेर आउने पानी जमाई ताल बनाइएपछि डुंगा तैरिनेहरूको पनि घुइँचो लाग्ने गरेको छ। बालबालिकाका लागि बनाइएको पार्कसँगै चिडियाखाना पनि छ।
पर्यटक, पिकनिकको आम्दानीबाट समितिले आर्थिक वर्ष २०७१/७२ मा रु.१ करोड २० लाख संकलन गरेको थियो। “चालू आवमा रु.२ करोड उठाउने लक्ष्य राखिएको छ”, समितिका अध्यक्ष परशुराम गिरी भन्छन्।
पूर्वी मोरङको बेलबारी नगरपालिका वडा न.२, ३, ५ र ६ मा फैलिएको बेतना सिमसार सामुदायिक वनले पनि आन्तरिक पर्यटनबाटै मनग्ये आयस्ता गरिरहेको छ। १७४ हेक्टर क्षेत्रफलको यो सामुदायिक वनको ६३.३ हेक्टरमा सिमसार छ। सिमसार प्रवेश र डुंगा सयरबाट सामुदायिक वन उपभोक्ता समितिले आव २०७१/७२ मा रु.२६ लाख ५० हजार आम्दानी गरेको थियो। समितिका अध्यक्ष डम्बर बस्नेत यस वर्ष रु.४० लाख आम्दानी गर्ने योजना सुनाउँछन्। पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बेतनाले वन क्षेत्रको १३.१७ हेक्टरमा मानवीय गतिविधि गर्न अनुमति लिएको छ, जहाँ एकदर्जन होटल खुलिसकेका छन्।
पूर्वको इटहरी उपमहानगरपालिका क्षेत्रभित्रका दुई वटा सामुदायिक वनमा २१.५ हेक्टरमा फैलिएको तालतलैया सिमसार क्षेत्रले पनि पर्यटन तानिरहेको छ। यो सिमसार बालउद्यान र पिकनिक स्थलका रुपमा चर्चित छ। समितिका अध्यक्ष वीरबहादुर लिम्बू चालू आवमा रु.२० लाख आम्दानी गर्ने आयस्ताको योजना रहेकोमा पहिलो ७ महीनाभित्रै रु.१३ लाख उठिसकेको बताउँछन्। तालतलैयामै गत माघमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सञ्चालन गरिएको थियो। ६ मुलुकका २६ मूर्तिकारले भाग लिएको कार्यशालापछि तालतलैया आउनेको संख्या ह्वात्तै बढेको छ।
पैसाजति विकासमा
सिमसारका कारण सामुदायिक वनको आम्दानी बढेसँगै गाउँको विकासमा सरकारको मुख ताक्नु नपर्ने भएको छ। जामुनखाडी सामुदायिक वनले चार वर्षमा २८१ उपभोक्ताका घरमा चर्पी बनाउन जनही रु.८ हजारको निर्माण सामग्री प्रदान गरिसकेको छ। रु.९ लाख खर्चेर जामुनखाडीलाई राजमार्गसँग जोड्ने डेढ किलोमीटर सडक कालोपत्रे पनि गर्यो। यस वर्ष थप डेढ किलोमीटर कालोपत्रे गर्न रु.१५ लाख र २० विपन्न परिवारलाई सौर्य ऊर्जा उपकरण खरीद गर्न जनही रु.१२ हजारका दरले दिने निर्णय पनि गरेको छ।
समितिका अध्यक्ष गिरी अति विपन्न १० उपभोक्ताका लागि रु.२ लाखका दरले घर बनाउने सहयोग दिन लागेको बताउँछन्। समितिले विद्यालय, गुम्बा, मन्दिर, मस्जिद, चर्च, माङहिम र कलभर्ट निर्माणमा पनि सहयोग गरिरहेको छ। गाउँसँग जोडिएको जामुनखाडी वरपर आउजाउ बढेपछि करीब १०० घरमा पसल र होटल खुलेका छन्। रोजगारीको मेलो गाउँमै बढेको छ। जग्गाको मूल्य बढेको छ।