१४-२० चैत २०७२ | 27 March - 2 April 2016

दृष्टि भएर के भो!

Share:
  
- स्मृति बस्नेत
आँखा देख्नेलाई समेत समाजका कतिपय कठिन अव्यवस्था दृष्टिविहीनमुखी बनाउनुको विकल्प छैन।

गोपेन राई
सार्वजनिक यातायातमा फरक क्षमताका व्यक्तिका लागि छुट्याइएको 'अपांग आरक्षण सीट' मा प्रायः सबलांग नै बसिरहेका हुन्छन्। आफूले नभनेसम्म सीट छोड्न नमान्नेसँग दृष्टिविहीन इच्छा केसी (४५) को सधैंजसो भनाभन पर्छ। फागुनको अन्तिम साता यस्तै भयो, अपांगता भएका व्यक्तिका लागि छुट्याइएको सीटमा बसेका एक यात्रु सीटबाट टसमस नै नगरेपछि फर्पिङ चेकपोस्टमा बस रोकिएको मौका पारी केसीले प्रहरी गुहारिन्। “आँखा नदेख्नेले थाहै पाउँदैनन् भन्ठानेर आरामले बसिरहेका हुन्छन्”, केसी भन्छिन्, “धेरैले सीट छोड्न आनाकानी गर्छन्।”

पाँच वर्षको उमेरमै दृष्टि गुमाएकी केसीले अपांगतालाई जीवनको अवरोध बन्न दिइनन्। अंग्रेजी साहित्यमा स्नातकोत्तर उनले केही वर्ष बेलायती सहयोग नियोग युकेएडमा काम गरिन्। अहिले अर्को जागीरको खोजीमा छिन्।

२०६८ सालको जनगणना अनुसार, नेपालका ९६ हजार दृष्टिविहीनमध्ये ०.५ प्रतिशत पटक्कै आँखा देख्दैनन्। तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतका अनुसार यीमध्ये ७० प्रतिशतभन्दा बढी बिरामीलाई उपचारपछि राम्ररी आँखा देख्ने बनाउन सकिन्छ। “मोतिबिन्दु, जलबिन्दु, मधुमेह, दुर्घटनापछिको आघात र परावर्तनसम्बन्धी समस्याका कारण नेपालमा आँखा नदेख्नेको संख्या बढिरहेको छ”, रुइत भन्छन्।

पाइलैपिच्छे सास्ती

राजधानीको त्रिचन्द्र क्याम्पसमा मनोविज्ञान विषयकी विद्यार्थी सुप्रभा अर्याल कक्षा १० सम्म ब्रेल पुस्तक भए पनि उच्चशिक्षा अध्ययनमा पाठ्यपुस्तककै समस्या रहेको बताउँछिन्। अर्याल भन्छिन्, “कापी जाँच्नेले ब्रेल नबुझ्ने भएकाले जाँचमा लेखिदिने व्यक्ति नखोजी हुँदैन।”

वर्षैपिच्छे पुस्तक पुनरावलोकन गरिदिनाले पनि अन्धा कल्याण संघ जस्ता संस्थालाई पाठ्यपुस्तक बे्रलमा अनुवाद गर्न कठिन भइरहेको छ। “प्रकाशकहरू बजारमुखी छन्”, सेभ द चिल्डे्रनकी शिक्षा विज्ञ गोपिनी पाण्डे भन्छिन्, “उनीहरू आँखा देख्नेका लागि मात्रै पुस्तक छाप्छन्।”

कीर्तिपुरमा रहेको ल्याबरोटरी स्कूलले भने सन् १९६४ तिरै आफ्नो पाठ्य सामग्रीमा ब्रेल भाषा समावेश गरेको थियो। ल्याबरोटरीमा हाल ५३ जना दृष्टिविहीन विद्यार्थी छन्।

“विद्यालयमा स्रोत कक्षा चलाउन धेरै लगानी चाहिन्छ”, शिक्षक बिन्दिया श्रेष्ठ भन्छिन्, “सबै विद्यालयले लगानी गर्न चाहँदैनन्।” ल्याबरोटरीमा भने श्रेष्ठसहित दृष्टि भएका र दृष्टिविहीन, दुवैथरी शिक्षकले विद्यार्थीलाई बे्रलजडित इम्बोसर्स भएका कम्प्युटर, स्लेट र स्टाइलुसेजबाट अध्यापन गराउँदै आएका छन्।

सेभ द चिल्ड्रेनकी पाण्डे भने विद्यालय–शिक्षा प्रवेशद्वार मात्रै भएकाले दृष्टिविहीनका लागि रोजगारी र सीपमूलक तालिम अत्यावश्यक भएको बताउँछिन्। त्यसो त लोक सेवा आयोगले बजेटको ५ प्रतिशत अपांगता भएकाहरूलाई उपलब्ध गराउँदै अएको छ। निजी संघ/संस्थाले पनि २५ जनामध्ये न्यूनतम एक जना कर्मचारी अपांगता भएका राख्नुपर्ने सरकारी प्रावधान छ। तर, यस्ता प्रावधान पालना भए/नभएको बारे प्रभावकारी अनुगमन गरिएको छैन।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सह–सचिव हुमकला पाण्डे कर्मचारीसम्बन्धी कानूनलाई कडाइका साथ कार्यान्वयन गराउन नसकिएको स्वीकार गर्छिन्। अन्धा कल्याण संघका अध्यक्ष कुमार थापा हिंडडुल गर्नै सबैभन्दा गाह्रो भइरहेको बताउँछन्। “सडकका बीचमा बिजुलीका खम्बा गाडिएका छन्, पेटीभरि गाडी पार्किङ गरिएको हुन्छ”, उनी भन्छन्, “खाल्डाखुल्डी र ढलका मण्डल खुलै भइदिनाले हिंड्नै जोखिम छ।”


