कक्षा ८ मा पढ्दा पहिलो पटक बुद्ध मूर्ति खोपेका विजय महर्जन (३२) त्यसपछि भगवानमै मग्न भए। उनी वर्षौंदेखि देवताकै आकृति कुँदिरहेका छन्।
हाल विश्वरुपाको मूर्ति बनाइरहेका महर्जन तान्त्रिक शक्तिलाई मूर्तिमा मिसाउन खोजिरहेका छन्। यसका लागि थुप्रै गुरुजी र रिम्पोचेसँग भेटेका छन्। लामा–गुरुहरूलाई ध्यान गर्दा देखेको विराट स्वरुप वर्णन गर्न लगाएर त्यही अनुसारको आकृति बनाउने विजयको लक्ष्य छ।
“देवता भनेकै ऊर्जा हो”, विजय भन्छन्, “तारालाई शितला, बुद्धलाई शान्ति, गणेशलाई परिश्रमको प्रतीक भनेर ऊर्जालाई भगवानको नाम दिइएको छ।”
“बनाउन त अनेक चिज बनाउँछु”, ललितकलामा स्नातकोत्तर गरिरहेका उनी भन्छन्, “तर, भगवानका मूर्ति बनाउँदा अनौठो ऊर्जा मिलिरहेको हुन्छ।”
सजना
बुङमतीमा 'बर्निङ म्यान'
काठमाडौं कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजित काष्ठमेलामा अमेरिकी शिल्पकार डेभिड बेस्टले अचम्मको मन्दिर बनाए। मन्दिर ललितपुरको बुङमतीमा भूकम्पले भत्काएर डंगुरमा फालिएका सामग्री प्रयोग गरी बनाइएको थियो। आफूले बनाएका मन्दिरलाई आगो लगाउने भनी चिनिएका उनले मेलामा अन्तिम दिन, १२ चैत पनि त्यसै गरे, मेलास्थलमै मन्दिरमा आगो लगाए। “आगो लगाउनुको अर्थ क्षति बिर्सिएर नयाँको सुरुआत गर्नु हो”, बेस्ट भन्छन्, “नेपालले आफ्नो विकासका लागि नवयुग सुहाउँदो पुनःनिर्माण गर्नुपर्छ।”
बेस्टले सन् २००० मा अमेरिकाको ब्ल्याक रक डेजर्टमा आयोजित 'बर्निङ म्यान फेस्टिभल' मा पहिलो पटक आफ्नो मन्दिर जलाएका थिए। त्यो वेला मोटरसाइकल दुर्घटनामा दिवंगत साथीको सम्झनामा मन्दिर जलाएका उनले त्यसपछि त्यसैलाई निरन्तरता दिए।
त्यसो त सान फ्रान्सिस्को आर्ट इन्ष्टिच्यूटका उत्पादन बेस्ट मन्दिर निर्माण पनि गर्छन्। विश्वका विभिन्न शहरमा १५ वटा मन्दिर बनाइसकेका उनी बुङमतीमै पनि एउटा मन्दिरको पुनःनिर्माणमा सक्रिय छन्। नेपाली काष्ठकलाप्रति आकर्षित उनी भन्छन्, “काठमाडौंको काष्ठ संस्कृतिबारे थाहा नपाएको भए म यहाँ आउन्नथें होला”, उनी भन्छन्।
स्मृति
बिम्बाकाशमा वर्तिका
मिस नेपाल युएस २०१३ की विजेता वर्तिका राई गीति संग्रह बिम्बाकाश लिएर सांगीतिक आकाशमा देखिएकी छन्। अल्बममा उनी आफैंले लेखेका र संगीत भरेका ६ वटा गीत छन्। राईले फागुनको अन्तिम साता न्यूयोर्कबाटै अल्बम सार्वजनिक गरेकी हुन्।
त्यसो त उनले सात वर्षको उमेरमै काठमाडौंको बूढानीलकण्ठ स्कूलको कार्यक्रममा पहिलोपल्ट गाएकी थिइन्। एसएलसीपछि उनले गुरुदेव कामतसँग आधुनिक गायन कलाको प्रशिक्षण लिइन्। उनले श्रुति प्रधानसँग पश्चिमा संगीतको औपचारिक ज्ञान समेत हासिल गरिन्। पछिल्लो समय अमेरिकामा बस्दै आएकी राईले अहिले १९७४ एडीका पूर्व सदस्य फिरोज स्याङ्देनसँग संगीत सिकिरहेकी छिन्।
जर्जियास्थित वेस्लेयन कलेजमा वाणिज्य संकायकी विद्यार्थी उनी आफ्ना सबै गीत यथार्थपरक रहेको बताउँछिन्। “कल्पनाशीलता भन्दा वास्तविक पात्र वा घटनालाई गीतमार्फत उन्ने प्रयत्न गरेकी छु”, उनी भन्छिन्। अल्बमको शीर्ष गीत बिम्बाकाशको म्युजिक भिडियो युट्यूबमा २ लाख ५० हजार पटक हेरिसकिएको छ।
प्रशान एलुङ राई