२१-२७ चैत २०७२ | 3-9 April 2016

ह्यारी 'ह्यांगओभर'

Share:
  
- शेखर खरेल
ह्यारीले नेपालीजनलाई सात वर्षअघि मात्र विदा भएको राजसंस्था मात्र सम्झाएनन्, गणतन्त्रमा 'राजा' बन्न आतुर नेताहरूको चरित्र पनि उदांगो पारिदिएका छन्।

बेलायतका राजकुमार ह्यारी नेपालीको मन जितेर स्वदेश फर्किए। कुनै वेला सूर्य नअस्ताउने साम्राज्य बेलायतका राजकुमारलाई नेपालीले सरल, सहज र समीप पाए। बेलायती राजतन्त्र कसरी राजसंस्थामा अनुवाद भएको रहेछ भन्ने कुराको उदाहरण ह्यारीले प्रस्तुत गरे। एक्काइसौं शताब्दीका राजा–रानी र राजकुमार–राजकुमारीहरू परी कथाका पात्र होइनन् भन्ने महसूस गराए। राजा–रङ्क, सम्राट–सेवकको पर्खाल पनि ह्यारीले मेटाए।

ह्यारीको उपस्थितिबाट नवगणतान्त्रिक मुलुक नेपालका जनतालाई राजसंस्थाप्रतिको स्मृतिदंश (नोस्टाल्जिया) भएको हुन सक्छ। किनकि, दशकअघिसम्म स्वदेशमै कुनै चेहरालाई यसैगरी राजकुमार (युवराज) बाट सम्बोधन गरिन्थ्यो। नेपालीले राजसंस्थालाई माया गरेका थिए। तर, एक्काइसौं शताब्दीका यी राजाले आफ्नो संस्थालाई अठारौं शताब्दीतिर डोर्‍याउने दुस्साहस गरे, फलतः साढे दुई शताब्दी लामो परम्परा बोकेको संस्थाको अवसान भयो।

आजका राजसंस्था स–साना द्वीप जस्तै हुन्। अरबका केही मुलुक बाहेक यूरोप र एशियामै पनि राजसंस्था आलङ्कारिक भूमिकामा मात्र छन्। विश्वकै समुन्नत प्रजातन्त्र बेलायतमा राजसंस्थालाई कार्यकारी हैसियतका प्रधानमन्त्रीका सिफारिश सदर गर्ने परम्पराका कारण 'किङ क्यान डू नो रङ' (राजाले गल्ती गर्नै सक्दैनन्) भन्ने मान्यता स्थापित छ। कार्यकारी हैसियतबाट च्यूत बेलायतमा राजसंस्थाको लोकप्रियता उकालोलाग्दो छ। लोकप्रियताको मुख्य आधार बेलायती राजसंस्थाले आफूलाई सामाजिक तथा लोककल्याणकारी क्षेत्रमा संलग्न राख्नु नै हो। राजपरिवारका सदस्यहरू बेलायत वा बाहिरका विपत्मा परेकालाई सहयोग पुर्‍याउँछन्। टीम रुविकनमार्फत गोरखाको लापुवेसीस्थित प्रभात किरण माध्यमिक विद्यालयको भवन निर्माणमा ह्यारीबाट भएको श्रमदान यस्तै उदाहरण हो।

गणतन्त्रका 'राजाहरू'

ह्यारीले घनले ढुङ्गा फोर्दा र डोकोमा ढुङ्गा बोकेर विद्यालय निर्माणमा खटिइरहँदा संयोगवश वागमती सफाइमा नेपालका लब्ध प्रतिष्ठित व्यक्तिहरूको संलग्नताको दृश्यहरू छापा तथा टिभीका पर्दामा देखिए। लाग्थ्यो, उनीहरु फोटो सेसन गराइरहेका थिए। प्रदूषित ठाउँमा मास्क र पञ्जा लगाएर स्वास्थ्यप्रति सचेतना देखाउनु बुद्धिमानी हो। तर, औपचारिकता र कर्मकाण्डबाट वागमती सफा गर्न खोज्नु रुमानी सपना बाहेक केही होइन।

सावरमती आश्रममा स्वयंसेवा गर्न पुग्नेहरूलाई महात्मा गान्धी सर्वप्रथम कुचो लगाउन र नाला सफा गर्न लगाउँथे। उनीहरूलाई उत्प्रेरणा दिन गान्धी आफैं अगुवाइ गर्दथे। यसरी उनी कथनीलाई करणीले अनुमोदन गर्दथे। गान्धीकै शैली पछ्याएकी थिइन्, ह्यारीकी आमा अर्थात् दिवंगत राजकुमारी डायनाले पनि। राजपरिवारका महिला सदस्यहरूले पञ्जा लगाएर हात मिलाउने परम्पराको क्रमभंगता डायनाले नै गरेकी थिइन्। त्यति मात्र होइन, सन् ८० को दशकतिर देखापरेको एचआईभी र एड्स संक्रमितसँग उनले विना पञ्जा नै हात मिलाएकी थिइन्। डायनाले कुपोषणग्रस्त अफ्रिकी बालबालिकालाई काखमा राखेर स्नेह प्रदान गरेका तस्वीर देख्दा मानिस चकित पर्दथे। पति राजकुमार चार्ल्ससँगको वेमेलका बाबजूद पनि डायनाको लोकप्रियताले सासू महारानी एलिजावेथलाई पनि उछिनेको थियो।

सन् १९९७ अगष्टमा पेरिसमा कार दुर्घटनामा दिवंगत डायनाको लोकप्रियताको अन्दाज पंक्तिकारले घटनाको दुई वर्षपछि नेपाली दूतावास छेवैको केन्सिङ्गटन प्यालेस अवलोकन गर्दा गरेको थियो। प्यालेसको ढोकामा डायनाका प्रशंसकहरूले चढाएका फूल, पोस्टकार्ड र मैनबत्तीको थुप्रो देख्दा पंक्तिकार चकित परेको थियो।

यता गणतान्त्रिक नेपालका नेताहरूमा राजा र राजकुमार बन्ने प्रवृत्ति झ्ाङ्गिदो छ। सत्ताको अर्थ नै सुविधा भोग बनेको छ। सर्वहाराका नेता भन्नेहरू दुई लाख रुपैयाँ पर्ने पलङ्गमा सुतेका समाचार आएका छन्। मोतिविन्दु र पिनासको उपचार गर्न राष्ट्रिय ढुकुटी रित्याएर विदेश सयर गर्न पछि पर्दैनन्। सुविधाभोगी जीवनशैलीका कारण अधिकांश नेताले जनतासँग सम्बन्धविच्छेद गरिरहेका छन्। उनीहरू सेवक होइनन्, शासकमा परिणत भएका छन्।

दुई साता भन्दा लामो बसाइमा राजकुमार ह्यारीले उनकी आमाले जस्तै सरलता प्रदर्शन गरे। संभवतः ह्यारीको भ्रमणको सन्देश पनि यही हुन सक्छ, 'पद र शक्तिको अस्थायी आडम्बरबाट निक्ल र जनताको मन छोऊ, जहाँ तिमीले स्थायी बास पाउनेछौ।'

comments powered by Disqus

रमझम