दमदार दवाडी दिदीबहिनी

नारायणी (२९) र सुनिता दवाडी (२७) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरका रूपमा काम थाल्दा बाँकी सहकर्मीको व्यवहार नै फरक थियो। कारण, दवाडी दिदी–बहिनी जन्मजात दृष्टिविहीन थिए। “हामी बोझ् बन्छौं भन्ने लागेको थियो होला”, नारायणी सम्झन्छिन्, “त्यसैले आफूलाई प्रमाणित गर्नैपर्छ भन्ने प्रण गरेका थियौं।” धरानस्थित पूर्वा

ञ्चल ज्ञान चक्षु विद्यालय र कीर्तिपुरको ल्याबरोटरी स्कूलमा पढेका यी दिदीबहिनीमध्ये नारायणीले डिल्लीबजारको कन्या क्याम्पसबाट स्नातकोत्तर गरेकी छन् भने सुनिता स्नातकोत्तरको शोधपत्र लेख्दैछिन्। “नपढेको भए हामी यहाँसम्म आइपुग्ने थिएनौं”, नारायणी भन्छिन्, “न त समाजमा के भइरहेछ भन्ने नै हेक्का हुन्थ्यो।” ब्रेलमा पाठ्यपुस्तकको कमी हुनु र परीक्षामा लेखक खोज्नुपर्ने झन्झटबाट भने उनी आजित छिन्।

दवाडी दिदी–बहिनीको कामबाट प्रभावित विमानस्थल प्रशासनले दृष्टिविहीनका लागि थप आठ पदमा भर्ना खोलेको छ। योसँगै सहकर्मीको आफूहरूलाई हेर्ने दृष्टिकोण पनि फेरिइसकेको नारायणीको अनुभव छ।


दृष्टि गुम्यो, जीवन मिल्यो

गीत बज्यो कि नाचिहाल्नुपर्ने स्वभावकी सृष्टि केसीका लागि नृत्य नै अभिव्यक्तिको एकमात्र माध्यम थियो। तर, जब उनी कक्षा ८ मा पुगिन्, आँखामा संक्रमण देखियो। लामो समयसम्म औषधि प्रयोग गर्दा उनलाई जलबिन्दुले समायो। १६ वर्षमै उनले दृष्टि गुमाइन्।

“आँखा देख्न छोड्दा शुरुमा धेरै डर लागेको थियो”, उनी भन्छिन्, “तर, विस्तारै आँखाको ज्योति मात्रै गुमाएको हो, हात–खुट्टा त छ नि भन्ने लाग्न थाल्यो।” आँखा नदेखे पनि नृत्यमा उनको रुचि उस्तै थियो। तर, कुनै इन्ष्टिच्यूटले सृष्टिलाई नृत्य सिकाउन मानेन। यतिसम्म कि उच्च शिक्षाका लागि क्याम्पसले भर्ना समेत लिएन। “निजी कलेजले मलाई बोझकै रूपमा लिए”, २५ वर्षीया सृष्टि भन्छिन्। पद्मकन्या क्याम्पसमा पढाइ थाल्दा उनी झनै आत्तिइन्, किनभने ब्रेल भाषा उनका लागि वेग्लै संसार थियो।

“अनि साथीभाइ र आफन्तको सहयोगमा मैले सबै पाठ रेकर्ड गरें, सुनेर बुझ्न थालें”, उनी भन्छिन्। पढाइप्रतिको उनको अथक् मिहिनेतले प्रवीणता प्रमाणपत्र तहमा नेपाल छात्रा विद्या पदक र स्नातकमा अर्जुन स्वर्ण पदक पनि जितिन्।

दृष्टिविहीनका पक्षमा बोल्नेले पनि शिक्षा र रोजगारीको मात्रै कुरा गरेको सृष्टिलाई चित्त बुझेको छैन। उनको भनाइमा दृष्टिविहीनलाई समाजसँग घुलमिल हुने सीपको अझ बढी आवश्यकता छ। यही मान्यता र अनुभवका आधारमा उनले ब्लाइन्ड रक्स संस्था खोलेकी छन्, जसले दृष्टिविहीनका लागि नृत्य, फेशन, खेलकुदसँगै विविध सीपमूलक तालीम दिन्छिन्। 'अन्धालाई शारीरिक हाउभाउ, पोस्टर, अनुहारको भावाकृति र नाचगान किन चाहियो?' ब्लाइन्ड रक्स सञ्चालन थाल्दाताका उनलाई धेरैले प्रश्न गरेका थिए। जसको जवाफ कुराले होइन, कामले दिने उनको अठोट छ।

दृष्टिविहीनका लागि भारत, पोल्याण्ड, रुस, फ्रान्स, नर्वे र हङकङमा समेत विभिन्न खाले कार्यशाला गर्न भ्याएकी सृष्टि दृष्टिविहीनलाई समाजका सक्रिय सदस्य बनाउन चाहन्छिन्।

हाल नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा नृत्य र अभिनय अध्ययन गरिरहेकी सृष्टिले नेपालमा दृष्टिविहीनका लागि आर्ट स्कूल खोल्ने लक्ष्य लिएकी छन्। “मैले आँखाको ज्योति गुमाएर जिन्दगीको दृष्टि प्राप्त गरें”, उनी भन्छिन्, “अवसरहरू हामी वरिपरि नै हुनेरहेछन्। पुग्नलाई प्रयास गरे पुग्दोरहेछ।”

सहिना श्रेष्ठ

comments powered by Disqus

रमझम