२८ चैत २०७२ - ४ वैशाख २०७३ | 10-16 April 2016

भूमि हल्लियो झन् बलियो'भो देश

Share:
  
७.८ म्याग्निच्यूडको भूकम्पको धक्का र भारतको अमानवीय नाकाबन्दी बेहोरेको २०७२ सालमा जारी भएको नयाँ संविधान र चीनसँग विस्तारित सम्बन्धले राष्ट्रिय आत्मविश्वास थप उँचो बनाएको छ।

१२ वैशाख

२०७२ सालको शुरुआतमै आएको ७.८ म्याग्निच्यूडको महाभूकम्पबाट ८ हजार ७०२ जनाको मृत्यु, २२ हजार ३०३ घाइते, करीब ८ लाख भवन ध्वस्त भए। धरहरा भत्किंदा थिचिएको होटलबाट महिलाको उद्धार गरिंदै । धरहराको माथिल्लो भागबाट खसेर घाइते भएकी रामेछापकी रमिला श्रेष्ठ र सञ्जीव श्रेष्ठ र भक्तपुरमा भत्किएको घरभित्रबाट २२ घण्टापछि उद्धार गरिएका चारमहीने बालक सोनित अवाल आमा रश्मिलासँग । यिनीहरू जस्तै गोंगबुबाट १२८ घण्टापछि बर्दियाकी कृष्णादेवी खड्का र ८२ घण्टापछि ऋषि खनाल, ९० घण्टापछि भक्तपुरको दत्तात्रेय मन्दिरबाट ११ वर्षीया बालिकाको पनि उद्धार गरिएको थियो। राहत र पुनःनिर्माणको काम समयमै नभइदिंदा भूकम्पपीडित एक वर्षपछि पनि पाल र अस्थायी टहरामै बस्न बाध्य छन्।


२४ साउन

२५ जेठमा दलहरुबीच संविधान निर्माणका लागि भएको १६ बुँदे सहमतिमा उल्लिखित ६ प्रदेशको सीमांकनको प्रस्तावप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत समूहले सुर्खेतमा गरेको विरोध प्रदर्शन। यो विरोध प्रदर्शन हिंसात्मक बनेपछि दलहरु प्रदेश संख्या बढाएर सात पुर्‍याउने निर्णयमा पुगेका थिए।


३१ साउन

मधेशको आन्दोलन उत्कर्षमा रहेको वेला एक बिहान झिसमिसेमा वीरगञ्ज नाका। संविधानको मस्यौदामा उल्लिखित प्रदेश सीमांकनमा असन्तुष्टि व्यक्त गर्दै मधेश आन्दोलनको घोषणा गरेका मधेशकेन्द्रित दलहरु भारतको अघोषित नाकाबन्दीको सहयोगी बन्दै अन्ततः नाकाबन्दी फिर्तापछि आन्दोलन फिर्ता लिन बाध्य भए। सरकारसँग वार्तारत मधेशकेन्द्रित दल वैशाखपछि पुनः आन्दोलनमा जाने बताइरहेका छन्।


७ भदौ

सीमांकनमा असन्तुष्टि जनाउँदै पश्चिम तराईमा आन्दोलनरत समूहद्वारा कैलालीमा एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरीको हत्या भएको घटनाको भोलिपल्ट त्रासका कारण पुरुषले गाउँ छाडेपछि त्रासमा देखिएका गाउँले महिला। टीकापुर घटनामा संलग्नताको आरोपमा प्रहरीले कतिपय व्यक्तिलाई अहिले पनि पक्राउ गरिरहेको छ।


३ असोज

तस्वीरहरू हिमाल आर्काइभ

नेपालको संविधान जारी गर्दै राष्ट्रपति डा. रामवरण यादव। संविधानसभाको करीब ९० प्रतिशत मतबाट पारित संविधान माथि मधेशकेन्द्रित दल र भारतको असन्तुष्टिले राजनीति सहज बन्न व्यवधान खडा गरिरहेको छ।


५ असोज

नेपालको संविधान घोषणा भएकोमा असन्तुष्टि जनाउँदै भारतद्वारा अघोषित नाकाबन्दी शुरू। नाकाबन्दीका क्रममा ठोरीलगायतका नाकाबाट अवैध रूपमा पेट्रोलियम पदार्थ भित्र्याउँदै (तस्वीरमा), पाँच महीने नाकाबन्दी क्रममा पेट्रोलियम पदार्थको कालोबजारी नराम्ररी फस्टायो।


२० असोज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको ३८औं प्रधानमन्त्रीमा निर्वाचित। एमाओवादी, राप्रपा नेपाल, मजफो लोकतान्त्रिकलगायतको समर्थनमा गठबन्धन सरकार चलाइरहेका प्रम ओली गठबन्धनमा दरार नआएसम्म सुविधाजनक बहुमतमा देखिन्छन्।


२९ असोज

व्यवस्थापिका–संसद्को सभामुखमा एनेकपा माओवादी नेतृ ओनसरी घर्ती मगर निर्वाचित। घर्ती नेपालको पहिलो महिला सभामुख हुन्।


१० कात्तिक

एमाले नेतृ विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित। उनी नेपालको पहिलो महिला राष्ट्रपति हुन्।


२२ माघ

भारतद्वारा गरिएको अघोषित नाकाबन्दी खुलेपछि सीमानाकाबाट इन्धन बोकेर भित्रिइरहेका ट्यांकर। नाकाबन्दी खुलेको दुई महीना बितिसक्दा पनि इन्धन र खाना पकाउने एलपी ग्याँसको आपूर्ति सहज भइसकेको छैन।


२६ माघ

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको ७९ वर्षको उमेरमा निधन। संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेका कोइरालाको साथ–सहयोग संविधान कार्यान्वयनमा उपलब्ध हुने छैन।


३ फागुन

१२औं दक्षिण एशियाली खेलकुद (साग) मा फूटबलमा स्वर्ण जितेको नेपाली टोली स्वदेश फर्केपछि। स्वीमिङमा तीन रजत पदक विजेता १३ वर्षीया गौरिका सिंह । यो प्रतियोगितासँगै फूटबलमा दक्षिणएशियाली वरियता सुधार्दै नेपाल पाँचौं स्थानमा उक्लिएको छ।


७ फागुन

भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग प्रम केपी शर्मा ओली। नाकाबन्दीले बिगारेको सम्बन्ध सुधारमा केन्द्रित भनिएको प्रम ओलीको भ्रमणपछि पनि व्यवहारमा सम्बन्ध सुमधुर देखिनसकेको छैन।


१२ फागुन

तारा एअरको विमान म्याग्दीमा दुर्घटनाग्रस्त, चालक दलका तीन सदस्यसहित २३ जनाको निधन। १४ फागुनमा कालीकोटमा एअर काष्ठमण्डपको जहाज दुर्घटनामा पाइलट र को–पाइलटको निधन।


१ चैत

शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित। देउवा २४ चैतमा संसदीय दलको नेता समेत निर्वाचित भएपछि संसद्मा प्रमुख प्रतिपक्षी नेताको रिक्तता मेटिएको छ।


७ चैत

प्रधानमन्त्री केपी ओली चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी लि खछ्याङसँग। प्रम ओलीको भ्रमणका क्रममा नेपाल–चीनबीच पारवहन तथा यातायात सम्झौता भयो। संयुक्त वक्तव्यमा अन्तरदेशीय रेल सेवा र प्रसारण लाइन निर्माण गर्नेलगायत द्विपक्षीय हितका विषयमा १५ बुँदे समझदारी समेटिएको छ।

comments powered by Disqus

रमझम