अस्तित्व रक्षा र सहज जीवनयापनका लागि मानव बसाइँसराइको लामो इतिहास त सुनिएकै हो। तर, वन्यजन्तुको योजनाबद्ध स्थानान्तरणको कारण के हो? मानिस झैं वन्यजन्तुको 'बसाइँसराइ' मा पनि अस्तित्व जोगाउने उद्देश्य नै प्रमुख भएको बताउँछन्, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) रामचन्द्र कँडेल। भन्छन्, “वन्यजन्तुको वंश जोगाउनकै लागि स्थानान्तरण गरिएको हो।”
संरक्षणकर्मी लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु स्थानान्तरण प्रक्रियालाई किसानको 'अनिकालको बीउ' जोगाउने प्रयत्नसँग दाँज्छन्। “वन्यजन्तु अनिकालका बीउ हुन्, तिनको संरक्षण गर्नैपर्छ” बर्दियाको ढोढरी गाविस–९ खाताका भदई थारू भन्छन्। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालको सहयोगमा ३० वर्षअघि पहिलोपटक वन्यजन्तुको स्थानान्तरण कार्यक्रम थालिएको थियो।
गैंडा मारियो, बाघ जोगियो
२०४२ सालमा पहिलोपटक चितवनका १३ गैंडा बर्दियाको ठाकुरद्वारामा स्थानान्तरण गर्दा भयमिश्रित उत्साह थियो। स्थानान्तरणबाट गैंडा जोगाउन सकिन्न कि भन्ने भय थियो, त्यो। स्थानान्तरण गरिएका गैंडाको अवस्था सन्तोषजनक देखिएपछि पाँच वर्षपछि २०४७ सालमा पुनः चितवनका २५ गैंडा बर्दियाकै बबई उपत्यकामा छाडिए। त्यसयता थप ४५ गैंडा चितवनबाट बबई उपत्यकामा लिएर छाडियो। शुक्लाफाँटामा पनि ४ गैंडा स्थानान्तरण गरिए।
बर्दिया र चितवनका गैंडा मासिए पनि शुक्लाफाँटामा स्थानान्तरण गरिएका चार वटा गैंडाको संख्या बढेर आठ पुगेको छ। “त्यतिवेला स्थानान्तरण नगरिएको भए, शुक्लाफाँटामा गैंडा हुने थिएनन्”, शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत (वार्डेन) वेदकुमार ढकाल भन्छन्।
यसपटक चितवनबाट पहिलो चरणमा पाँच वटा गैंडा बर्दियामा स्थानान्तरण गरिएको छ। २०७४ सालसम्ममा चितवनबाट बर्दियामा २५ र शुक्लाफाँटामा पाँच वटा गैंडा स्थानान्तरण गर्ने लक्ष्य राखिएको छ। “चितवनमा गैंडाको संख्या बढेको छ। तर, केही रोगव्याधी, महामारी लाग्यो भने सबै सखाप हुनसक्छन्” चितवन राष्ट्रिय निकुञ्जका वार्डेन कँडेल भन्छन्, “त्यसैले पनि स्थानान्तरण जरूरी छ।” अहिले नेपालमा कुल गैंडाको संख्या ६४५ पुगेको छ, जसमा चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सा वन्यजन्तु आरक्षमा ३ वटा छन्।
गैंडाको स्थानान्तरण सन्तोषजनक नभए पनि बाघ र कृष्णसारमा भने सफलता मिलेको छ। सन् २०११ मा चितवन राष्ट्रिय निकुञ्जमा घाइते भेटिएको बाघ उपचारपछि बर्दिया राष्ट्रिय निकुञ्जमा सारिएको थियो। गत वर्ष पनि चितवनबाटै घाइते बाघलाई बर्दिया ल्याइएको थियो। “पहिलो बाघ मरिसक्यो, दोस्रो चाहिं ठीकै छ”, बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन थापा भन्छन्। ती दुवै बाघमा रेडियो कलर जडान गरिएको थियो। डब्लूडब्लूएफ नेपालका अनुसार, चितवनमा १२०, बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा ७ र बाँकेमा ४ वटा गरी नेपालमा अहिले १९८ वटा बाघ छन्।
बाह्रसिङ्गा र अर्नाको पालो
गैंडा, बाघ र कृष्णसारपछि अब बाह्रसिङ्गा र अर्ना पनि स्थानान्तरण गरिने भएको छ। शुक्लाफाँटामा मात्रै पाइने बाह्रसिङ्गालाई चितवन र बर्दियामा सार्न लागिएको हो। “एक/डेढ महीनाभित्रमा स्थानान्तरण कार्य सक्छौं”, शुक्लाफाँटाका वार्डेन ढकाल भन्छन्। स्थानान्तरण अन्तर्गत बर्दियामा १५ र चितवनमा २५ बाह्रसिङ्गा पुग्नेछन्। संरक्षित क्षेत्रहरूमध्ये सबैभन्दा ठूलो झुण्डमा बाह्रसिङ्गा देखिने शुक्लाफाँटामा २ हजार १७० बाह्रसिङ्गा छन्। “चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाका लागि उपयुक्त वातावरण देखिएको छ”, राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत हेमन्त यादव भन्छन्।
सुनसरी र उदयपुरमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षका अर्नाले पहिलोपटक चितवन र बर्दिया देख्न पाउने भएका छन्। यसअन्तर्गत चितवनमा ३० र बर्दियामा २० अर्ना पुग्नेछन्। भारत, थाइल्याण्ड, भूटान र कम्बोडियामा मात्र पाइने अर्नाको यो प्रजाति नेपालमा कोशीटप्पुमा मात्रै पाइन्छ। हाल कोशीटप्पुमा ३२७ वटा अर्ना छन्।
संरक्षणकर्मीका लागि स्थानान्तरण अध्ययनको अवसर पनि हो। “स्थानान्तरण वैकल्पिक बासस्थानको खोजी पनि हो। अध्ययनको अवसर पनि हो”, बाह्रसिङ्गामै विद्यावारिधि गरिरहेका अधिकृत यादव भन्छन्। चितवन राष्ट्रिय निकुञ्जका वार्डेन कँडेल स्थानान्तरणले प्राविधिक र कर्मचारीको दक्षता तिखार्न समेत सघाउने बताउँछन्।