२८ चैत २०७२ - ४ वैशाख २०७३ | 10-16 April 2016

मधेशका दानवीर

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
परिआउँदा सर्वस्वसम्म समर्पण गर्ने तराई–मधेशका दानवीरहरूले देश निर्माणमा ठूलो टेवा पुर्‍याएका छन्।

साथमाः गोपाल गडतौला, झापा, बच्चु बिक, धनगढी, श्रवणकुमार देव, राजविराज, केशव राना, नेपालगञ्ज, अली असगर र सुरेश बिडारी, वीरगञ्ज

ईश्वरचन्द्र झा
दशकौंदेखिको ज्ञानको ज्योतिः दान–दातव्यबाटै स्थापित जनकपुरको रारा बहुमुखी क्याम्पस
“छौरा सभके पढएके लेल स्कूल बनएलीह, छौरीसभ अनपढ रहतै!”

विक्रम सम्वत् २००४ मा जनकपुरमा सरस्वती माध्यमिक विद्यालय स्थापना गरेपछि सकलीदेवी साहले छोराहरू रामस्वरुप र रामसागरलाई छात्रा पाठशाला समेत खोल्न यसरी सुझ्ाएकी थिइन्। मावि स्थापनासँगै जनकपुरमा पहिलो कलेज खोल्ने तयारीमा रहेका साह दाजुभाइले त्यसको चार वर्षमा कलेज र ६ वर्षमा कन्या मावि निर्माण गरेर आमाको चाहना पूरा गरे– आवश्यक नगद र जग्गा दानसहित। त्यसको एकदशकभित्र यो परिवारले छात्रावास र सरस्वती मन्दिर निर्माण गरेर क्याम्पस सञ्चालनका लागि थप ७५ बिघा जग्गा समर्पण गर्‍यो।

रामस्वरुप र रामसागर दाजुभाइले २००१ सालमै धर्म संस्था ट्रष्ट खडा गरी रु.१० हजार १ नगद र ३०० बिघा जमीन राखेर दानपुण्यको गतिविधि शुरू गरेका थिए। त्यो ट्रष्टबाट जनकपुरमा धर्मशाला, अञ्चल अस्पतालको प्रसूति विभाग, बाल विभागलगायत अनेकौं काम भए। सफल उद्योग–व्यवसाय गरेर समाजसेवामा पनि कीर्ति राख्नेमा पर्छ, जनकपुरको रामस्वरुप र रामसागर साह परिवार, जसले राणाकालमै दान–दातव्यको संस्कृतिलाई संस्थागत रूप दियो।

कलैया– ५, बाराका रामलाल चनावाला, जसले 'खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ, आफू मिटाइ अरूलाई दिनु जहाँ छ' भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ चरितार्थ गरे। उनले २०३८ सालमा कलैयामा रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पस स्थापना हुँदा आफ्नो सर्वस्व त्यही दुई कट्ठा जमीन नै दान दिए। २०६४ सालमा मृत्यु हुनुअघिसम्म उनले चनाचटपटे बेचेरै क्याम्पसलाई थप चार कट्ठा जग्गा दान गरे।

जनकपुरका रामस्वरुप र रामसागर साह हुन् या बाराका रामलाल चनावाला, नेपालगंजकी औतार देई कसौधन (चौधराइन) हुन् या मोरङका चनीलाल चौधरी, तराईमा त्यस्ता धेरै दानवीर छन्, जसले मानवताको लागि दिल खोलेर दान–दातव्यको परम्परालाई मजबूत बनाए। (हे. बक्सहरू)उनीहरूको लागि जात, धर्म–सम्प्रदाय, संस्कृति भन्नु नै मानवता थियो। उनीहरूकै सेवाभाव र दान परम्पराले समाजलाई सुन्दर र समग्र देशलाई समुन्नत बनाउन मद्दत गर्‍यो। समाजशास्त्री डिल्लीराम दाहाल यी दानवीरहरूको लगानीलाई समग्र नेपालको 'सामाजिक पूँजी' को रूपमा अर्थ्याउँछन्।

इन्टरनेट तस्वीर
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस।
गच्छेअनुसारको मुठी सबैले खोल्छन्, तर परिआउँदा सर्वस्वसम्म सुम्पनु र त्यो कर्मलाई निरन्तरता पनि दिनसक्नु चाहिं असाधारण गुण हो। समाजशास्त्री दाहालका अनुसार, मानिसहरू मानवताप्रतिको प्रेम र मानव हुनुको भावबाट सामाजिक दानप्रति प्रेरित हुन्छन्। यस्तो प्रेरणामा धार्मिक–सांस्कृतिक परिवेश पनि उत्प्रेरक हुन्छ। र, तराई–मधेशमा यस्तो दानको लामो परम्परा छ।

मधेशको दान संस्कृति

पहाडमा चौतारो बनाई वरपीपल रोपेर प्रतिष्ठा गरेजस्तै पुरानो चलन हो, मधेशमा वरगद (वर) लगायतका वृक्षको फेदमा चौतारो निर्माण गर्ने, जहाँ मानिसहरू सुस्ताउन सकुन्। त्यसपछि पोखरी, इनार, मठ, ग्राम देवता (ब्रह्मदेवता, देवीथान, डिहवार) बनाउने चलन चलेको वीरगन्जका पत्रकार चन्द्रकिशोर बताउँछन्। “त्यसपछि मात्रै शिक्षातर्फ सामाजिक लगानी हुनथालेको देखिन्छ”, उनी भन्छन्।

