२१-२७ चैत २०७२ | 3-9 April 2016

बन्दै बौद्धनाथ

Share:
  
महाभूकम्पले क्षति गरेको विश्व सम्पदा बौद्धनाथ स्तूपको पुनःनिर्माण स्थानीय प्रयासमा अघि बढेको छ।

गोपेन राई
दुई महीना भयो, बौद्धनाथको त्रयोदश भुवनका तामाका पातामा सुनको मोलम्बा (जलप) लगाएर सुरक्षित राख्ने काम धमाधम भइरहेको छ। स्तूप (डोम), त्यसमाथिको त्रयोदश भुवन र छत्रावली (गजुर) को मर्मतले पनि गति लिएको छ। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामा काठमाडौं उपत्यकाका स्तूपमध्ये सबभन्दा ठूलो यो स्तूपको पुनःनिर्माणमा रु.१८ करोड लाग्ने बताउँछन्। उनी भन्छन्, “प्राविधिक समितिको अध्ययन अनुसार त्रयोदश भुवनका पाताहरूमा सुनको मोलम्बा लगाउन मात्रै २४ किलो सुन लाग्नेछ।”

उनका अनुसार, ब्ाौद्ध संघ–संस्था, धर्म गुरु र दाताहरूको सहयोगमा पुनःनिर्माणले गति लिएको छ। यसका लागि समितिमा करीब रु.७ करोड सहयोग संकलन भएको र दाताहरू आफैं सहयोग गर्न आइरहेको लामाले बताए। बौद्धनाथ पुनःनिर्माणमा चाइनिज बुद्धिष्ट एसोसिएसनले रु.३ करोड, तेरकर फाउण्डेशनले रु.१ करोड र अमेरिकी संस्था बोधीवास्तुले रु.२० लाख सहयोग गरेका छन्। सुनको मोलम्बा लगाउने जिम्मा गुरु सितु रिम्पोछेले लिएको समितिका अध्यक्ष लामाले बताए।

पुरातत्व विभागले पनि बौद्धनाथ पुनःनिर्माणका लागि यो वर्ष रु.७ लाख बजेट छुट्याएको छ। तर, विभागबाट सम्पदा पुनःनिर्माणको स्वीकृति पाउन दुई महीना कुर्नुपरेको समितिका अध्यक्ष लामाले बताए। सरकारी विभागको भर पर्दा ढिला हुने भएपछि प्राविधिक सहयोग मात्र लिने गरी काम अगाडि बढाएको उनले बताए। उनका अनुसार, पुनःनिर्माणमा थुप्रै बौद्ध स्वयंसेवकहरू जुटेका छन्। “विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथमा भूकम्पले क्षति पुर्‍याएलगत्तै सामग्रीहरू सुरक्षित गरिएको थियो”, समितिका अध्यक्ष लामा भन्छन्, “अहिले पुनःनिर्माणको क्रममा पाता, काठ, माअप्प (ठूलो आकारको ईंट) छुट्याएर प्रयोग गर्ने काम पनि भइरहेको छ।”

उनका अनुसार, पुराना सामानमध्ये करीब १० प्रतिशत मात्र पुनः प्रयोग गर्न सकिने अवस्थामा छन्। सुनको मोलम्बा लगाउने काम चार महीनामा सक्ने र एक वर्षभित्रमा पुनःनिर्माण पूरा गर्ने समितिको योजना छ। पुनःनिर्माणमा परम्परागत काँचो चून, सुर्की (ईंटाको धूलो) र मसिनो बालुवाको मिश्रण प्रयोग गरिंदैछ भने गारोको भित्रबाट काठको टेको लगाएर बलियो पारिंदैछ। ३६ मीटर अग्लो स्तूपको चारै कुना ईंटा र माटोले निर्माण गरी सेतो चूनले पोतिएको छ। स्तूप माथि १३ खण्ड भएको त्रयोदश भुवनमा सुनको जलप लगाइएको धातुको प्रयोग गरिएको छ।

१३ खण्डको त्रयोदश भुवन चक्रावलीको प्रतीक हो, जुन पार गरेपछि मात्र बुद्धत्व प्राप्त हुने विश्वास गरिन्छ। त्रयोदश भुवन र डोमबीचमा दुई आँखा, प्रश्नचिह्न र पञ्चरश्मि चित्रसहितको हर्मिका रहन्छ। स्तूपमा तीन वटा मण्डलाकार प्रदक्षिणा गर्ने बाटो छ। उत्तरतर्फको मुख्यद्वार नजिक हात्तीमा सवार स्तूप रक्षक वज्रपाणि र खड्गपाणिका कलात्मक मूर्तिले तिब्बती संस्कृतिको झल्को दिन्छन्।

खास्ती पनि भनिने बौद्धनाथ स्तूपको निर्माण पाँचौं शताब्दीमा भएको विश्वास गरिन्छ। राजा मानदेवको पालामा ठूलो खडेरी परेपछि एक रातमा जम्मा गरिएको शीतबाट निर्माण गरिएको जनविश्वास पनि छ। बौद्ध समुदायमा चलेको एक अर्को लोकोक्ति अनुसार, ज्याजिमा नामकी महिलाले थालेको बौद्धनाथ स्तूपको निर्माण उनका चार छोराले पूरा गरेका थिए।

अर्को जनविश्वास पनि छ, जस अनुसार राजा धर्मदेवको शासनकालमा खडेरी पर्दा ज्योतिषीले ३२ लक्षणयुक्त मानिसको बलि दिए पानी पर्ने भनेपछि राजाले कपडामा बेरिएको मान्छेको मुख नहेरी बलि दिन छोरालाई आदेश दिए। कपडामा बेरिएका ती व्यक्ति स्वयं राजा नै थिए। छोराले पछि आफूले बाबु बलि चढाएको थाहा पाएपछि पितृ हत्याको पापबाट मुक्ति पाउन स्तूप निर्माण गरे। यस्ता किम्बदन्ती बाहेक बौद्धनाथ निर्माणको ठोस प्रमाणहरू भने पाइँदैन।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम