२१-२७ चैत २०७२ | 3-9 April 2016

जनस्वास्थ्य: संगिनी लगाउँदै तेस्रोलिङ्गी

Share:
  
- गोपाल गडतौला
तेस्रोलिङ्गीले 'महिला जस्तै देखिन' संगिनी सुई लगायतका परिवार नियोजनका साधन प्रयोग गरिरहेको डरलाग्दो तथ्य देखिएको छ।

तस्वीरहरुः गोपाल गडतौला
तेस्रोलिंगी बबीलाई संगिनी सुई लगाइदिंदै कमल न्यौपाने।
२१ फागुन बिहान डेराबाट निस्किएका बबी तामाङ (२०) सोझै दमक–१३ स्थित झापा मेडिकोमा पुगे। र, दायाँ पाखुरामा संगिनी सुई लगाए। यसबापत रु.५० लिएका मेडिको सञ्चालक कमल न्यौपानेले सुई लगाएपछि अनिवार्य लगबूक पनि भरेनन्।

झापा, धरमपुरका बबी जन्मले भने पुरुष हुन्। तर, तीन दिदीपछि जन्मिएका उनलाई १४ वर्षदेखि महिला होइन, पुरुषप्रति आकर्षण जाग्न थाल्यो। त्यसैले आफ्नो परिचय फेरेर उनी तेस्रोलिंगी बने।

अहिले बबी जस्तै १२ जना तेस्रोलिंगी एक वर्षदेखि यही मेडिकोमा संगिनी सुई लगाइरहेका छन्। महिलाले गर्भ रोक्न लगाउने यो सुईले 'आफ्नो स्वभाव र शरीर पनि महिला जस्तै बनाउने' उनीहरूको तर्क छ। “एक वर्षदेखि तीनमहीने तालिकामा यसरी नै संगिनी लगाइरहेको छु”, बबी भन्छन्, “निलोकन ह्वाइट, गुलाब चक्की पनि खान्छु।”

मेडिको सञ्चालक न्यौपाने तेस्रोलिंगीलाई दुई वर्षदेखि संगिनी सुई लगाइरहेको स्वीकार्छन्। भन्छन्, “यो सुई लगाइदिनु भन्छन्, नाइँ भन्ने गरिएको छैन।”

चान अस्वीकार गरेकै कारण तीन वर्षअघि घर छाडेका बबी महिला श्रृंगारमा ठाँटिएर हिंड्छन्। नीलहीरा समाजले गत वर्ष विराटनगरमा आयोजना गरेको पूर्वाञ्चलस्तरीय तेस्रोलिङ्गी सौन्दर्य प्रतियोगिताका विजेता पनि हुन् उनी।

गछिया, मोरङका रेगल विश्वकर्मा (१९) पनि एक वर्षदेखि संगिनी सुई लगाइरहेका छन्। उनलाई पनि संगिनी लगायतका साधनहरूले शरीरमा महिला 'हर्माेन' सँगै स्तन बढाउँछ, दाह्रीजुँगा कम पलाउँछ, हातपाखुराका नसा देखिंदैन, छाला नरम गराउँछ भन्नेमा विश्वास छ। “अनुहारमा केटीको 'लुक्स' ल्याउँछ भनेर यो सुई लगाइरहेको छु”, पूर्वाञ्चलस्तरीय सौन्दर्य प्रतियोगिताका उपविजेता समेत रहेका रेगल भन्छन्।

रेगल विश्वकर्मा।
बेलबारी, मोरङका अन्जान चौधरी (२१) संगिनी सुई र निलोकन चक्कीको प्रयोगपछि मनमा महिलाको भावना बढ्न थालेको बताउँछन्। नीलहीरा समाजको मोरङ सदस्यमा भने उनले आफ्नो नाम 'आकृति' लेखाएका छन्।

