२१-२७ चैत २०७२ | 3-9 April 2016

रेजिडेन्टको असन्तुष्टि

Share:
  
- ज्ञानमणि नेपाल
नेपाल आएका अंग्रेज रेजिडेन्टहरूमध्ये ब्रायन हडसनले राजपरिवारमा सत्ताका लागि कल–झगडा लगाइदिनेदेखि भारदारमा भेदनीति प्रयोग गरेर राष्ट्रिय शक्तिलाई क्षीण पार्नेसम्मका काम गरे।

भीमसेन थापाको पतनपछिको सत्ता संक्रमणकालको भरपूर लाभ लिएका रेजिडेन्ट ब्रायन हडसनले दरबारबाट त सहयोग लिएकै थिए, धेरै गुप्त व्यक्तिहरूबाट पनि भित्री–बाहिरी विशेष सूचनाहरू लिन्थे। देखिनेमा यिनका इतिहास–संस्कृति अध्ययन, साधनस्रोत बटुल्ने, वंशावली लेख्ने/लेखाउने काम थिए। यसरी लामो कार्यकाल बिताएका यिनलाई पछि राजनीतिमा हस्तक्षेप बढी भो भन्ने बुझेर यहाँबाट विदाबारी गराइयो।

हडसनपछिका अंग्रेज रेजिडेन्टहरू नेपाल सरकारसँग असन्तुष्ट रहे। बाहिरियाहरूसँग हिमचिम गर्र्न पाइएन, शैरशिकारमा जान पाइएन, देशदर्शन गर्न पनि पाइँदैन– तिनीहरूबाट सधैं यस्तै आकांक्षा/आशय व्यक्त भइरहन्थे। यस्तो खुरन्दारबाट आजित भएका जंगबहादुरले एउटा जुक्ति लगाएर तिनलाई ठाउँमा राखेका थिए। तिनले चिनियाँहरू के दर्जाका, को–को, कस्ता आए, के ल्याए भनेर सोधिरहन्थे, जुन हिमाल को अघिल्लो अंकमा पनि भनियो।

वि.सं. १९६४ मा चिनियाँहरूको स्वागत समारोहका लागि तत्कालीन रेजिडेन्ट राभिन्सनलाई लिन कप्तान अष्टमान, कर्णेल हेमविक्रम राणा गए। महाराज चन्द्रशमशेरले सिंहदरबार बैठकमा चिनियाँहरूसँग रेजिडेन्टको भेट–मुलाकात गराइदिए। भोलिपल्ट रेजिडेन्टले चिनियाँहरू रेजिडेन्सीमा पनि आउँछन् कि भनी महाराजलाई सोधेर लेखेछन्। महाराजले बुझदा चिनियाँ प्रतिनिधिले भनेछन्, “अहिले भोटसँग अंग्रेजको कल–झ्गडा परेको अवस्था छ। यतिखेरै हामीले भेट्यौं भने अंग्रेजसँग मरमुलाकात गरे भनेर तिब्बतीहरूले दगा गर्लान्। त्यसो हुँदा आउन सकिएन, नभए खुशीसाथ आउने थियौं।”

त्यो खबर मरिचमानमार्फत पठाइएपछि रेजिडेन्टले 'भैगो, पहिले भेट्ने चलन थियो र अहिले पनि खबरै गरेनन् भन्लान् कि भनेर मात्रै हो' भनेछन्। रेजिडेन्टले चिनियाँहरूसँग खुलेर बात मार्न चाहेकै थिए, पाएनन्। एक दिन कर्णेल जगतशेर र अष्टमान रेजिडेन्सी गएका वेला रेजिडेन्टले 'कर्णेल साहेब, के गर्नुहुन्छ?' भनेर सोध्दा कर्णेल जगतशेरले भनेछन्, “म महाराजले अह्राएको काम गर्छु। अघि एम्बेसडर भएर चीन गएको थिएँ, बाटामा विद्रोह उठेकोले पेचिन (बेइजिङ) पुग्न नपाई ल्हासा फर्कें। भोटेहरूले मार्न आँटेका फ्रेञ्च धर्मप्रचारकहरूलाई बचाएँ।”

