सिमेन्टको बजार बढ्न थालेको हो?
भूकम्प र नाकाबन्दीले चौपट पारेको व्यापार विस्तारै सहज हुँदैछ। भूकम्प र नाकाबन्दीका कारण निर्माणकार्य ठप्प भएको थियो तर पछिल्लो समय त्यसले गति लिएसँगै सिमेन्टको बजार पनि बढ्न थालेको छ। फेरि भर्खरै मात्र हामीले गुणस्तरका लागि भारतीय स्ट्याण्डर्ड पाएका छौं। यसले पनि नेपाली सिमेन्ट निर्यातको चरणमा पुगिसकेको र बजार बढ्न थालेको देखाउँछ। आन्तरिक बजारमा हिजोसम्म ८० प्रतिशत भारतीय सिमेन्ट प्रयोग हुने गरेकोमा अहिले नेपाली सिमेन्ट निर्यातकै चरणमा पुग्नुले हामी सिमेन्टमा आत्मनिर्भर भएको देखाउँछ।
सिमेन्टका अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिने क्रम पनि बढ्दो छ। स्थानीय उत्पादनले नपुगेर हो वा विश्वास नभएर विदेशी ब्रान्डले अवसर पाएको ?
प्रतिस्पर्धाले आफ्नो उत्पादनको गुणस्तरीय कायम राख्न दबाब दिन्छ। तर, अन्तर्राष्ट्रिय समूह आक्रामक ढंगबाट आउनुअघि नै हामी आफूलाई परिपक्व बनाउँछौं। त्यसो त हामी पनि चीनको हुवासिन सिमेन्ट कम्पनीसँग सहकार्य गर्दैछौं। सहकार्यबाट हाम्रो उत्पादन क्षमता दोब्बर हुन्छ। मागअनुरुप आपूर्ति गर्न सक्षम हुनेछौं।
१२ वैशाखको भूकम्पमा धेरै क्षति हुनुमा कमसल सिमेन्टको प्रयोगलाई पनि कारण मानिन्छ। अब कस्तो सिमेन्ट प्रयोग गर्ने?
भूकम्पमा सिमेन्टका भन्दा ढुंगा–माटोले बनेका, कमसल तरीकाले बनाइएका घर धेरै ढले। यसबाट के बझियो भने माटो नजाँची, सानो जगमा अग्लो घर बनाउनुहुँदैन, घर बनाउँदा गुणस्तरीय सामान प्रयोग गर्नुपर्छ।
सबै सिमेन्टले आफूलाई गुणस्तरीय दाबी गर्छन्, तर कस्तो सिमेन्टलाई गुणस्तरीय भन्ने?
सिमेन्ट किन्नुअघि त्यसको भौतिक र रासायनिक गुणस्तर जाँच गराउनुपर्छ। कुनै पनि ओपीसी सिमेन्टमा भौतिक र रासायनिक दुई गुण हुन्छन्। पानीमा घोलेपछि सिमेन्ट कति चाँडो जम्छ, त्यसकै आधारमा भौतिक गुण जाँच गरिन्छ।
सिमेन्टको रासायनिक तत्वबारे धेरैले ध्यान दिएका छैनन्। जस्तो कि, म्याग्नेसियम अक्साइड र पानी मिलेर म्याग्नेसियम हाइड्रो–अक्साइड बन्छ र फुल्छ। फुलेपछि ठूलो ठाउँ ओगटे पनि पानी सुकेपछि घट्छ। यसले सिमेन्ट चर्किन्छ। चुनढुंगा र क्लेको मिश्रणलाई क्लिंकर बनाउँदा कतिपय क्याल्सियम अक्साइड 'अन–रियाक्टेड फर्म' मा बसेका हुन्छन्। त्यसलाई पनि पानीसँग मिसाउँदा फुल्छन्। अल्कालीको मात्रा बढी हुँदा सिमेन्ट उप्किने सम्भावना हुन्छ। क्लोराइड बढी भए फलामसँगको प्रतिक्रियामा खिया लाग्छ। तसर्थ, निर्माण कार्य थाल्नुअघि सिमेन्टको रासायनिक स्थितिबारे जानकारी राख्नु अत्यावश्यक छ।
किन अरू सिमेन्टभन्दा शिवम् महँगो छ?
गुणस्तरकै कारण। शिवम्मा म्याग्नेसियम अक्साइडको मात्रा ३ प्रतिशतभन्दा कम छ। क्याल्सियम अक्साइड, अल्काली र क्लोराइडको मात्रा पनि सरकारले तोकेभन्दा कम छ। र, गुणस्तर कायम राख्न धेरै लगानी गरेका छौं। महँगा एक्स–रे मशीन राखिएको छ।
फेरि, हाम्रो लक्ष्य नै दिनको दुई हजार टन सिमेन्ट उत्पादन गर्ने हो। त्यसै अनुरुप पूर्वाधार तयार पारेका छौं। तर, इन्धन र विद्युत् समस्याले क्षमता अनुसारको उत्पादन गर्न सकिएको छैन। यसले मूल्य बढाइदिएको छ। तर गुणस्तरकै कारण दुई रुपैयाँ महँगो पर्दा पनि शिवम्को माग बढ्दो छ।
माग धेरै भए, '५० को दाममा ५५' योजना किन ल्याउनु परेको हो?
यो योजना अलि पहिलेकै हो। त्यो वेला एउटा मात्र प्लान्ट पूर्णरुपमा सञ्चालित थियो। बजार पनि सुस्त थियो। हाम्रो अध्ययनमा मूल्य बढेकाले त्यस्तो भएको भन्ने देखियो। अन्य निर्माण सामग्रीको मूल्य बढ्दा वास्ता नभए पनि सिमेन्टको बढ्दा ठूलो प्रभाव पर्ने रहेछ। त्यसपछि हामीले निर्माण क्षेत्रलाई नै ऊर्जा दिने उद्देश्यले यो 'स्कीम' ल्याएका हौं।