भारतमा स्वराज आन्दोलनले गति लिन थाल्दा राणाकालीन नेपालको तराईमा शैक्षिक जागरण शुरू भयो। स्थानीय जमीनदार–समाजसेवीहरूले राणाकालमै महोत्तरीको मटिहानी, सर्लाहीको गोडैता, बाराको कलैया, धनुषाको जनकपुरलगायतका ठाउँमा पाठशालाहरू खोले। २००७ सालपछिको नयाँ परिवेशमा मन्दिर, धर्मशालासँगै विद्यालय खोल्ने लहर चल्यो। विद्यालय, मन्दिर वा धर्मशालाहरू कि सामुदायिक लगानीमा बन्थे कि त धनीमानीले बनाउँथे।

२००७ सालदेखि मधेशका गाउँ–गाउँमा चलेको स्थानीय सहभागितामा विद्यालयहरू खोल्ने लहरलाई २०४७ पछिको निजी स्कूलको चलनले रोक्यो। त्यसपछि भने अस्पताल र प्रहरी चौकी निर्माणमा दान–दातव्य बढ्यो। सामुदायिक भवन र कलेज निर्माणले पनि प्रश्रय पायो। यसका लागि कतै समूहगत दान–दातव्य भयो भने कतिपय ठाउँमा धन र मन दुवै भएका व्यक्तिहरू अगाडि सरे।

दान दातव्यको यही सिलसिलामा सर्लाहीका वेणी दास र भोला झ्ाले गोडैतामा वेणीभोला नमूना माध्यमिक विद्यालय स्थापना गरे। राणाकालमै वीरगञ्जमा त्रिजुद्ध स्कूल खोलेका ठाकुरराम कलवारले २००९ सालमा १८ बिघा जमीन दानका साथ ठाकुरराम बहुमुखी क्याम्पस स्थापना गरे। त्यसले वीरगञ्जलाई सप्तरीदेखि मकवानपुरसम्मको उच्च शिक्षा अध्ययन केन्द्र बनायो।

त्रिजुद्ध स्कूलकै प्राङ्गणमा विश्वविद्यालय सञ्चालनका लागि २००७ चैतमा कवि केदारमान व्यथितको संयोजकत्वमा समिति गठन भएको र २५ सालमा 'नेपाल राष्ट्रिय विद्यापीठ' स्थापना भएको कुरा चाहिं इतिहासमा सीमित हुनपुगेको छ। पञ्चायती व्यवस्थाले नसिध्याएको भए नेपालकै त्यो पहिलो विश्वविद्यालय अहिले ६७औं स्थापना दिवस मनाइरहेको हुन्थ्यो।

ईश्वरचन्द्र झा
धर्मशालादेखि विवाह भवनसम्मः ८० वर्षअघि भारतको नथानी ट्रष्टद्वारा निर्मित जनकपुरस्थित गोपाल धर्मशाला
मोरङको दुलारीमा मुनीलाल चौधरीले पिताको नाममा स्थापना गरेको साजिलाल उमाविले भने गत फागुनमा स्वर्ण जयन्ती मनायो। मुनीलालले २०१० सालमा मधुवनी (बिहार) का राधाकृष्णलाल दासलाई झिकाएर आफ्नै हवेलीमा शुरू गरेको प्राइमरी स्कूल नै आजको साजिलाल उमावि हो। यस विद्यालयलाई मुनीलालले आवश्यकता अनुसार पटक–पटक गरेर २२ बिघा जमीन दान गरे। पूर्व–पश्चिम राजमार्गसँग जोडिएका ती जमीनमध्ये खाली बसेको जमीनकै मूल्य अहिले दुई अर्ब रुपैयाँभन्दा बढी पर्छ।

मधेशमा दानदातव्यबाट विद्यालय खुल्नु र चल्नुमा भारतबाट आएका शिक्षकहरूको पनि महत्वपूर्ण भूमिका रह्यो। मुनीलालले झिकाएका राधाकृष्णलाल कालान्तरमा मोरङका ठूला शिक्षासेवी भए। २०६३ मंसीरमा दुलारीवासीले कृतज्ञता स्वरुप रथयात्रा गराएको एक वर्षमा उनको निधन भयो।

मोरङका दास जस्तै भारतीय शिक्षक नै थिए, जीवनेश्वर मिश्रा, जसले वीरगञ्जमा शिक्षाको सुगन्ध छर्न महत्वपूर्ण भूमिका खेले। भारतीय स्वतन्त्रता संग्राम र सामाजिक आन्दोलनबाट प्रेरित उनका अनन्य शिष्यमध्येका हुन्, मोहनप्रसाद लाखे। ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख रहेका लाखेले २०५२ सालमा वीरगञ्ज नगरपालिकाबाट पाएको सम्मानसहितको रु.५१ हजार पुरस्कारबाट गुरुभेटी चढाए, अक्षय कोषको रूपमा। लाखे परिवारले पर्साको लङ्गडीमा जग्गा दान गरेर सामुदायिक विद्यालय सञ्चालन गरेका छन्।
मधेशको दान–दातव्यलाई हेर्दा एउटा चाखलाग्दो कुरा के देखिन्छ भने, त्यस्तो लगानी शिक्षामा बढी भएको छ र त्यो भारतको स्वराज आन्दोलनबाट प्रेरित छ। जस्तो, राणाकालमा काठमाडौंमा भन्दा धेरै विद्यालय मधेशमा खुले। काठमाडौंभन्दा अगाडि जनकपुरमा कन्या विद्यालय खुल्यो, भारत माइती भएकी सकलीदेवी साहका कारण। पूरै नेपाल राणाशासनको निरंकुशतामा जकडिएको त्यो समयमा छिमेकी देशमा स्वराज आन्दोलनले गति लिएको थियो। सीमापारि पढैया युवकहरू थिए भने वारि शिक्षाको खाँचो, दानवीर र दान दिने जमीनको पौलो थियो।

