२१-२७ चैत २०७२ | 3-9 April 2016

चिनियाँ छाता

Share:
  
- महेश थापा
एक्काइसौं शताब्दीका मान्छेले दोबारा छाता नओढ्ने गल्ती गर्ने कुरै छैन।

भानु भट्टराई
परिस्थितिजन्य गलहत्तीमा दोपाया बन्ने उद्यमस्वरुप पछिल्ला खुट्टीको बलमा ज्यान ठिंग्याउँदा अफ्रिकी जंगलमा बौबाइ बसेका आदिमानवको खेमामा खलबली मच्चियो। थर्थराउँदो तिघ्राको भरमा गर्दन–ढाड कक्रक्क पार्दै बेढंगी चालले अघि बढेका बिरादरीलाई कुरीकुरी गर्दै गिल्लाजीवीहरूको एउटा टुकडी हाँसेर लोटपोट भयो। चौपाया बनेर जिजीविषा नचल्ने निधो गर्दै आदिमानवको एउटा डफ्फाले लड्दै/उठ्दै चट्टानी पहाड उक्लिने मेसो गरेको देखेर अतासिएकाहरू पुरानै थलोमा फर्किए।

लाखौं वर्ष त्यही अनकन्टारमा रुमल्लिएपछि थुतुनो जोतेकै भरमा तिनको पनि गुजेस्ता नचल्ने भयो। लगलग काम्दै खुट्टा टेक्दा तिनले जिल खाए– घोप्टिएर देखेको भन्दा संसार विशाल–सुन्दर थियो! क्षितिज छोएका टाकुराहरूलाई भेट्न भनी दौडँदा ती झ्न् फैलिन्थे। अग्लिएको नजरबाट हेर्दा यत्रतत्र छरिएका आहारा मात्र नभई टाढाबाटै खतरा पनि गोचर हुँदा तिनले उभिनुको महत्व बुझे। लाखौं वर्ष पहिले त्यहाँबाट बसाइँ हिंडेका पुर्खाहरू कहाँ/कसरी बसेका होलान् भन्ने कौतूहलले उखुम भएपछि युरेशियातिर पदचिह्न पछ्याउँदै ती नेपाल आइपुगे। बीचमा भेटिएका मान्छेहरूको उन्नति देखेर विस्मित उनीहरू केही नेपालीको चर्तिकला देख्दा भने हक्क न बक्क परे।

दर्के झ्रीबीच चौरमा घुम ओढेर बसेका दुई जना गुरुजी गम्भीर ढङ्गले बुद्धिविलास गर्दा थिए। उनीहरूको माथापच्ची गम्भीर भए पनि विषय चाँचरी टाइपकै थियो। घुम ओढ्दैमा खिस्याउनुपर्ने होइन, तर टाउको छोप्दा ढाड उदाङ्गो र ढाड ढाक्दा टाउको ह्वाङ्ग हुने त्यो अटपटा आकारको घुम थियो। त्यसमा पनि कौनो हर्जा नाईं, किनकि सर्वाङ्ग रुझ्ाउनुभन्दा आंशिक भए'नि ओतिएको जाती। घुमभित्र गुँडुल्को पर्दै घुँडा जोतेर बसेका उनीहरू हतप्रभ देखिन्थे– आफ्नो हविगतप्रति नभई अघिल्तिर तेर्सिएको छाता देखेर। दुम्चिएर बस्दा पनि पानीको अनवरत चुटानबाट आजित भए'सि एकले घुम बिसाएर छाता टिप्न खोज्दा अर्का गुरुजीले अतासिंदै भने, “त्यसले भलो गर्दैन।”

“किन महोदय?”

“चाइनिज छाताको भर हुँदैन।”

“यो घुमले जस्तो अभरै त नपार्ला नि!”

“घुमवाला महाजन रिसानी भए यही थोत्रे घुम पनि थुत्लान्”, दक्षिणतिर फर्केर प्रणाम गर्दै गुरुजीले कान समाते, “यो भुच्चुके मोरोलाई माफी बक्स्योस्, प्रभु!”