अंग्रेजलाई मद्दत गरे भनेर भित्रभित्रै रिसिएका तिब्बतीहरूले ग्यान्चीका नेपालीलाई मार्छौं भन्दै धम्क्याउँदा रहेछन्। भारतको पत्रिकामा त्यस्तो खबर छापिएको विषय कर्णेलले उठाउँदा रेजिडेन्टले हामी त्यहीं बसेका छौं, हाम्रो डरले पनि नेपालीलाई उनीहरूले तलमाथि गर्न सक्तैनन्। गरे आफ्नो पनि ज्यान खतरामा पर्छ भनेर उनीहरूलाई ज्ञान छ भनेका थिए। अनि रेजिडेन्टले मनको असन्तोष वह पोख्तै भने, “यत्रा–यत्रा अफिसर यहाँ हुनुहुन्छ, मरमुलाकात गर्न पाइँदैन। पहिले विकामे जग्गा भनेर रेजिडेन्सी राख्नलाई दिएको थियो। यहाँ अहिले हेर्नुहोस्, कस्तो राम्रो घर छ। तपाईंहरूको दर्जा अनुसार राम्रो घर भएन। हाम्रो चलखेल बुझन भनेर यहाँ तपाईंहरूलाई राखेको, अब जमाना बदलियो। मलाई त सजिलै छ।”
अब निगरानी नबसे पनि हुन्छ भन्ने रेजिडेन्टको भाव थियो। कर्णेलले 'होइन, यो जगा नराम्रो होइन, उचा डाँडाको राम्रो जगा भनेर दिएको अनि अब त हाम्रो पनि रेजिडेन्सी जस्तै राम्रो घर बन्दैछ' भनेर कुरा टारे। रेजिडेन्टको असन्तुष्टि रहिरह्यो।


अंग्रेज राजदूतसँग जनसम्पर्क निषेध

२२ अप्रेल ६ वार

आज कर्णेल जगतशेर साथ गयें

रेजिडेन्ट–कर्णेलसाहेव तपायीले के–के काम गर्नु भयेको छ. के काम् गर्नु हुन्छ.

कर्णेल– अैले त माहाराज्बाट अह्राइबक्सेको काम गरिरहेको छु. एम्बेसडर भै चीनमा गयें. वाहा पुग्न नपाइ ल्हासा फर्के. फ्रेञ्च मिशनरिहरूलाई भोटेहरूले मार्न आटेका रहेछन् मैले बचायें.

रे–तापायींहरू जस्ता ठुलाठुला अफिसरहरू यंहा हुनुहुन्छ भेट् हुन्न कुरा गर्न पाइन यहां इन्ट्रोडुस गर्ने दस्तुर छैन तपायींहरू जस्तासंग कति सुशीसाथ वात्चित् गर्ने थियें. यहां नेपाल गभमेंटको रेजिडेंटसंग अरुको भेट नहुने पोलिसि छ के गरु.

यहां आउने मानिसहरूले रेजीडेन्सी भित्रको घर राम्रो देख्छन् तिम्रो घर तेस्तो देख्छन् तिम्रो पोष्ट ठूलो पोष्ट हो. चुनोट ठोकेको राम्रो घर चाहिन्छ. अघी अघीका रेजीडेन्टहरू छदा रेजीडेन्टले केही गर्न आंटेमा प्राइमिनिष्टरले कस्तै आफुलाई फाइदा हुने भये पनि तेस्को उल्टो गर्ने हुनाले रेजीडेंटको मूभमेन्ट खबर राख्नाको निम्ति ताहा तिमि बस्ने घर बनायेका हुन्. अब अघि जस्तो शंका छैन. इस्त्यारबाट काम् हुने भयेकोले त्यो घर ताहा नभए पनि हुन्छ. तर ताहा नजीक भयेको मलाई वेसै छ केही काम् परिआयेमा चांडो सवर दिनु सजीलो हुन्छ.

क–त्यो घर चुनोट् ठोकी मरमत गरिदिनु भन्ने हुकुम भयेको छ. अब बन्छ आज विवाहको जफत घिराजतरफबाट रेजीडंसी पुर्‍याइदिये।

२६ अप्रेल

आज माहाराजतरफबाट जफत भयो

रे.अघि यो रेजिडेंसी हामीलाई दिंदा सबभन्दा खराब जगा रोजिदियेको हो अब कस्तो राम्रो छ. होइन.

क.खराब जगा होईन. उचा जगा हुनाले बहुत असल जगा छ.

५ मे ५ बार

क.हिजोको पाइनियर मा ग्यांट्सीमा भोटेहरूले नेपाली रैयतलाई मार्न आंटेको थियो. तर सकेनन् भनी लेखेको रहीछ.

रे.भोटेहरूले मार्छु भनी धम्की देखयेको रहेछ. तर कैले मार्न सक्थियो. हामीहरू छैन. हामीहरूले हेर्चाहा गरेमा तिमीहरूलाई कस्ले के गर्न मजदुर छ. कसैले केही गर्न सक्दैनन्.

comments powered by Disqus

रमझम