सप्तरीका जमीनदार शत्रुघ्नप्रसाद सिंहले बोदे बर्साइनमा २००२ सालमा पहिलो पाठशाला स्थापना गर्न १६१ विघा जग्गा दान गरेका थिए। सप्तरीकै बभनगामाकट्टीमा २००६ सालमा रामप्रसाद सिंह, बल्लभ सिंह र नरसिंह सिंहले २२ बिघा जग्गा दान गरेर खोलेको विद्यालय अहिले लक्ष्मी बल्लभ नरसिंह उमाविको नामले चर्चित छ। लक्ष्मी रामप्रसाद सिंहकी पत्नी हुन्।

सप्तरीकै खडगपुरका विन्देश्वरी यादवले जिल्लामै उच्च शिक्षाको सुविधा जुटाउन २०१४ सालमा २५ बिघा जग्गा दान गरेर क्याम्पस स्थापना गराए– महेन्द्र–विन्देश्वरी बहुमुखी क्याम्पस। त्यस्तै, राजविराजका रुद्रनारायण सिंहले आमा केशो अनिरुद्धवतीको नाममा विद्यालय बनाएर ५४ बिघा जग्गा समेत दिएका थिए। इटहरी विष्णुपुरको गोरगम्मा माविलाई समेत १४ बिघा दान गरेका स्व. सिंहले २०१५ सालमा राजविराजमा विमानस्थल बन्ने भएपछि २४ बिघा जग्गा प्रदान गरेका थिए। बाराको चिँहुटाका यादवहरूले विद्यालय सञ्चालनकै लागि १०० विघा जमीन दान दिएका थिए।

ईश्वरचन्द्र झा
स्थानीय राजाराम महतोद्वारा हालै निर्मित धनुषा ढल्केवरस्थित धर्मशाला
यसरी खुलेका विद्यालयहरूले शिक्षालाई सबैका लागि बनायो। वीरगञ्ज चिनी मीलका मजदूरका सन्तानका लागि स्थापित सिद्धार्थ माध्यमिक विद्यालयमा राम्रो भवनहरू बनाउन सांघाई समूहले रु.१ करोड सहयोग गर्ने भएको छ। चिनी मील बन्द भए पनि वरपरका विद्यार्थी छन्, सिद्धार्थ माविमा। दान–दातव्यमा कर्पोरेट क्षेत्रको गतिलो हात पनि अगाडि आएको नमूना हो, सांघाई समूहको घोषणा। हिजोको समाजमा धर्म–अध्यात्मसँग सम्बन्धित क्षेत्रमा बढी दान हुने गरेकोमा आज स्थानीय आवश्यकताले प्राथमिकता पाएको उदाहरण पनि हो, यो।

पहाडीहरूको योगदान

मधेशमा पहाडी समुदायको समाजसेवा पनि कम छैन। जनकपुरका देवराज उपाध्यायले आफ्नो सारा जीवन शिक्षकको रूपमा रौतहटको भवानीपुरमा विताए। जनकपुर छाडेर देहातमा पढाउन गएका उनलाई 'भवानीपुरका चाणक्य' भनिन्थ्यो। मधेशमा अधिकांश विद्यालयमा 'नेपाली टीचर' पहाडीहरू नै हुन्थे र छन्। लामो समय शिक्षण पेशामा रहेका धनुषा, रघुनाथपुरका चन्द्रशेखर उपाध्यायले मैथिली भाषा–संस्कृतिमा ठूलो योगदान गरेका छन्। त्यस्तै, बाराका पत्रकार मुकुन्द आचार्यले रामायण र गीतालाई भोजपुरी भाषामा अनुवाद गरे।

नेपालमा लामो समयसम्म काठमाडौंकेन्द्रित सामन्ती राज्यव्यवस्था रह्यो। सामन्ती समाज र जमीनबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। त्यो अवस्थामा धेरै उब्जाउ जमीन भएको मधेशसँग काठमाडौं केन्द्रको आर्थिक चासो हुने नै भयो। तर, राणा प्रधानमन्त्री चन्द्रशमशेरले सप्तरीमा चन्द्रनहर बनाउनुलाई निकै रोचक मान्छन्, राजनीतिकर्मी जयप्रकाशप्रसाद गुप्ता।

नेपालमा सिंचाइको पहिलो नमूना काम भएको यो नहर निर्माण राणाहरूको आर्थिक स्वार्थमा सामीप्यता देख्दैनन्, गुप्ता। जमीनदारी प्रथामार्फत देशको अर्थव्यवस्था 'कन्सोलिडेट' गरेका राणाहरूको सबभन्दा ठूलो स्वार्थ बारा, पर्सा, रौतहटमा थियो– जहाँबाट काठमाडौंमा चामल जान्थ्यो। “र पनि, उनले एउटै पर्वते जमीनदार नभएको ठाउँमा नहर बनाए”, गुप्ता भन्छन्, “मेरो विचारमा चन्द्रशमशेरले पारिवारिक स्वार्थभन्दा राष्ट्र समृद्धिलाई ध्यानमा राखेर नै यो लगानी गरेका हुन्।”

उनका अनुसार, पहिलो र दोस्रो विश्वयुद्धकालमा भने काठमाडौंको सत्ता र सप्तरीबीच धेरथोर सम्बन्ध स्थापित भएको थियो। त्यसताका राणा शासकहरूले ब्रिटिश–भारतीय गोर्खा पल्टनमा 'केटा' पठाउन मधेशमा सेनाका कर्णेलहरू खटाएका थिए। सप्तरीमा पश्चिमका सिंजापति र काभ्रेका पन्तहरू खटिएका थिए। भर्ति भएका 'केटा' हरूका परिवारलाई खाद्यान्न उपलब्ध गराउनु उनीहरूको दायित्व हुन्थ्यो। उनीहरूको जमीन कमाउने स्थानीयहरूले एउटा निश्चित परिमाणमा अन्न बुझाउँथे। त्यस्तो जमीनदारी रहेको स्थानलाई 'कर्णेल कामत' भनिन्थ्यो।

