२१-२७ चैत २०७२ | 3-9 April 2016

'टार्गेट'मै त्रुटि

Share:
  
- रामेश्वर बोहरा
मधेश आन्दोलनको क्रममा छाती र टाउकोमा ताकेर गोली हानेको भनी आलोचित प्रहरीको हतियार तालीम नै त्रुटिपूर्ण छ।

नेपाल प्रहरी
मध्यपश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्रको फायरिङस्थलमा सञ्चालित आधारभूत प्रहरी तालीमको फायरिङ तालीममा सहभागी प्रहरी जवान।
संविधानको विरोधमा मध्यतराईमा भएका आन्दोलनमा मारिने प्रदर्शनकारीको संख्या बढ्न थालेपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले वरिष्ठ प्रहरी अधिकृतहरूको बैठकमै 'प्रहरीलाई दिइने फायरिङ सम्बन्धी आधारभूत तालीम नै फेर्नुपर्ने' आवश्यकता औंल्याएका थिए। २५ भदौको प्रदर्शनका क्रममा जनकपुरमा तीन जना युवा मारिएको घटनापछिको बैठकमा उनले भनेका थिए, “प्रहरीलाई अब खुट्टामा मात्र गोली हान्न सिकाउनुपर्ने भएको छ।”

प्रहरी–आन्दोलनकारी झ्डपका क्रममा परिस्थिति सम्हाल्न गोली चलाउनु अस्वाभाविक नहोला। तर, मधेशकेन्द्रित दलहरूद्वारा पर्सा, धनुषा, महोत्तरी, रूपन्देहीलगायतका जिल्लामा गरिएको प्रदर्शनमा मारिएकामध्ये अधिकांशको टाउको र छातीमै गोली लाग्नु चाहिं गम्भीर विषय बन्यो। यी घटनाले एकातिर मत्थर बन्दै गएको आन्दोलनमा 'घ्यू थप्ने' काम गरे भने अर्कोतर्फ आन्दोलनकारी दलहरूले टाउको र छातीमै ताकेर गोली हानिएको भन्दै सरकारमाथि 'मानवताविरुद्धको अपराध' गरेको आरोप लगाए। प्रहरी चौतर्फी आलोचनाको शिकार बन्यो। एकथरीले हिंसात्मक आन्दोलनका कारण बाध्यतावश त्यस्तो परिस्थिति निम्तिएको भन्दै प्रहरीको बचाउ गरे पनि त्यसले प्रहरी प्रमुखलाई बेचैन तुल्यायो। आईजीपी अर्यालको त्यस्तो भनाइको कारण थियो– प्रहरीको फायरिङ तालीमभित्रै रहेको त्रुटि।

टार्गेटः छाती र टाउको

प्रहरीमा गोली हान्न सिकाइने 'फायरिङ तालीम' सबैभन्दा महत्वपूर्ण मानिन्छ। आधारभूत तालीमकै हिस्सा भए पनि प्रशिक्षार्थीको प्राप्तांकमा करीब ३० प्रतिशत अंक फायरिङ तालीमसँगै जोडिएको हुन्छ। फायरिङ तालीममा कम्मरभन्दा माथिको मानव आकृति तयार पारी त्यसमा चार वटा घेरा बनाउने गरिन्छ। संसारभर प्रचलित फायरिङको यस्तो अभ्यास नेपाल प्रहरीले पनि हुबहु पछ्याएको छ। चार घेरामध्ये भित्री घेरामा निशाना लगाउनु उत्कृष्ट मानिन्छ, जसको आधारमा प्राप्तांक निर्धारण हुन्छ। चारवटै घेराको 'टार्गेट' भने छाती नै हुने गर्छ।

