२१-२७ चैत २०७२ | 3-9 April 2016

फर्काउने कसले?

Share:
  
- छिरिङ डोल्कर गुरुङ, नयाँदिल्लीबाट
घरबाट भागेर भारत पुगेका सयौं नेपाली बालबालिकालाई घर फर्काउन समस्या भएको छ।

तस्वीरहरुः छिरिङ डोल्कर गुरुङ
भारतको नयाँदिल्लीस्थित एउटा बालगृहमा बसेका नेपाली बालक।
सुनसरीको इनरुवास्थित आफ्नो घरमा छँदा सजद खान (१२) १० दिन मदरसामा थुनिएपछि भागेर भारतको नयाँदिल्ली पुगे। त्यसरी भाग्दा उनलाई लागेको थियो– अब खुला पन्छी झै विचरण गर्न पाइन्छ। तर, जसै उनी दिल्ली रेल्वे स्टेशनमा ओर्लिए, स्थानीय प्रहरीले समातेर उनलाई 'सलाम बालक गुठी' ले सञ्चालन गरेको बालगृह पुर्‍याइदियो। त्यो बालगृहमा सजदपछि अरू ६ जना नेपाली बालकलाई पालैसँग ल्याइयो। उनीहरू सबै घरबाट भागेका थिए।

दिल्लीको मयुर बिहारस्थित बाल कल्याण समिति (सीडब्लूसी) की अर्पणा द्विवेदी आफ्नो संस्थामा पनि हरेक महीना दुई/तीन जना नेपाली बालबालिका आइपुग्ने गरेको बताउँछिन्। उनका अनुसार, दिल्ली प्रहरीले रेल्वे स्टेशनमा फेला पार्ने बालबालिकालाई नजिक पर्ने बालगृहहरूमा ल्याइदिने गरेको छ। आफूकहाँ आइपुग्ने बालबालिकामध्ये तुरुन्त घर फर्काउन मिल्नेलाई फर्काइदिने र नमिल्नेलाई बालगृहमा राख्ने गरेको द्विवेदीले बताइन्।

घरको सपना

सन् २०१० देखि २०१२ सम्म नयाँदिल्लीको 'सेन्ट्रल देल्ही होम्स' मा राखिएका २०० नेपाली बालबालिकामध्ये ८४ प्रतिशत बालक थिए। दिल्लीमा ५०० भन्दा बढी र दिल्ली बाहिर भारतभर पाँच हजारभन्दा बढी बालगृह छन्। 'सेन्ट्रल देल्ही होम्स' को चार वर्षअघिको तथ्यांकले भारतका बालगृहहरूमा हजारौं नेपाली बालबालिका रहेको पुष्टि गर्छ।

भारतीय सामाजिक कार्यकर्ताहरूका अनुसार, नेपाली बालबालिका दुई/तीन जनाको समूह बनाएर नेपाल–भारत खुला सीमा काटेर आउने गरेका छन्। प्रहरीले सीमा नाकामा बेचबिखनमा पर्ने युवतीहरूमाथि विशेष निगरानी त गर्छ, तर निगरानीका लागि खासै चासो नरहने बालबालिकाहरू सहजै वारपार हुन्छन्। जस्तो, बर्दियाका मनोज सुनखर (१७) पाँच वर्षअघिदेखि नै नेपाल–भारत ओहोर–दोहोर गरिरहेका थिए। हरियाणामा काम गर्दा मालिकले दुर्व्यवहार गरेपछि नयाँ कामको खोजीमा मथुरा पुगेका वेला उनलाई सीडब्लूसीले फेला पारेको थियो। “मलाई यहाँ बस्न पटक्कै मन छैन, घर फर्किन चाहन्छु”, बालगृहमा एक महीना बिताएका मनोज भन्छन्, “जहिल्यै झगडा र डराउने–धम्काउने भइरहन्छ।”