स्थानीय केन्द्रका रूपमा रहेका ती कामतमध्ये कतिपयबाट कालान्तरमा समाजसेवाका कामहरू भए। त्यसवेला समाजसेवाका लागि धेरै क्षेत्रहरू थिएनन्। दान–दातव्य भनेको कि मन्दिर, पाटीपौवा, पोखरी, धर्मशालाको लागि हुन्थ्यो कि त पाठशालाको लागि। स्वास्थ्य त चर्चामै थिएन। “यी दुई क्षेत्रमध्ये पहिलोमा स्वतन्त्रतापूर्वक दानहरू भएको देखिन्छ”, गुप्ता भन्छन्, “दोस्रोमा तिनै परिवारबाट मात्र दानदातव्य हुनसक्यो– जसको राज्यसत्तासँग नजदिकी सम्बन्ध थियो।”

जनचेतनालाई आफ्नो राज्यसत्ताका लागि 'थ्रेट' ठान्ने राणाहरू स्कूल–कलेज निर्माणमा स्वतन्त्र दानदातव्य पनि रुचाउँदैनथे। कसैलाई अनुमति दिंदा विश्वास पात्रलाई नै दिन्थे। र, त्यस्तो विश्वासपात्र भनेको मधेशका पहाडे नै हुन्थे। तीमध्येका धेरैले मधेशको सेवा र दान परम्परामा योगदान दिए। त्यसो त, काठमाडौंको राज्यसत्तासँग राम्रो सम्बन्ध भएका मधेशीहरू पनि थिए। जस्तो, सप्तरीका यादवहरूले २००७ सालपछि राज्यबाट 'सिंह' को उपाधि पाएका थिए। पंचायतकालमा मन्त्री भएका मृगेन्द्रकुमार सिंह तिनै 'सिंह' मध्येका थिए। “उनका पिता, पितामहहरूले राणाकालबाटै शिक्षा क्षेत्रमा लगानी गर्न थालेका थिए”, गुप्ता भन्छन्, “उनीहरूले एउटै विद्यालयका लागि २००० बिघासम्म दान गरेका छन्।”

त्यस्तै, केन्द्रमा पहुँच बनाएका सिरहाका मरवैताहरूले पनि शिक्षाक्षेत्रमा ठूलो लगानी गरेको गुप्ता बताउँछन्। उनका अनुसार, विराटनगरको महेन्द्र मोरङ कलेज स्थापनाका लागि चेतुलाल चौधरीको नेतृत्वमा स्थानीय माझी र थारूहरूसँगै अर्याल, कोइराला, खनाललगायतका पर्वते परिवारले ठूलो दान गरेका थिए। केन्द्रीय सत्तासँग ती पर्वते परिवारहरूको कहिले बिग्रने कहिले सप्रिने राजनीतिक सम्बन्ध थियो।

महावीर मिडल स्कूल खोल्दा सप्तरीको कञ्चनपुरवासीले भने केन्द्रीय सत्तासँग 'टि्रक' गरेको गुप्ता बताउँछन्। उनका अनुसार, स्थानीय दान–दातव्यबाट विद्यालय खोल्ने अनुमति पाउन उनीहरूले धनकुटाका बडाहाकिम महावीर शमशेरको नाम राख्ने जुक्ति गरेका थिए। मधेशमा राणा हाकीमको नामबाट थुप्रै स्कूल खोलिएको उनी बताउँछन्। “यो एउटा पक्ष भयो, शिक्षा क्षेत्रमा दिल खोलेर दान–दातव्य गर्ने मधेशका पहाडी परिवार पनि उत्तिकै छन्”, गुप्ता भन्छन्, “जस्तो, जनकपुरमा शर्मा–ढुंगाना, झापामा प्रसाईं, पर्सामा रिजाल, रौतहटमा मानन्धर–नेपाल, सप्तरीमा पण्डित, मोरङमा कोइराला, सर्लाहीमा थापा, महोत्तरीमा भण्डारी, सुनसरीमा श्रेष्ठ आदि।”

खुशीको स्रोत

सुरेश बिडारी
बाराको जीतपुरमा सामुदायिक विवाह भवनको २४ फागुन २०७२ मा शिलान्यास गर्दै जग्गादाता नागेन्द्र सिंह (टाउकोमा रुमाल बेरेका)।
हिन्दू, बौद्ध, इस्लाम, इसाई हरेक धर्मले दानलाई पुण्यको रूपमा प्रेरित गरेको छ। पहिले मृत्युपछिको लागि दान गर्ने आम चलन अहिले जीवनकालमै सामाजिक परिवर्तन देख्ने चाहना र व्यक्तिगत खुशीसँग पनि गाँसिंदो छ। दान–दातव्यको 'नैतिक अर्थतन्त्र' पनि बढेको छ। कुनै स्वार्थ नराखी सेवाभावले दान गर्नेहरूले यसबाट उच्चतम खुशी प्राप्त गर्छन्। शिलालेखमा नाम राख्न, समाचारमा नाम आएको हेर्न–सुन्न, निजी प्रतिष्ठा बढाउन र धर्म वा सम्प्रदायको प्रचार गर्न दान गर्नेहरू पनि भेटिन्छन्, तर प्रतिफलको आशा विना दान गर्नेहरू चाहिं असल दानी हुन्।