नेपाल प्रहरीको विशिष्ट 'अपरेशनल' इकाइ मानिने 'कार्यदल' का लागि फायरिङ सम्बन्धी विशेष तालीम सञ्चालन गरिन्छ। मुख्यतः संकटकालीन अवस्था र आतंकवादविरुद्ध लड्न सक्ने गरी तयार पारिएको कार्यदललाई दिइने तालीममा कम्मरभन्दा माथि नै 'टार्गेट' बनाइएको हुन्छ। मुकुण्डो लगाएको सैन्य आकृति बनाएर त्यसमै फायर गर्न सिकाइन्छ, टाउको र छातीमा निशाना लगाउनेलाई बढी नम्बर दिइन्छ। तालीममा हिंड्दाहिंड्दै, दौडिंदै, आकाशबाट र रातमा समेत अचूक निशाना लगाउन सिकाइन्छ। फायरिङ सम्बन्धी यस्तो तालीमबाट दीक्षित प्रहरीबाट प्रदर्शनकारीको छाती र टाउकोमा गोली प्रहार भएपछि प्रहरी महानिरीक्षक अर्याल यसको ढाँचा नै बदल्नुपर्ने निचोडमा पुगेका हुन सक्छन्।

शरीरको माथिल्लो भागलाई 'टार्गेट' बनाउने प्रहरीको फायरिङ तालीम सेना र अर्धसैन्य फौजसँग मिल्छ। जबकि, प्रहरीको कार्यभार त्योभन्दा भिन्न हुन्छ। युद्धका लागि तयार पारिने सैनिकलाई एउटा निशाना चुके आफू समेत मारिन सक्ने भएकाले एक गोलीबाट एक शत्रु मार्न सक्ने गरी दीक्षित गरिएको हुन्छ। तर, एक गोलीबाट हजार जनाको भीड नियन्त्रण गर्न सक्नु चाहिं प्रहरीको सफलता मान्ने गरिन्छ।

दशक लामो माओवादी हिंसात्मक विद्रोहले प्रहरीमा सैन्य प्रकृतिको तालीमलाई एक किसिमले संस्थागत नै गरिदियो। पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकाल प्रहरीमा हतियार तालीम सैन्य तालीमबाटै शुरू भएका कारण पनि यस्तो समस्या देखिन थालेको बताउँछन्। “त्यसवेला सैन्य विज्ञानको मान्यताबाट आएका मान्छेले टाउको र छातीमा निशाना लगाउन सक्नुलाई सफलता मान्थे, संसारभरको अभ्यास पनि यस्तै थियो” ढकाल भन्छन्, “तर उद्देश्य नै फरक रहेकाले अब स्कूलिङ सुधार गरेरै टार्गेट निर्धारण गर्नुपर्छ।”

ड्यूटीमा खटिने प्रहरीले आत्मरक्षा बाहेक अरू वेला स्वस्फूर्त गोली चलाउन पाउँदैनन्। स्थानीय प्रशासन ऐनले गोली प्रयोगको प्रक्रिया तय गरेको छ। प्रदर्शन र भीड नियन्त्रणका क्रममा प्रहरीले टियर ग्याँस हान्ने, पानीको फोहोरा हान्ने, लाठीचार्ज गर्ने, हवाईफायर गर्ने र त्यसबाट पनि स्थिति नियन्त्रणमा नआए मात्र घुँडामुनि गोली हान्ने व्यवस्था ऐनमा छ। राजधानीबाहिर खटिने प्रहरीका लागि पानीको फोहोरालगायतका साधन उपलब्ध छैनन्, घुँडामुनि गोली हान्ने तालीम उनीहरूले पाएकै हुँदैनन्। “फायरिङ तालीम ताकेको ठाउँमा गोली हान्न सक्ने तालीम हो, त्यसको टार्गेट जहाँ भए पनि केही फरक पर्दैन” एक वरिष्ठ प्रहरी अधिकृत भन्छन्, “तर, हान्नेले कस्तो तालीम पायो र नियमित रूपमा कस्तो अभ्यास गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ।”

'नाममात्रको' फायरिङ तालीम

फायरिङ तालीममा मुख्यतः छातीलाई नै 'टार्गेट' बनाउने अभ्यास विश्वभर छ। तर, यो अभ्यासले धेरैजसो विकसित मुलुकमा समस्या ल्याएको छैन। कारण त्यहाँ प्रहरीलाई नियमितजसो तालीम र अभ्यास गराइन्छ। फायरिङ अभ्यास जति गर्‍यो, उति नै सीप तिखारिन्छ। “२६ वर्षअघि प्रहरीमा भर्ना हुँदा फायर आर्म्सको तालीम गरेपछि मैले दोस्रोपटक गोली हान्ने अभ्यास गरेको छैन” क्षेत्रीय प्रहरी तालीम केन्द्र प्रमुख रहिसकेका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भन्छन्, “अभ्यास नै नगरेको प्रहरीले गर्ने फायर कस्तो होला?”