आभा कार्की
खुशीको आँसुः गत वर्ष घरबाट भागेर दिल्ली पुगेका दुई छोरा महेन्द्र र शिशिरसँगको पुनर्मिलनमा आमा मिमसरा सुनार।
दिल्लीका बालगृहहरूमा रहेका अधिकांश नेपाली बालबालिका मनोज जस्तै घरको सपना देख्ने गर्छन्। कतिले बालगृहबाट भाग्ने आँट पनि गर्छन्, तर त्यस्ता बालबालिकालाई समातेर सरकारले सञ्चालन गरेको 'हटबेड फर फिजिकल एन्ड सेक्सुअल एब्युज' नामक बालआश्रममा पठाइन्छ। बालआश्रमका कर्मचारीले नेपाली र स्थानीय बालबालिकाबीच भेदभाव गर्नेदेखि झै–झगडा पर्दा नेपालीको समर्थन नगर्ने त्यहाँको अनुभव सँगालेका बालबालिका बताउँछन्। यसले उनीहरूमा घरप्रतिको तृष्णा झ्ान् बढ्छ।

निजी क्षेत्रबाट संचालित भारतीय बाल आश्रमहरूले बालबालिका आएको वर्ष दिनपछि वा परिवारसँग सम्पर्क हुने आधार बाँकी नरहेको अवस्थामा मात्र विद्यालय भर्ना गर्छन्। त्यसबीचमा सीपमूलक तालीम भने दिइन्छ। बाँकेबाट आएका महेन्द्र सुनारले केही समयका लागि घरबाट बाहिर बस्न खोज्दा यस्तो दुर्गति भोग्नुपरेको बताए। उनी हजुरबबाको साइकल बेचेर आफ्ना भाइ शिशिर र साथी करणसँग दिल्ली आएका थिए।

फर्काउने पहल

छोरा महेन्द्र र शिशिरलाई आफ्नो सामु देख्दा मिमसरा सुनारका आँखा रसाए। 'छोराछोरी, नेपाल' ले ल्याइदिएका दुवैलाई अँगालो मार्दै उनी एकछिन रोइन्। गत पुसमा बाँकेस्थित घरबाट दिल्ली भागेका छोराहरूलाई नियाल्दै उनले भनिन्, “यिनीहरू भेटिएलान् भन्ने आश मरिसकेको थियो, प्रहरीलाई हराएको निवेदन दिए पनि कहाँ छन् भन्ने अत्तोपत्तो थिएन।” महेन्द्र र शिशिर ती थोरै बालबालिका मध्येका हुन्, जसले यस्तो पुनर्मिलनको अवसर पाए। नेपाल र भारतबीच यस्ता बालबालिकाको स्वदेश फिर्तीसम्बन्धी औपचारिक सम्झौता नभएकाले घरबाट भागेका वा लहैलहैमा भगाइएका बालबालिका घर सम्झँदै भारतमै रहन बाध्य छन्। उनीहरूलाई १८ वर्ष नपुगुञ्जेल एउटाबाट अर्को आश्रममा सरुवा गर्दै राखिन्छ।

पुनर्मिलनः दिल्लीका विभिन्न बालगृहबाट गत साता नेपाल फर्काइएर ललितपुरको गोदावरीस्थित छोराछोरी नेपालको अस्थायी आश्रयगृहमा राखिएका बालबालिकासँग संस्थाकी सह–निर्देशक आभा कार्की।
यस्ता बालबालिकालाई नेपाल फर्काउने पहल गर्दै आएको संस्था 'छोराछोरी, नेपाल' की उप–निर्देशक शैलजा सीएम भारतीय कर्मचारीहरूमा 'खान पाएसम्म बच्चाहरू जहाँ बसे पनि फरक पर्दैन' भन्ने मानसिकता रहेको बताउँछिन्। उनी भन्छिन्, “उनीहरू के बुझ्दैनन् भने बच्चाबच्चीहरू संस्थाभन्दा आफ्नो परिवारसँग बस्न बढी रुचाउँछन्।”

दिल्ली नजिकैको अलिपुरस्थित 'ब्वाइज सेल्टर होम्स' का पुशेष अर्यालले भने नेपाली राजदूतावासको निष्त्रि्कयतामाथि गुनासो गरे। नेपाली बालबालिका भेटिएको खबर गर्दा दूतावासले कहिल्यै सकारात्मक प्रतिक्रिया नदिएको उनले बताए। वर्षको १०–२० जना नेपाली बालबालिका फेला पार्ने गरेको बताउँदै अर्यालले भने, “उनीहरूलाई राख्न समस्या हुँदा दूतावासलाई भन्यो, वास्तै गर्दैन।”

