मिडियासँग जनगुनासो

Share:
  
- गुणराज लुईंटेल
मिडियाले आफ्नो समस्या राखिदिएर सरोकारवालाको आँखा खोलिदेओस् भन्ने अपेक्षा राखेको यसपटकको देशयात्रामा सबैतिर भेटियो।

दाङको तुलसीपुर बजार ।
मेचीदेखि महाकालीसम्मको यसपटकको यात्रामा सर्वसाधारणबाट लगभग एकैखाले गुनासो सुनियो– “राजनीतिका समाचार अति भए।” उनीहरूको अर्काे गुनासो थियो, “नकारात्मक समाचार पनि अति नै भए।” सबैतिरका चियापसलमा नेताले देश बिगारेको टिप्पणी सुनियो। नेताहरूले पनि यस्ता प्रतिक्रिया पाएकै होलान्।

मिडियाप्रति गुनासो हुँदाहुँदै विश्वास पनि छ उनीहरूको। त्यही भएर आम मानिसले छापाका सबै समाचार सत्य ठानेको हुनुपर्छ। तर, अब विश्वासमा आशंका मिसिन पुगेको महसूस हुन्छ। बढ्दो चेतनास्तरले यसो भएको होला। समाजको चेतनास्तर धेरै कारणले बढेको छ। श्रम बेच्न विदेशमा पुगेकाहरू फर्केका छन्। उनीहरूको प्रेरणाले पनि हुन सक्छ, पौरख गर्ने उत्साह हरेकको रगतमै छिर्दै गएको महसूस हुन्छ। काठमाडौं उपत्यका बाहिर यो भावना अरू प्रबल देखियो।

हाम्रो पत्रकारिताको इतिहास सय वर्ष पुरानो भए पनि २०४६ को परिवर्तनपछि मात्र वास्तविक पत्रकारिता शुरू भएको हो। तर, यो छोटो अवधिमा एउटा चरण पूरा भएको अनुभव हुन्छ। त्यसैले होला, पाठक वा दर्शकले पत्रकारितालाई केही भिन्न रूपमा हेर्न खोजेका। विदेशी सञ्चारमाध्यमको प्रभावले पनि होला, दुरदराजमा बसेकाहरू पनि स्तरीयताको मापन गर्न सक्ने भइसकेका छन्।

धेरैमा अहिले राजधानीका राजनीतिक समाचारको साटो आफ्नै गाउँठाउँका खबर सुन्ने र सुनाउने रुचि बढेको देखिन्छ। रोल्पा माडीचौरस्थित बाल उदय माध्यमिक विद्यालयका शिक्षक कृष्ण पुनको “यो गाउँमा ठूलो काउली फलेको समाचार पनि आउनुपर्छ” भन्ने भनाइले त्यही स्पष्ट पार्छ।

पोखराका एक व्यवसायीले मिडियामा आउने लगानी पारदर्शी नहुँदा सञ्चारमाध्यमको दुरुपयोग हुनसक्ने आशंका गरे। यसले मिडियाले लेख्ने र भन्ने समाचार मात्र होइन, मिडियाको समाचार पनि चासोको विषय हुने देखियो। राजनीतिबारे सतही समाचार होइन, विश्लेषण हुनुपर्छ भन्ने सोचाइ पनि सबैतिर पाइयो।

क्षेत्रीयताको बहस शुरू भए पनि काठमाडौंप्रतिको आकर्षण अझै उस्तै देखियो। रुकुमबाट नेपालगञ्ज झ्रेकाहरूको अर्को लक्ष्य काठमाडौं हुनुले त्यही स्पष्ट पार्छ। आफ्नो क्षेत्रका समाचार राष्ट्रिय संस्करणबाट आउनुपर्ने उनीहरूको मागले पनि त्यो नै देखाउँछ। मेचीकालाई महाकालीको खबर थाहा पाउने चासो देखियो। धनगढीमा एकजनाले भने पनि, “पूर्वको खबर हामीले थाहा पाउनुपर्छ भने हाम्रो सफलताबाट पनि त्यहाँकाले प्रेरणा लिन पाउनुपर्छ।”

काठमाडौंलाई उछिन्ने गरी अरू जिल्लामा समाज सुधार र सेवाका पहल भइरहेका छन्। त्यहाँ सफासुग्घर होटल खुलेका छन् भने अरू उद्यम पनि लोभलाग्दा छन्। हेटौंडाको 'मामाघर' र 'साँचो जीवन निर्माण' अभियानलाई नै हेरौं। अन्तर्राष्ट्रि्रय विश्वविद्यालयमा उच्चशिक्षा चाहने अर्पण पराजुलीले खोलेको 'मामाघर' विश्वविद्यालय जस्तै छ। आम जनताको अपेक्षा त्यस्तै अभियानलाई मिडियाले भरथेग गरिदेओस् भन्ने छ।

यसअघि पनि काठमाडौं बाहिर बौद्धिकता थियो नै, मिडियाले वास्ता नगरेको मात्र हो। तर, अहिले त्यहाँ चिन्तन प्रक्रियामा सक्रियहरूको लामो लस्कर नै तयार भइसकेको देखिन्छ। गाउँगाउँमा पुगेको मोबाइल फोनले चेतना बढाएको छ।

कृषिप्रधान मुलुक भएर पनि किसानको अधिकार र उनीहरूले पाइरहेको सुविधाबारे कमै चर्चा हुन्छ। मल नपाइएको समाचार त आउँछ तर किन पाइएन भन्ने कमै मात्रामा आउँछ। किसानलाई खेती र पशुपालनमा सघाउने ब्याङ्क छैनन्। जसको समाचार विरलै छापिन्छ। “उत्तिस हुने पाखोमा अलैंची फल्छ, त्यो पाखो धितोमा राखेर ऋण दिन कुन ब्याङ्क तयार छ? जस्ता प्रश्नहरू मिडियाले उठाइदेओस् भन्ने आम अपेक्षा जताततै छ।

comments powered by Disqus

रमझम