मानवशास्त्री सुरेश ढकाल अर्थतन्त्रको विकाससँगै सम्पत्तिको असमान वितरण हुँदा थोरै परिवार वा व्यक्तिमा थुप्रिने सम्पत्ति दानको माध्यमबाट समाजमा पुग्नु राम्रो भएको बताउँछन्। उनका अनुसार, दान–दातव्यलाई सम्पत्ति कमाउन–जोगाउन सघाउने समाजलाई नै फर्काएर धन्यवाद दिने प्रक्रियाको रूपमा पनि बुझनुपर्छ। “नैतिक सामर्थ्य भएका मान्छेहरू यो प्रक्रियामा सहभागी हुन्छन्”, ढकाल भन्छन्, “र, यसमा तराई–मधेश पहिल्यैबाट धनी देखिन्छ।”

समाजशास्त्री डा. गणेश गुरुङको बुझाइमा, समग्र नेपाली समाजमा निस्वार्थ सम्पत्ति दान र सेवामूलक कामका तीन चरण छन्– पहिलो, सेवानिवृत्त भएपछि, सन्तान हुर्केपछि र आधारभूत आवश्यकता पूरा भएपछि पुण्य कमाउन लिइने अग्रसरता, दोस्रो सामाजिक सम्मान–प्रभावका लागि प्रचारका साथ गरिने पहल र निस्वार्थी भएर आत्मसन्तुष्टिका लागि गरिने कर्म। समाजमा पुगिसरी आउने र धनाढ्यहरू बढ्ने क्रममा यीमध्ये दोस्रो समूहका समाजसेवीहरू बढे पनि तेस्रो कोटिका दानीहरूको तिर्सना मेट्न भने विगततिर फर्कनुपर्ने डा. गुरुङ बताउँछन्। “थोरै दिएर धेरै प्रचार खोज्ने प्रवृत्ति बढेको देखिन्छ”, उनी भन्छन्, “समाजमा अहिले जति दानवीर देखिएका छन्, अधिकांश धनाढ्य नभएर मध्यमवर्गीय छन्।” नवधनाढ्यहरूमा केही रकम समाजलाई दिएको प्रचार गरेर बाँकी सम्पत्तिको वैधता बढाउने नियत देखिएको उनी बताउँछन्।

मानवशास्त्री ढकाल दान–दातव्यबारेको 'दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस्' भन्ने पूर्वीय मान्यता रहे पनि अहिले दान प्रचारमुखी बनेको बताउँछन्। हुन पनि, ठूला यज्ञ, महापुराणहरूमा डाक बढाबढ शैलीमा दान घोषणा गरेर नाम प्रचार भएपछि कबोल गरेको दान नदिएको दृष्टान्त थुप्रै छन्। समाजप्रति कृतज्ञ भएर सम्पत्ति समर्पित गर्ने वास्तविक दानी भने प्रचारबाट टाढै रहने उनी बताउँछन्।

अनेक उदाहरण

स्वार्थ र नाफाका लागि मरिहत्ते गर्ने प्रवृत्ति चारैतिर बढिरहेको समयमा पनि कुनै लालच नराखी चूपचाप काम गरिरहेकाहरू मधेशमा मनग्ये भेटिन्छन्। कैलालीको रतनपुर– ५ का फोनीराम चौधरीले औषधि पसल चलाएको सबैले देखेका छन्, तर उनले विद्यालय, बौद्ध विहार र सडकका लागि करोडौंको जग्गा दान गरेको कमैलाई थाहा छ। त्यसो त, कैलाली र कञ्चनपुरमा थारूहरूले जमीन नदिएको विद्यालय नै छैन भनिन्छ।

कञ्चनपुरको भानु उमावि व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद रानाले विद्यालयमा तीन कोठे भवन, फर्निचर र १० कट्ठा जमीन दिए भने अमरसिंह रानाले कृष्णपुर–२ बंकस्थित कञ्चन बहुमुखी क्याम्पसलाई दुई बिघा जमीन दान गरे। यता, रूपन्देही शंकरनगरका स्व. दुर्गादत्त पाण्डेले शंकरनगरमा उच्चमावि बनाउन एकमुष्ट रु.२० लाख दिएका थिए भने सप्तरीको बनैनिया गाविसका पूर्व अध्यक्ष बलरामप्रसाद यादवले सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको लागि रु.१५ लाखको पाँच कट्ठा जग्गा दान गरे।

सिरहाको लहानमा पशुपति मुरारकाको परिवारले जेएस मुरारका बहुमुखी क्याम्पस र रामकुमार शारदा मुरारका स्मारक अस्पताल स्थापना गरेको छ। निजी सम्पत्ति समाजको हितमा प्रयोग गर्नेमा झापाका मारवाडीहरू पनि कम छैनन्। दमकका मारवाडीहरूले २०६२ सालमा रु.१ करोड लागतमा मारवाडी सेवा सदन बनाए। एक करोडभन्दा बढी पर्ने साढे तीनकट्ठा जग्गामा बनेको सेवा सदनले वाससँगै सामुदायिक कार्यक्रमस्थलको खाँचो टारेको छ। एकदशकअघि बिर्तामोडमा बनेको मारवाडी भवन पनि ठूल्ठूला कार्यक्रम गर्ने ठाउँ बनेको छ।


पुनरुत्थानका लागि 'फिलान्थ्रोपी'

