२१-२७ चैत २०७२ | 3-9 April 2016

आँसुको अस्त्र

Share:
  
- सइन्द्र राई
रुनु मानिसको प्राकृतिक गुण भए पनि कतिपय नेपाली नेताले आँसुलाई कहिले राष्ट्रिय परिघटनाहरूको बिम्ब त कहिले राजनीतिक स्वार्थको हतियार बनाएका छन्।

इन्टरनेट तस्वीर
१३ चैतको साँझ चलचित्र 'राहदानी' हेरेर बाहिरिने क्रममा रुँदै कृषिमन्त्री हरिबोल गजुरेल।
१३ चैतको साँझ् नेपाली कथानक चलचित्र 'राहदानी' हेरेर बाहिरिने क्रममा कृषिमन्त्री हरिबोल गजुरेल डाँको छाडेर रोएको दृश्यले राम्रै चर्चा पायो। चलचित्रमा समेटिएको गरीब किसानको 'गाई मरेको' दृश्यले आफूलाई रुने बनाएको प्रतिक्रिया मन्त्री गजुरेलले दिंदै आएका छन्। चलचित्रका दृश्यहरूले कोमल हृदय भएका दर्शकलाई रोएर मन हल्का पार्न प्रेरित गरे पनि टीभी क्यामेरा अगाडि मन्त्रीको रोदन अस्वाभाविक भएको एमाओवादीका एक नेता बताउँछन्।

चन्द्रशमशेरदेखि हरिबोलसम्म

राणा प्रधानमन्त्री चन्द्रशमशेर वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको उद्घाटन गर्दा 'आज मैले आफ्नै खुट्टामा बन्चरो हानें' भन्दै रोएको इतिहास पढ्न पाइन्छ। पंचायतकाल र त्यसपछि पनि राष्ट्रिय पंचायत, दलको बैठक, सार्वजनिक मञ्च र भेटवार्ताहरूमा थुप्रै नेता रोए। २०४३ सालको राष्ट्रिय पंचायत निर्वाचनमा जनपक्षीय उम्मेदवार बनेर जितेका पद्मरत्न तुलाधर राष्ट्रिय पंचायतको बैठकमै रोए। जनताको दुःखको चर्चा गर्दा रोइहाल्ने तुलाधर बहुदलीय व्यवस्था स्थापनापछिको राजनीतिक सभाहरूमा पनि थुप्रै पटक भक्कानिए। कम्युनिष्ट राजनीतिकर्मी, जनपक्षीय प्रतिनिधि हुँदै अहिले जनजाति अगुवा बन्न पुगेका उनी सार्वजनिक मञ्चहरूमा रुन छाडेका छैनन्।

नेपाली राजनीतिमा रुवाइको कारण पनि चर्चित हुने अर्का पात्र तारानाथ रानाभाट हुन्। नेपाली कांग्रेसका महामन्त्री र प्रतिनिधिसभाका सभामुख बनेका उनी ४ असार २०५९ मा कांग्रेस विभाजन हुँदा र २०६२ को शाही 'कु' का वेला सार्वजनिक रूपमा रोए। त्यस्तै, २०४७ पछि संसदीय राजनीतिमा समाहित भएको नेकपा (एमाले) मा सार्वजनिक रूपमा पनि रुने नेताहरू छन्। तीमध्ये प्रदीप नेपाल बढी रुनेमा पर्छन्। यद्यपि, पार्टी नेता वा आफन्तजन गुमाउँदा बाहेक राजनीतिक सन्दर्भमा सार्वजनिक मञ्चमा कांग्रेस, एमालेका नेताहरू रोएको दृश्य केही वर्षयता देखिएको छैन।