“सुस्तरी ढाडिएर सिल्टिनु भन्दा हातखुट्टा चलाउँदै गनिमत होला”, दोस्राले छाता उघार्न खोजे।

“कुरो बुझ् बेवकूफ!” गुरुजीले समस्याको पन्तरो खोले, “छाता ओढ्न खुट्टा नटेकी हुन्न।”

“त्यही गुणले त दोपाया र चौपाया छुट्टिन्छ।”

गुरुजीले लङ्गोट कस्दै आफ्नो ज्ञानको पेटारो खोले– “मानव इतिहासको गम्भीरतम मिस्टेक उभिनु नै थियो। उभिएसँगै मान्छेको जुनीमा लफडाको खत्यौल लाग्यो। बेरोजगार बनेको हातलाई रोजगारी दिलाउने ध्येयमा संचितिको होड बढेर मान्छे लोभी/पापी भए। फेरि, जोडी पट्याउने फिराकमा भालेहरूबीच एकअर्कालाई भुक्याउने भिडन्त चल्दा मान्छेले उभिन सिकेको भन्दै एकाथरी नृतत्वशास्त्रीहरू जङ्गिन्छन्। चौपाया भैद्या'भे न अर्जुनले गाण्डीव उठाउँथे न त रामले शिव–धनु भाँच्थे।

धनयुद्ध मात्र नभई तन/मन युद्धको समेत सूत्रधार यो धुन्धुकारी कला नसिक्या'भे महाभारत, रामायणलगायत अनेकौं युद्धको विभीषिका टर्थे।”

सरल कुरालाई जटिल बनाई अदनाहरूको भेजा फ्राई गर्न नसके के बुद्धिजीवी? गुरुजी थामिएनन्– “उभिनुको पार्श्व असरले रूखको हाँगामा तुर्लुङ्गिने विद्या मान्छेले भुल्यो। छँदाखाँदाको तेर्सो डँडाल्नोलाई बलात् ठाडो पार्दाको दुष्परिणाम स्वरुप ढाड र जोर्नीको दुखाइ, स्लिप्ड–डिस्क, अर्थराइटिस जस्ता व्यथाले आजपर्यन्त पिण्ड छाडेको छैन। उभिनु स्वास्थ्यको लागि हानिकारक भएकाले घुँडा जोतेरै सही, यही ठुटे घुम ओढौं, उभिएर छाता ओढ्ने दुस्साहस नगरम्!”

छाताको विपक्षमा आफ्नो ज्ञानको भकारो निथारेरै छाड्ने मेसो गर्दै गुरुजीले धडाधड दागेका तर्कहरूले भेदेर धरासायी पारेपछि छिपेर सुनिरहेका केही आदिमानवहरूले झ्टपट हात टेके।

“ना मुन्ना, ना!” अगुवाले ब्रेक मार्दै भने, “सहेलान्थ्रोपसको पनि बराजुसँग मितेरी लाउन तम्सिने घसेटाहरूको खोकान्मा लोटिएर हुन्न। लत्ती छाड्नुभन्दा खुट्टी टेक्नु उत्तम, घुमभन्दा छातै अच्छा हो। वर्षात्ले ठटाइ राख्या वेला सामुन्नेको छाता उघार्न छाडी त्यसको ब्रान्ड खोतलेर झ्क मारी बस्ने बेसुराहरूको के कुरा गर्नू?”

हात टेकेका आदिमानवहरू पुनः उभिए। खुट्टा टेक्ने बुद्धि भुत्तिन थालेका अर्द्धमानवहरूसँगको जम्काभेटबाट आदिमानवमा आफू पिछडिएको भनेर कायम चिन्ता दूर भयो। हान्निंदै गएको अगुवाले बतियाउनमा अलमस्त गुरुजीको मुख लेपार्‍यो अनि छाता ओढेर उत्तरी दिशातिर कूच गर्‍यो।

comments powered by Disqus

रमझम