अंग्रेजी शब्द 'फिलान्थ्रोपी' को नेपाली भावार्थ हुन्छ– 'अरूको कल्याणका लागि आफ्नो धन–सम्पत्तिको उल्लेख्य हिस्साको समर्पण।' हिमाल ले यसपटकको नयाँ वर्ष अंकका लागि नेपाली समाजभित्रको यही समर्पण भावलाई खोतल्ने निधो गर्‍यो। तर, समाजको यो पाटो उधिन्न देशभर भएका जनकल्याणका रिपोर्टिङ गर्दा हिमाल को सम्पादन टीम अचम्मित भयो, जब समाज उत्थानका लागि भए/गरेका दान–दातव्यको केन्द्रविन्दुमा मध्य–मधेश देखियो। शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा मध्य–मधेशमा भएको 'फिलान्थ्रोपी' को आकार र उँचाइ अन्यत्रभन्दा धेरै विस्तारित देखियो। अनि हामीले यो विशेष अंकको आवरण कथालाई मध्य–मधेशमै केन्द्रित गर्ने निर्णयका साथ त्यहाँ भए/गरेका 'फिलान्थ्रोपी' को थप रिपोर्टिङ गर्‍यौं।

नेपाली समाजमा दान–धर्म धेरै पहिलेदेखि चल्दै आएको हो– पुण्य कमाइने विश्वासमा। यही विश्वासमा पाटी–पौवा, मठ–मन्दिर निर्माणदेखि पोखरी–धारा खनाउने/बनाउने क्रम चल्दै आयो। मधेशमा भने पुण्य कमाउने काम यतिमै सीमित नरहेर शिक्षा र स्वास्थ्य सेवादेखि आतिथ्यसम्म विस्तार भयो, आजभन्दा सय वर्षअघि नै। समाज विज्ञानको विकासक्रममा त्यस्तो कुन मोड आयो, जसबाट धार्मिक विश्वासमा गरिने दान–पुण्य बृहत्तर समाजहितको क्षेत्रमा उतिवेलै विस्तार हुनसक्यो? मधेशका नेपालीहरूले यस्तो किन गरे? यी र यस्ता प्रश्नहरूको गम्भीर विश्लेषणको जिम्मा समाजशास्त्री/मानवशास्त्रीहरूलाई छाडौं।

हाम्रो सोलोडोलो बुझाइमा भने यस्तो हुनुको मुख्य कारण मधेशको सामाजिक–राजनीतिक जागरणबाट सिर्जित वातावरण नै हो। भारतीय स्वतन्त्रता संग्रामको प्रभावसँगै चलेको राणाविरोधी आन्दोलनले नेपालमा ल्याएको जागरणले तत्कालीन मधेशलाई समाज कल्याणमा सम्पत्ति समर्पण गर्न हौस्यायो। राणाकाल होस् या त्यसपछिको पञ्चायत, कमजोर राज्यका बलिया शासकहरूसँगको सामीप्यको आधारमा पनि 'फिलान्थ्रोपी' भए। जे–जे कारणले, जसरी भए पनि थुप्रै नेपालीलाई दान–दातव्यमार्फत लोकहितमा समर्पित हुन प्रेरित गर्‍यो।

राणा शासकहरूले नेपाललाई निषिद्ध देश बनाएको कठोर समयमा मधेशले दृढता र उत्साहका साथ शिक्षाका दियोहरू सल्कायो। लामो समयसम्म काठमाडौंलाई सिकाउने उर्वर शैक्षिक भूमिको रूपमा रहेको मध्य–मधेशको उदात्त दान–दातव्यको भावनाले नेपालमा शिक्षाको ज्योति फैलायो। त्यसले बढाएको राजनीतिक चेतनाले तराई–मधेशलाई लोकतन्त्र प्राप्तिको हरेकजसो नेपाली संघर्षमा नेतृत्वदायी भूमिकामा उभ्यायो। हिमाल–पहाडमा शिक्षाको ज्योति पुर्‍याउने काम मधेशले नै गर्‍यो। पञ्चायतकालीन असहजतामा पहाड–हिमाल उक्लेर सामाजिक अन्तरघुलन बढाउने पनि मधेशी गुरुहरू नै थिए।

त्यस्तो समय पनि थियो जतिवेला कला, संस्कृति, धर्म, विवेक, मर्यादा, शौर्य सबैको केन्द्र मधेश थियो। आज त्यही भूखण्ड असन्तुष्ट–आन्दोलित छ। 'पहिचान' र 'अधिकार' का नाममा गरिएको जातिवादी र क्षेत्रीयतावादी राजनीतिले यो भूखण्डको गौरवलाई हिलाम्य बनाउन लागेको छ। यो अवस्थामा मधेशी समाजभित्रको त्यो 'फिलान्थ्रोपी' को पुनरुत्थान र विस्तार अत्यावश्यक भएको छ, जसले विग्रहमा भविष्य देख्ने तत्वहरूलाई निस्तेज पार्न सकोस्।

– सम्पादक


सर्वस्व समाजलाई

श्रवणकुमार देव

राजविराजमा २०३२ सालमा स्थापित राजदेवी मावि २०४२ सालसम्म पनि टहरामै थियो। भत्केर लथालिङ्ग भएको टहरामा विद्यार्थीले झरी र घाममा ओत पाउँदैनथे। त्यो अवस्था हटाउन कस्सिएका स्थानीय समाजसेवी जोगेन्द्र भगत (६०) ले करीब रु.४० लाख व्यक्तिगत लगानीमा कम्पाउण्डसहित आठ कोठे पक्की भवन बनाइदिए। त्यसपछि अभिभावकहरूले विद्यालयको नाम पनि लम्ब्याए– राजदेवी ठाकोदेवी जोगेन्द्र भगत मावि।

