२८ चैत २०७२ - ४ वैशाख २०७३ | 10-16 April 2016

फिरेको हाँसो

Share:
  
- मीनरत्न बज्राचार्य

तस्वीरः मीनरत्न बज्राचार्य
आफ्ना उत्पादनसँगै सीता बयलकोटी।

पर्यटकीय क्षेत्र काठमाडौंमा झुण्ड्याइएका सिन्धुकोटमा उत्पादित छालाका झोला।

तयार छालाबाट टोपी उत्पादन गर्दै कारीगर।

राजधानीको ठमेलमा पाइने यी छालाका झोला (हे. तस्वीर) स्वदेशमै बनेका हुन् भनेर पत्याउन गाह्रो पर्छ। आफ्ना उत्पादनलाई 'विदेशकै जस्तो' भनिदिंदा सिन्धुपाल्चोकको सिन्धुकोट गाविसका सन्तबहादुर बोगटी दंग पर्छन्।

त्यसो त छालाबाट विभिन्न उत्पादन तयार गर्नु सन्तबहादुरको पुर्ख्यौली पेशा हो। तर, लघु उद्यम विकास कार्यक्रम (मेडेप) ले छाला पेल्ने आधुनिक मेशीन नभित्र्याइदिएको भए सिन्धुकोटवासीको सीपले देश–विदेशको यात्रा नाप्ने थिएन। १० वर्षअघि गाउँलेले थालेको छालाको लघु उद्यमले ८० घरपरिवारको जीविका चलेको छ। परिश्रम र प्रविधिको सुखद् संयोजनले गाउँलेलाई 'गरिखान सक्छौं' भन्ने आत्मविश्वास जगाएको छ।

काँचो छाला तन्काउँदै।

छाला पेल्ने आधुनिक मेशीनसाथ सन्तबहादुर बोगटी (सबैभन्दा दायाँ)।

छाला कुट्दै।

१२ वैशाखको भूकम्पलगत्तै भने सिन्धुकोटवासीको मनोबल ह्वात्तै घटेको थियो। कुनै पनि घर सद्दे थिएनन्। आफन्त गुमाउनेका पीडा र घाइतेका दुःखले दुई महीना पूरै गाउँ शोकमा डुब्यो। गुजाराको स्रोत छाला र निर्माण सामग्री उत्पादन माटोमा पुरिए। गाउँलेले लय हराए।
दुई महीनापछि मात्र सन्तबहादुरले केही सोच्न सके। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) शीघ्र उद्यम पुनरुत्थान परियोजना (आरईएलआरपी) को मनोसामाजिक परामर्शले गाउँले विस्तारै सामान्य अवस्थातिर फर्किए। गाडिएका छाला र सामान खोतल्न थाले। र, फेरि आफ्नो कर्ममा लागे। ठीक यही वेला हो, मेडेपले गाउँमा मेशीन राखिदिएको।

सीता बयलकोटी तिनैमध्येकी हुन्, जो यतिवेला भत्किएको घर बनाउन र छालाका उत्पादन बनाउन दिनरात खटिरहेकी छन्। पुरुषसँगै सक्रिय महिलाले आयआर्जन त बढाएका छन् नै विदेशिने संख्या पनि कम भएको छ।

सिन्धुकोटवासी फेरि हाँस्न थालेका छन्।

comments powered by Disqus

रमझम