एमाओवादीमा भने अध्यक्ष पुष्पकमल दाहालदेखि हरिबोल गजुरेलसम्मको रुवाइले निरन्तरता पाएको छ। अध्यक्ष दाहाल भाषणकै क्रममा आँसु झार्नमा अग्रस्थानमै छन्। पार्टीका कलाकारहरूले प्रस्तुत गरेको नाटक हेर्दा उनी रोएको समाचार र तस्वीरहरू सशस्त्र द्वन्द्वकालको एउटा चर्चित विषय थियो। त्यसयता पनि उनी सार्वजनिक रूपमा रुन छाडेका छैनन्। क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा नेताहरू समाजका पथप्रदर्शक समेत हुने भएकाले सार्वजनिक स्थलमै रुँदा आम जनतालाई हित नहुने बताउँछन्। नेताहरू रोएपछि परिस्थिति अवास्तविक भएर भावनातिर धकेलिने उनको भनाइ छ। तर, मनोरोग विशेषज्ञ कपिलदेव उपाध्याय आँसु भावनाको अभिव्यक्ति भएकाले कसैको रुवाइलाई अस्वाभाविक मान्न नहुने बताउँछन्। (हे.बक्स)

स्वार्थको हतियार

'जनयुद्ध' को नाममा सशस्त्र राजनीति थालेको १ फागुनको अवसरमा हरेक वर्ष माओवादीका नेताहरू रुने गर्छन्– समूह र छुट्टा–छुट्टै पनि। शान्ति प्रक्रियामा आएपछि ६ टुक्रामा विभाजित उनीहरू विगत सम्झेर वा १० वर्षको अवधिमा मारिएकाहरूका आफन्तलाई भेट्दा रुनु अस्वाभाविक होइन पनि। त्यसबाहेक सार्वजनिक मञ्चहरूमै अन्य प्रसंग निकालेर पनि उनीहरू रुने गरेका छन्।

राष्ट्रिय विपत्तिमा राजनेताहरू रोएको दृश्य संसारभर नै देखिन्छ र त्यस्तो आँसुले सबैलाई बाँध्न नै सहयोग गरेको हुन्छ। तर, एमाओवादीका नेताहरूको रुवाइमध्ये १४ जेठ २०६९ मा संविधानसभा विघटन हुँदाको नारायणकाजी श्रेष्ठको रुवाइलाई मात्र केही हदसम्म राष्ट्रिय चिन्तासँग जोड्न सकिन्छ। एमाओवादीबाट फुटेर बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा एमाओवादी नेताहरू जनमत आफूतिर तान्ने राजनीतिक स्वार्थले सार्वजनिक स्थलमा रुने गरेको बताउँछन्। उनी भन्छन्, “विगतमा खसेका नेताहरूको आँसु पनि राजनीतिक स्वार्थका लागि मात्र थियो भन्ने प्रमाणित भइसकेको छ।”

उनका अनुसार, विगतमा माओवादीभित्र अध्यक्ष दाहाल र अर्का नेता बाबुराम भट्टराईबीच अन्तरसंघर्ष चल्दा एकले अर्कालाई माथ गर्न दुवै रुने गर्थे। दाहालले २०५३ सालमा पार्टीका अर्का बलिया नेता रामबहादुर थापालाई कार्बाही गर्ने निर्णय रुँदै सुनाउँदा धेरैले दाहाललाई साथ दिएका थिए। २०५५ मा भएको चौथो विस्तारित बैठकमा भट्टराईले दाहालकै सिको गरे। दाहालले पेलेको भन्दै डाँको छाडेर रोएपछि पार्टीका धेरै नेताले भट्टराईलाई समर्थन गरेको उक्त बैठकमा सहभागी एक नेता बताउँछन्। “त्यसपछि त आफ्नो पक्षमा माहोल बनाउने गजबको हतियारका रूपमा 'आँसु संस्कृति' विकसित भयो”, नाम उल्लेख गर्न नचाहने ती नेता भन्छन्।

माओवादीमा रुने प्रवृत्तिको थालनी भने पुराना नेता मोहनविक्रम सिंहबाटै भएको थियो। २०४० सालमा सिंहलाई कार्बाहीको निर्णय हुँदा पार्टीमा रुवावासी चल्यो, जसले सिंहका समर्थक बढाए। आफू गम्भीर बनेको देखाउन रुने परम्परा बसेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव थापा बताउँछन्। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल नेताहरू पनि मान्छे नै भएकाले उनीहरूको आँसुलाई विशेष रूपमा अर्थ्याउन नहुने बताउँछन्। तर, सार्वजनिक मञ्चमै रोएर तथ्यहरूलाई भावनातिर धकेल्न पनि नहुने उनको भनाइ छ।

नेताहरूले देश हितको अगाडि व्यक्तिगत चोटहरू सहन सक्ने सामर्थ्य राख्नुपर्नेमा लाभको लागि आँसु खसाल्ने प्रवृत्ति बढेको देखिन्छ। रानाभाटले रोएरै नेपाली कांग्रेसमा आफ्नो राजनीति बचाए भने तुलाधर अहिलेसम्म आँसुको मनोविज्ञानमार्फत सहानुभूति बटुल्ने प्रयत्न गर्दैछन्। राजा ज्ञानेन्द्रको 'कु' पछि सात दलले सडकमै चलाएको संसद्को सभामुख बनिदिन भएको आग्रहलाई रानाभाटले अस्वीकार गरेका थिए। त्यसवेला 'प्रधानमन्त्री बन्न राजाले राखेको प्रस्ताव अस्वीकार गर्दा पनि आफूलाई राजावादीको आरोप लगाइएको' भन्दै रानाभाट सार्वजनिक रूपमा रोएका थिए।

आँसुको मनोविज्ञानमार्फत सहानुभूति बटुल्न अन्य विधिभन्दा सजिलो छ। एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सडक दुर्घटनामा मृत्यु भएपछि फैलिएको समवेदनाको मतले राजनीतिको बाटो खोलेको विद्यादेवी भण्डारीलाई राष्ट्रपतिसम्म पुर्‍यायो। समवेदनामार्फतै सांसद्, मन्त्री, प्रधानमन्त्री बन्ने नेता/नेतृहरू थुप्रै छन्, दक्षिणएशियामा। त्यस्तै, पिताको असामयिक निधनपछि राजनीतिक नेतृत्वमा आएका पुत्रहरू पनि छन्। यसमा दक्षिणएशियाको सामाजिक मनोविज्ञान प्रतिबिम्बित छ। अपवाद जहाँ पनि हुनसक्छ, तर नेपालका नेताहरूका प्रायशः रुवाइमा व्यक्तिगत स्वार्थ कारक रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव थापाको विश्लेषण छ।


अभिनयबाट पनि रुन सकिन्छ

कपिलदेव उपाध्याय,

मनोरोग विशेषज्ञ

बाह्य तथा आन्तरिक परिस्थिति अनुसार हाँस्ने, रिसाउने, डराउने, आक्रोशित हुने जस्तै रुने पनि एउटा भावनात्मक अभिव्यक्ति हो। रुनु कमजोरी होइन, कमजोरीको अभिव्यक्ति हो। भावनालाई दबाएर राख्न सक्ने बलियो हृदयका मानिस हत्तपत्त रुँदैनन्। महिलाको तुलनामा पुरुषमा त्यो क्षमता बढी हुन्छ। रोएपछि मन हल्का हुन्छ। रुनु स्वास्थ्यका लागि पनि राम्रो हो, हाँस्नु जस्तै। आफन्त गुम्दा, पीडादायी घटना हुँदा, विपत्मा पर्दा मानिस रुन्छन्। विस्तारै सहनक्षमताले जितेर रोइरहने अवस्था हट्दै जान्छ। एउटै घटना सम्झ्िाएर बारम्बार रोइरहनु वा सार्वजनिक रुपमा पटक–पटक रुनु चाहिं रोग हो।

comments powered by Disqus

रमझम