अहिले रायपुर गाविसवासीको सुविधाको लागि सामुदायिक अस्पताल बनाइदिन जुटेका भगत दम्पतीले रामपुर जमुवामा गौशाला बनाउन तीन बिघा १७ कट्ठा जग्गा रजिष्ट्रेशन पास गरिदिएका छन्। ठाकोदेवी जोगेन्द्र भगत सेवा ट्रष्ट खोलेर संस्थागत सेवा थालेका उनीहरूले रामपुर जमुवामा पशुपति शिक्षा मन्दिर पनि संचालन गर्ने लक्ष्य राखेका छन्। रेडक्रसका सप्तरी सभापति रहेका भगतले दास धर्मशालाका लागि रु.१ लाख र रेडक्रसको भवन बनाउन रु.२ लाख ५० हजार दान दिएका छन्। सन्तान नभएका भगत दम्पतीले राजविराज–४ स्थित घर पनि वृद्धाश्रमको नाममा रजिष्ट्रेशन गरिदिने योजना बनाएका छन्। “हामीसँग अब पाँच बिघा जति जग्गा छ”, भगतले भने, “ढिलोचाँडो त्यो पनि यो समाजमै जान्छ।”


विश्वनाथको खुशीको स्रोत

सुरेश बिडारी

वीरगञ्ज–१४ का ८३ वर्षीय विश्वनाथ साह २० वर्षयता समाजसेवाबाट मन शीतल पारिरहेका छन्। समर्पण सेवा ट्रष्टमार्फत उनले गरेको दान र सेवाको फेहरिस्त लामो छ। वीरगञ्ज विश्वविद्यालय, नारायणी उपक्षेत्रीय अस्पताल, पशुपति शिक्षा मन्दिर, जिल्ला प्रहरी कार्यालय, घण्टाघरको प्रहरी बिट, हरिखेतान बहुमुखी क्याम्पस, इनर्वा प्रहरी चौकी, लक्ष्मीपुर र पटेलनगरका विद्यालयहरूदेखि देवघाटको धर्मशालासम्ममा साहले दान गरेका छन्। अरु किसिमका सामाजिक हितमा साहले गरेको सहयोगको कुनै हिसाब छैन। दानको सवालमा उनी मन्दिर, मस्जिद, जात, धर्म, संस्कृति केही हेर्दैनन्, सेवा पुगे भयो। वीरगञ्ज कारागारमा कैदीबन्दीको लागि चर्पी निर्माण गरेर समाजसेवा शुरु गरेका साह स्वर्ग प्राप्तिको लागि यो सब गरिरहेका छैनन्। “दानबाट पाइने भनेको खुशी र आत्मसन्तुष्टि हो”, उनी भन्छन्, “त्यसबाहेकको आशा राख्नु पनि हुँदैन।”


रामसेवकको सेवा

केशव राना

पञ्चायतकालमा १८ वर्ष बाँकेको कोहलपुर गाउँ पंचायतका प्रधानपञ्च रहेका रामसेवक राय (वि.सं. १९६६–२०५२) शिक्षाप्रेमी थिए। उनले २०१६ सालमा ९ बिघा जग्गा दान गरेर त्रिभुवन स्कूल (अहिले उमावि) स्थापना गरेका थिए। उनले चटारमा आफ्नै तीन कठ्ठा जग्गामा शिव मन्दिर बनाएका थिए।


चौधराइनको गुन

केशव राना

औतार देई कसौधन (वि.सं. १९५४–२०२८) लाई नेपालगञ्ज र आसपासका पाका मानिसहरू 'चौधराइन' भनेर चिन्छन्। शिक्षा र स्वास्थ्यमा करोडौंको सम्पत्ति दान गरेर उनले समाजलाई ठूलो गुन लगाइन्। १५ वर्षको उमेरमा लक्ष्मीनारायण कसौधनसँग बिहे भएर नेपालगंज आएकी उनी केही वर्षमै विधवा बन्न पुगिन्। त्यसपछि श्रीमान्को सम्झ्ानामा नारायण स्कूल स्थापना गरेर उनले समाजसेवा शुरू गरिन्। उनका भतिजा राधेश्याम कसौधनका अनुसार, चौधराइनले १९९२ सालमा १३ बिघा जमीन दान गरेर नारायण स्कूल खोलेकी थिइन्।

त्यसपछि २०१४ सालमा उनले नेपालगंजमै उच्च शिक्षाका लागि नारायण देई इन्टर कलेज (अहिले महेन्द्र बहुमुखी क्याम्पस) स्थापना गरिन्। तर, पञ्चहरूले राजा महेन्द्रलाई खुशी पार्न २०२८ सालमा कलेजको नाम फेरेर असली दातालाई इतिहासमा सीमित पारेको भतिजा राधेश्याम कसौधन बताउँछन्। चौधराइनप्रति कृतज्ञता जनाउन भेरी अञ्चल अस्पताल परिसरमा भने उनको सालिक राखिएको छ। उनले स्वास्थ्य क्षेत्रका लागि दान गरेको नेपालगंज बजारको १२ कट्ठा नौ धुर जमीनमध्ये अञ्चल अस्पतालले नौ कट्ठा र बाँकी जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले उपयोग गरेको छ। पञ्चहरूले विद्यालय र क्याम्पसमा चौधराइनको योगदानलाई नामेट पारे पनि नेपालगञ्जले औतार देर्ई कसौधन (चौधराइन) सेवा प्रतिष्ठान स्थापना गरेर हरेक वर्ष उनलाई सम्झने गरेको छ।


रामदेवको मुठी

सुरेश बिडारी

पर्सा सदरमुकाम वीरगञ्जबाट २० किलोमिटर पश्चिममा रहेको बसन्तपुर गाविसका रामदेव कलवार (७१) ले पोखरियाको जिल्ला उच्चाङगल रामदेव कलवार माविमा दुईतले भवन, छात्रावास र शौचालय निर्माणसँगै ८ कट्ठा जग्गा दान गरे। त्यस्तै, इलाका प्रहरी कार्यालय पोखरियालाई १३ कट्ठा र हरिहरपुरको रामजानकी मन्दिरलाई दुई बिघा जग्गा दान गरेका छन्। वसन्तपुर क्षेत्रमा उनले नगद दान नगरेका विद्यालयहरू विरलै छन्।