प्रहरीमा एकपटक दिइने फायरिङ तालीम पनि नाममात्रको हुन्छ। सामान्यतया आधारभूत प्रहरी तालीममा सहभागी हुनेले आफूले प्रयोग गर्नुपर्ने सबैखाले बन्दूकबाट कम्तीमा २०–२५ देखि बढीमा ५०–६० राउण्ड गोली फायर गर्न पाउँछन्। त्यसक्रममा अनुत्तीर्ण भए दोस्रोपटक फायर गर्ने गोली पाइँदैन। प्रहरीसँग त्यसका निम्ति अतिरिक्त बजेट हुन्न, सरकारले थप बजेट दिंदैन। “अरू मुलुकमा फायर आर्म्स तालीम उत्तीर्ण नगरी प्रमाणपत्र मिल्दैन, प्रहरी बन्नै पाइँदैन” ती एसएसपी भन्छन्, “हामी पहिलोचोटि तालीममा फेल हुनेलाई दोस्रोपल्ट तालीम दिन सक्दैनौं, त्यसैले बन्दूक चलाउनै नजाने वेग्लै कुरा, नभए कमजोरलाई पनि प्रहरी बनाएर पठाउनुपर्छ।”

'कार्यदल' का प्रहरीलाई समय समयमा फायरिङ तालीम दिइए पनि अधिकांश प्रहरीले पुनः अभ्यास गर्ने मौका पाउँदैनन्। पूर्व एआईजी ढकाल स्रोत–साधनको अभावमा आवश्यक भएजति फायरिङ गर्न नपाउनु एउटा प्रमुख समस्या रहेको बताउँछन्। “यसले गर्दा अचानक परिस्थिति बिग्रँदा, ठूलो भीड हिंसात्मक भएर आउँदा कमाण्डरले पनि आवेशमा आदेश दिने र मातहतले पनि आत्तिएर बल प्रयोग गर्ने स्थिति आउन सक्छ” ढकाल भन्छन्, “अनि नचाहेको व्यक्तिलाई गोली लाग्ने र व्यक्ति मर्ने स्थिति आउँछ।”

हतियार तालीम र अभ्यास प्रहरी स्वयम्लाई ढुक्क तुल्याउन सक्ने गरिको छैन। आफ्नै क्षमतामाथि विश्वास नभएका सुरक्षाकर्मीले विवेक र संयम कायम राख्न सक्दैनन्। आत्तिने र त्रासमा रहने सुरक्षाकर्मीले अनियन्त्रित बल प्रयोग गर्छन्। टीकापुर घटनापछि प्रहरीको त्यो मनोविज्ञान 'फिल्ड' मै नराम्रोसँग प्रकट भइसकेको छ। रूपन्देहीको बेथरीमा हाटबजार लागेका वेला गरिएको गोली प्रहार त्यसको उदाहरण हो। “आपत्कालीन स्थितिमा हतियार प्रयोग गर्नुपर्छ, तर न्यूनतम बल प्रयोगको सिद्धान्त, हतियारको समानुपातिक प्रयोग र सम्बन्धित ऐन कानूनलाई ख्याल गर्नैपर्छ” पूर्व एआईजी ढकाल भन्छन्, “त्यसका लागि मुख्य कुरा प्रशिक्षण हो र समस्या त्यहींबाटै शुरू हुन्छ।”

प्रहरीले अधिक बल प्रयोगमा आलोचना गर्ने निकाय र सरोकारवालाहरूको पनि तालीम पद्धतिमा रहेको यो त्रुटि र समस्या समाधानमा ध्यान पुगेको छैन। प्रहरी महानिरीक्षक अर्याल तालीम पद्धतिमा रहेका त्रुटि सुधारको प्रयास अघि बढेको बताउँछन्। “हामीले अनुभवबाटै सिक्ने हो, संरचनाभित्रका नकारात्मक कुरा हटाउँदै जानुपर्छ” अर्याल भन्छन्, “त्यसका लागि तयारी गरिरहेका छौं।”

comments powered by Disqus

रमझम