हुन पनि, नेपाली दूतावासले बालबालिकालाई स्वदेश फर्काउने पहल त परैको कुरा, अनुगमन समेत गर्ने गरेको छैन। दूतावासका कर्मचारीहरू घरबाट भागेका नेपाली भनिएका बालबालिका वास्तवमै नेपाली हुन् भनेर यकिन गर्नै समस्या हुने बताउँछन्। दूतावासकी द्वितीय सचिव सिर्जना अधिकारी भन्छिन्, “नेपाल जाने प्रत्येक बच्चा नेपाली नागरिक नै हो भन्नेमा निश्चिन्त हुनु अत्यावश्यक हुन्छ।”

समस्या नेपालमै

भारतमा रहेका नेपाली बालबालिकाको स्वदेश फिर्ती अत्यावश्यक भए पनि नेपाल लगेपछि उनीहरूलाई कहाँ राख्ने भन्ने समस्या छ। नेपाल सरकारले हाल देशभरमा जम्मा चार वटा बालगृह चलाएको छ, जहाँ थप बालबालिकाका लागि ठाउँको अपुग हुन्छ। केन्द्रीय बाल कल्याण समितिकी नमूना भुसाल भारतमा रहेका बालबालिका समेत अटाउने गरी बालगृहहरू संचालन गर्न दीर्घकालीन योजना आवश्यक भएको बताउँछिन्।

डेढ वर्षअघि स्थापित 'छोराछोरी, नेपाल' ले दिल्ली र बेंगलुरुका बाल आश्रमबाट हालसम्म ५० बालबालिका नेपाल ल्याएको छ। गएको साता पनि दिल्लीबाट ल्याएका १७ जना किशोरलाई ललितपुरको गोदावरीस्थित आफ्नै अस्थायी आश्रयगृहमा राख्यो (हे. तस्वीर)। तीमध्ये अधिकांश किशोर आफूखुशी घर छोडेर हिंडेका थिए भने केही ललाइफकाइमा परेका थिए।

ललाइफकाइमा परेकामध्ये इट्टाटार, सिरहाका श्याम (नाम परिवर्तन) लाई अन्य ५० जना नेपाली बालबालिकासहित चामल मीलमा काम गर्न पंजाब पुर्‍याइएको थियो। गत महीना त्यो मील बन्द भएपछि दिल्ली पुगेका उनी रेल्वे स्टेशनमै प्रहरीको फेला परे।

'छोराछोरी, नेपाल' ले परिवार पत्ता लगाएर बालबालिका जिम्मा लगाउँछ। पारिवारिक वातावरण नै असुरक्षित भएका बालबालिकालाई भने दीर्घकालीन स्याहारसमेत दिने गरेको संस्थाकी आभा कार्की बताउँछिन्। उनका अनुसार, भागेर भारत पुग्दा समातिएका बालबालिकामध्ये कमको मात्र परिवारसँग पुनर्मिलन हुने गरेको उनी बताउँछिन्।


घर किन फर्कनु?

घरपरिवारबारे जति पटक सोधे पनि १५ वर्षीय रविकुमारले दिने उत्तर एउटै थियो– “पता नहीं।' नयाँदिल्लीको 'डीएमआरसी सेल्टर फर ब्वाइज' मा रहेका १० जना नेपाली बालकमध्ये बिल्कुलै फरक छन्, उनी। एक त उनी नेपाली बोल्दैनन्, दोस्रो उनलाई घर फर्किन मन छैन। चार वर्षदेखि दिल्लीको यो बालगृहमा रहेका उनी कक्षा ७ मा पढ्दैछन्। उनी भन्छन्, “साथीहरू छन्, पढ्न पाएको छु, किन घर फर्किनु?”

रविकुमार जस्तै रोल्पाका कालु पनि घरको कुरा गर्न चाहन्नन्। अस्थिपञ्जर सम्बन्धी समस्या (हाइपोकनड्रोप्लासिया) भएका उनले काम गर्न ६ महीनाअघि दिल्ली आएको बताए। दुई महीना अघि बालगृह ल्याइएका उनी कम्प्युटर, विद्युत् वा प्लम्बिङ सम्बन्धी तालीम लिन चाहन्छन्। “पछि मैले आफ्नो हेरचाह आफैं गर्नुपर्छ”, कालु भन्छन्, “त्यसका लागि घर नफर्की यहीं बस्नु ठीक हुन्छ।”

comments powered by Disqus

रमझम