२८ चैत २०७२ - ४ वैशाख २०७३ | 10-16 April 2016

मधेश आन्दोलन: कसैले सुनेन घाइतेको गुहार

Share:
  
- अलि असगर, वीरगञ्ज
मधेश आन्दोलनका घाइतेको उपचारमा सरकार र मधेशकेन्द्रित दल गैरजिम्मेवार देखिन्छन्।

तस्वीरहरुः अलि असगर
उपेन्द्र यादव।
त्यो दिन (१४ भदौ) पनि संविधानमा मधेशीको अधिकार सुनिश्चित गर्न भन्दै वीरगञ्जको राधेमाईमा र्‍याली निस्किएको थियो। महुवन–७, पर्साका पन्नालाल यादव (३५) र्‍यालीमा जोडतोडले नारा लगाइरहेका थिए। कतिवेला खुट्टामा सुरक्षाकर्मीको गोली लाग्यो उनलाई थाहै भएन। उनी थचक्कै भए, केही छिन होश गुमाए।

काठमाडौंको बी एण्ड बी अस्पतालमा साढे ६ महीना बिताएका यादवको ऋणपानसहित रु.११ लाख उपचारमै सकियो। तर, खुट्टा निको भएन। थप उपचार गर्ने पैसा नभएपछि उनी चोट बोकेरै घर फर्किएका छन्। “जसका लागि लडियो, उसैले बेवास्ता गर्‍यो”, पीडा सहँदै घरमै बसिरहेका यादव भन्छन्।

पर्साकै मनिहारी–२ का उपेन्द्रप्रसाद यादव (३८) लाई आन्दोलनमा होमिएकोमा पछुतो लागिरहेको छ। १५ भदौमा राधेमाईमै भएको आन्दोलनमा प्रहरीको गोली उनको बायाँ खुट्टामा लागेको थियो। रु.४ लाख सिद्धिसक्दा पनि खुट्टो बिसेक नभएपछि उनी ऋण काढेर भारत जाने तयारीमा छन्। “जग्गा धितो राखेर उपचार गराइरहेको छु”, उनी भन्छन्। चोटका कारण काम गर्न नसक्दा ६ जनाको परिवारको छाक टार्न समेत गाह्रो भइरहेको बताउँदै उनी भन्छन्, “नेता यस्ता हुँदा रहेछन् भनेर बल्ल थाहा पाउँदैछु।”

पाँच महीना लामो नाकाबन्दीको अन्त्यसँगै मोर्चाको आन्दोलन स्थगित भइसकेको छ। आन्दोलनको नेतृत्वकर्ता मधेशी नेता, सरकार, सत्ता र शक्ति स्वार्थका अनेक गठजोडको तानाबाना बुन्न व्यस्त छन्। तर, आन्दोलनका घाइतेमध्ये अधिकांशको दर्द यादवद्वयको जस्तै छ।

'आन्दोलनकै अपमान'

गृह मन्त्रालयका अनुसार, पछिल्लो मधेश आन्दोलनका क्रममा सुरक्षाकर्मी, आन्दोलनकारी र सर्वसाधारण गरी ५७ जनाको ज्यान गएको छ भने ६४ जना घाइते भएका छन्। आन्दोलनको नेतृत्व गरेको मधेशी मोर्चाले भने घाइतेको संख्या दुई सयभन्दा माथि रहेको बताएको छ।

घाइतेको उपचारका लागि मोर्चाको पहलमा सरकारले ५ चैतमा रु.३१ लाख उपलब्ध गराउने निर्णय गरेको थियो। तर, रकम निकासा हुनसकेको छैन। मोर्चाका सचिवालय सदस्य केशव झा उपचार खर्चको लागि रु.४४ लाख माग गरिएको बताउँछन्। “थोरै दिने र निकासा पनि नगर्ने सरकारको नियत ठीक छैन”, उनी भन्छन्। सरकारलाई आरोप लगाएर उम्कन खोजे पनि घाइतेहरूप्रति मोर्चाकै व्यवहार अपमानजनक छ।

संविधान जारी भएकै दिन ३ असोजमा वीरगञ्जकै माईस्थानमा भएको आन्दोलनकारी–सुरक्षाकर्मी झ्डपमा गोलीको छर्रा लागेर घाइते बैरियाविर्ता गाविसका वीरेन्द्र यादव (२८) त्यसयता कहिल्यै पूरा रात निदाएका छैनन्। रात–दिन दुःखेका कारण 'पेनकिलर' खाइरहने उनी एउटा छर्रा तिघ्रामै रहेको बताउँछन्। डाक्टरले एक महीनामै शल्यक्रिया गर्नुपर्ने बताएपछि पैसा नभएकाले नगएको भन्दै वीरेन्द्र कोही पनि सोधखोज गर्न नआएकोमा अपमानबोध गरिरहेका छन्। “मधेशी नेताहरूलाई फोन गरेरै गुहार मागें, तर कसैले वास्ता गरेनन्”, उनी भन्छन्।

उपेन्द्रले पनि उपचारका लागि मधेशी नेताहरूसँग हारगुहार गरे, तर कतैबाट सहयोग पाएनन्। शरीरले थेग्नै छाडेपछि ऋण लिनैपर्ने बाध्यता आइपरेको बताउँदै उनी भन्छन्, “एम्बुलेन्समा घर फर्कन मात्रै सहयोग गरिदेऊ भन्दा पनि गरेनन्, धान बेचेर फर्कनुपर्‍यो।” आफ्ना नेता र सरकार दुवैसँग उनको चित्त दुखेको छ।

पन्नालाल यादव।
पन्नालालले त सहयोगका लागि मोर्चाका संयोजक तराई मधेश लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर, सद्भावना पार्टीका राजेन्द्र महतो, महेन्द्र यादव र जिल्लाका थुप्रै नेतालाई आफ्नो बेहाल बताए। तर, सहयोग होइन; आश्वासन मात्र पाए। “न त सरकारले वास्ता गर्‍यो न मोर्चाले”, उनी भन्छन्, “मधेशी नेताहरूको नौटंकीले आन्दोलनकै अपमान गरेको छ।” चोटका कारण भएको कुखुरा दानाको व्यवसाय पनि बन्द गर्नुपरेको बताउँदै उनी उपचारले कंगाल बनाउँदै लगेको गुनासो गर्छन्।

तर, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत भने आन्दोलनका घाइतेले उपचार नपाएकोबारे अवगत नै नभएको बताउँछन्। उपचारको जिम्मा मोर्चाले लिएको बताउने उनी अहिलेसम्म कुनै घाइतेेले उपचार गर्न नसकेकोबारे जानकारी नगराएको दाबी गर्छन्। “हामीले घाइतेजति सबैको उपचार गराएका छौं”, उनी भन्छन्। तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल पनि आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आर्थिक सहयोगसहित उपचार गराइसकेको तर्क गर्छन्।

नेपाल मानवअधिकार संगठन पर्सा सभापति कमलमोहन पोखरेल नेताहरूले सबैको उपचार गरेको भनी दाबी गरे पनि आन्दोलनका थुप्रै घाइते उपचार अभावमा छट्पटिरहेको बताउँछन्। “विडम्बना, घाइतेको उपचारको जिम्मा न राज्यले लियो न आन्दोलनको नेतृत्वकर्ताले”, उनी भन्छन्।

comments powered by Disqus

रमझम