ज्यानकै जोखिम

नेपालमा सन् १९९४ देखि महिलालाई जन्मान्तरको लागि संगिनी सुई लगाउन थालिएको हो। प्रोजेस्टेरोन ग्रन्थीबाट बनाइने संगिनी सुईले महिलाको डिम्ब उत्पादन रोक्नुका साथै पाठेघरको मुखमा हुने रस बाक्लो बनाइदिन्छ, जसले पुरुषको शुक्रकीटलाई गर्भाशयमा पस्न दिंदैन। पसिहालेमा पनि गर्भाशयको भित्रीभाग पातलो हुने भएकाले भ्रूणको विकास हुनै पाउँदैन।

थापाथलीस्थित परोपकार प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतम संगिनी सुई जस्ता साधनको प्रयोगले शरीरमा महिलाका स्वभाव र ग्रन्थी विकास हुन्छ भन्नु भ्रम मात्र भएको बताउँछन्। “बरु उल्टो यसले व्यक्तिको यौनक्षमता र यौनाङ्गमा नराम्रो असर पार्छ”, गौतम भन्छन्। औषधिको गलत प्रयोगले जनस्वास्थ्यमा घातक असर निम्त्याउने बताउँदै उनी यस्तो प्रवृत्ति तत्काल रोक्न सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिन्छन्।

अन्जान चौधरी।

गैरजिम्मेवारीको हद

मेचीका लागि सीआरएस उत्पादनको आधिकारिक बिक्रेता दमकस्थित पञ्चमुखी फर्माले चार जिल्ला (झापा, इलाम, पाँचथर, ताप्लेजुङ) मा चालू आर्थिक वर्षको सात महीना (साउन–माघसम्म) भित्र ५० हजार २५८ भाइल संगिनी सुई पुगेको जनाएको छ। फर्माका सञ्चालकमध्येका ऋषि पराजुली दुरुपयोगबारे खासै थाहा नभएको बताउँछन्।

सुईको प्रवर्द्धनकर्ता नेपाल सीआरएस कम्पनीका प्रबन्ध निर्देशक पंकज तिवारी तेस्रोलिंगीले संगिनी सुई लगाउनु औषधिको चरम दुरुपयोग भएको बताउँछन्। “गलत व्यक्तिलाई गलत औषधि दिएर औषधि पसलले आचारसंहिता उल्लंघन गरेका छन्”, तिवारी भन्छन्। कम्पनीका मेची अञ्चल अभिकर्ता ध्रुव पौडेल पनि औषधि बिक्रेताले संगिनी सुई प्रयोगबारे बकाइदा प्रशिक्षण पाएको तर पनि अनुगमन हुन नसकेको स्वीकार्छन्।
स्थानीय व्यवसायी औषधिको गलत प्रयोगबारे जानकार भए पनि पैसाका लागि पेशागत मर्यादाको खिल्ली उडाइरहेका छन्। नेपाल औषधि व्यवसायी संघ, मेचीका अध्यक्ष सूर्यप्रसाद कोइरालालाई भने संगिनीलगायतका औषधिको दुरुपयोग भइरहेको बारे थाहा छ। व्यवसायीले गल्ती गरिरहेको स्वीकार गर्ने उनी 'हातै समातेर नलगाइदेऊ भन्न नसकिने' गैरजिम्मेवार प्रतिक्रिया दिन्छन्।

झापास्थित जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चन्द्रदेव मेहता त संगिनी सुईको यसखाले दुरुपयोगको कुरा नै नयाँ भएको बताउँछन्।
औषधि दुरुपयोग र कारबाहीको जिम्मा पाएको औषधि व्यवस्था विभाग समेत संगिनी सुईलगायतका परिवार नियोजनका साधनको गलत प्रयोगबारे बेखबर छ। विभागका महानिर्देशक बालकृष्ण खकुरेल भरपर्दो सूचना पाए त्यस्ता औषधि पसललाई कारबाही गरिने बताउँछन्। भन्छन्, “अब अनुगमन गर्छौ, त्यस्तै हो भने कारबाही गर्छौ।”

comments powered by Disqus

रमझम