२१-२७ चैत २०७२ | 3-9 April 2016

इन्भर्टरको उज्यालो

Share:
  
आश्वासनले लोडसेडिङ नघटाएपछि खर्चिलो भए पनि इन्भर्टर प्रयोग बढ्दो छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई दुई वर्षभित्र लोडसेडिङमुक्त बनाउने घोषणा गरे पनि सर्वसाधारणले पत्याएका छैनन्। किनभने, प्रधानमन्त्रीले यसको चित्तबुझ्दो आधार र प्रष्ट योजना प्रस्तुत गरेका छैनन्। हाल साताको ७७ घण्टा (एसएलसीअघि ८४ घण्टा) लोडसेडिङ झेलिरहेका आम नागरिक ऊर्जाका लागि अनेक विकल्प प्रयोग गरिरहेका छन्। “लोडसेडिङ हट्ला भन्ने आशै हराइसक्यो”, नयाँ बसपार्क, काठमाडौंकी कल्पना पाखि्रन भन्छिन्। भाडामा बसेकी उनले सुकाम ब्रान्डको माइक्रोन डिजिटल इन्भर्टरमार्फत उज्यालो भित्र्याएकी छन्।

कल्पनाले झै अन्धकारमा बस्नु नपरोस् भनी अधिकांश उपत्यकावासीले सानो वा ठूलो क्षमताको इन्भर्टर राखेका छन्। बजारमा सुकाम, लुमिनस, माइक्रोटेक, एपीसी, एक्साइड जस्ता ब्रान्डका इन्भर्टर खरीद–बिक्री भइरहेका छन्। “लोडसेडिङका कारण इन्भर्टरको बजार बढिरहेकै छ”, विगत ८ वर्षदेखि नेपालका लागि सुकाम को आधिकारिक बिक्रेता स्टार अफिस इन्टरनेशनलका राजन सापकोटा भन्छन्, “हालै मात्र बजारमा ल्याएको सोलार–इन्भर्टरमा पनि धेरैले रुचि देखाएका छन्।” बत्ती र सोलार प्यानल दुवैबाट चार्ज गर्न मिल्ने भएकाले सोलार–इन्भर्टरमा आकर्षण बढेको उनी बताउँछन्।

केही वर्षअघिसम्म लोडसेडिङमा मैनबत्ती र चार्ज–लाइट मात्र विकल्प थिए। तर, अचेल मोबाइल चार्ज गर्न मिल्ने, दुई–चार वटा सीएफएल, ल्यापटप, पंखा र टीभी समेत चल्ने इन्भर्टरको प्रयोग बाक्लिएको छ। “इन्टरनेट प्रयोगकर्ता बढेकाले पनि इन्भर्टरको बिक्री बढेको हो”, नेपालस्थित एक्साइड ब्याटि्रजको बिक्रेता सिप्रदी टे्रडिङका वरिष्ठ सेल्स म्यानेजर भागवत श्रेष्ठ भन्छन्, “इन्भर्टर राखे बिजुली खपतमा भन्दा रु.४/५ सय बढी उठ्छ।”

सतर्कता

भारतको नोएडा शहरमा करीब एक महीनाअघि इन्भर्टरमा सर्ट सर्किट (विपरीत तार आपसमा जोडिंदा उत्पन्न झट्का) का कारण स्थानीय हिमगिरि अपार्टमेन्ट्समा आगो लागेको थियो। इन्भर्टरनजिकै वाशिङ मशीन, खाना पकाउने ग्याँस, इन्भर्टरको ब्याट्री र लुगाफाटा राखिएकाले सर्ट सर्किट हुनासाथ ग्याँस पड्किएको थियो। अपार्टमेन्टवासीले धूवाँ देख्नासाथ प्रहरीलाई खबर गरेकाले ठूलो जनधनको क्षति भने हुन पाएन।

नोएडाको घटनाले इन्भर्टर राख्दा कतिसम्म सतर्कता अपनाउनुपर्छ भन्ने पाठ सिकाउँछ। “बच्चाबच्चीले भेट्ने र प्रज्वलनशील पदार्थ भएका ठाउँमा इन्भर्टर र यसको ब्याट्री राख्नै हुँदैन”, स्टार अफिसका सापकोटा भन्छन्, “भान्सामा पनि यूपीएस र ब्याट्री नराखेकै बेस।”

यूपीएस इन्भर्टर इन्फो डटकमका अनुसार, इन्भर्टर किन्दा ब्रान्डेड नै छान्नुपर्छ। “नन्–ब्रान्डेड इन्भर्टरले त्यसमा जोडिने सबै सामान बिगार्छ”, वेबसाइटमा भनिएको छ, “ब्याट्री पनि अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित छ/छैन जाँचेर मात्रै किन्नुपर्छ।”

सजना बराल

comments powered by Disqus

रमझम