गरीबहरूको टोलमा निःशुल्क आँखा शिविरदेखि बिरामी र मरो–परोको परिवारलाई नगद दिंदै आएका उनले स्याङ्जा जिल्लाको स्याङ्जा कलेज र वालिङ क्याम्पसलाई पनि आर्थिक सहयोग गरेका छन्। “अप्ठ्यारोमा परेकालाई उद्दार गर्न पाउँदा मन खुशी हुन्छ”, कलवार भन्छन्, “त्यसकै लागि सकेको मुठी खोल्ने गरेको छु।”


तत्पर तुलसीराम

कमल रिमाल

विराटनगरका उद्योगी तुलसीराम अग्रवाल खर्च नभएर कोशी अञ्चल अस्पतालमा आउन नपाएका बिरामीलाई सहयोग गर्न जहिल्यै तयार छन्। अप्रेशन गर्ने पैसा नपाएर पनि कोही मर्न नहुने उनी बताउँछन्। समाजसेवाका लागि उनले आफ्ना मातापिताको नाममा गोबरधनदास कमलावती परोपकारी प्रतिष्ठान चलाएका छन्। २०५९ सालमा स्थापित प्रतिष्ठानले त्यसपछिको १० वर्षमा समाजसेवामा रु.१ करोड २४ लाख ६२ हजार खर्च गरेको थियो।

संस्थाले यस वर्ष महाभूकम्प पीडित र गरीबहरूलाई ५ हजार कम्बल वितरण गर्‍यो। यद्यपि, समाजसेवाको मूल्यसहितको प्रचार सर्वथा अनुचित भएको अग्रवाल बताउँछन्। उनले भेटेसम्मका मानिसलाई 'सेवा गर्ने बाटो देखाइदिनू' भन्ने गरेका छन्। उनले विराटनगरका अस्पताल, मालपोत र अदालतमा स्वच्छ खानेपानीको मेसिन जडान गरिदिएका छन् भने कारागारका कैदीबन्दीका लागि पुस्तकालय, सामुदायिक अस्पतालहरूमा औषधिको व्यवस्था र केही विद्यालयमा भवन बनाइदिएका छन्।

उनले मोरङ जिल्ला प्रशासन कार्यालय जाने सेवाग्राही र दाहसंस्कारका लागि सिंघिया खोला जाने मलामीका लागि बस्ने ठाउँ बनाइदिएका छन्, प्रतिष्ठानमार्फत। घाटलाई शववाहन पनि उपलब्ध गराएका छन्।


दीनबन्धुको दिल

कमल रिमाल

आफ्नो शेयर रहेको करीब एक दर्जन उद्योगको निगरानी चटक्क छाडेर समाजसेवामा लागेका विराटनगरका दीनबन्धु गोयल (६८) २०७० सालको हिउँदमा चितवनको चेपाङ बस्तीको समाचार पढेपछि १२६ परिवारका लागि न्यायो कपडा र खाद्यान्न ट्रकमा हालेर त्यहाँ पुगे। उनले अहिलेसम्म कति विद्यार्र्थी पढाए, उनैलाई थाहा छैन। अहिले पनि उनी मोरङका विभिन्न विद्यालयमा सय जना विद्यार्थीको शुल्क तिरिरहेका छन्।

त्यसबाहेक गरीबलाई कपडा, अनाथालय र वृद्धाश्रमहरूलाई मासिक सहयोग पनि उनको नियमित सेवामा पर्छन्। उनले झापाको भद्रपुरमा ३० जना छात्रछात्रालाई छात्रवृत्ति र पोशाक उपलब्ध गराउँदै आएका छन्। भद्रपुरकै गुरुकुलका विद्यार्थीलाई वर्षमा एक महीना खाना खुवाउँदै आएका उनले चन्द्रगढीमा जेष्ठ नागरिकका लागि आश्रम बनाउन रकम दिएका छन् भने भद्रपुरमा वृद्धाश्रम बनाउन नगदसँगै निर्माण सामग्री उपलब्ध गराएका छन्। विराटनगरको रात्रि माविका विद्यार्थीलाई दैनिक खाजाको लागि रकम दिने गोयलबाट काठमाडौंको एउटा अनाथालयले पनि नियमित आर्थिक सहयोग पाउँदै आएको छ। उनले नियमित सहयोग गर्ने संस्थामा धनकुटाको विश्रान्ति आश्रम र विराटनगरकै विराटेश्वर वृद्धाश्रम तथा पूर्वाञ्चल अनाथ आश्रम पनि पर्छन्।

समाजसेवामा खर्च भइरहेको रकम खुलाउन नचाहने गोयल सेवालाई मूल्यसँग तुलना गर्न नहुने बताउँछन्। उनका एक कर्मचारीको अनुमानमा, गोयलले १० वर्षयता वार्षिक रु.२० लाख हाराहारीको दान गरिरहेका छन्। उनले आफ्नो कार्यालयका सात कर्मचारीका छोराछोरीलाई निजी विद्यालयमा पढाएका छन्। तीमध्ये एक जना अहिले लण्डनमा छन्। उसले लण्डन घुम्न बोलाउँदा आफू हर्षविभोर भएको गोयलले बताए। समाजसेवा गर्न आफूलाई कमाएकै धनले पुग्ने बताउँदै गोयलले भने, “पैसाकै कारण विवाह हुन नपाएका जोडीहरू तयार भए, एकै पटक विवाह गराइदिने इच्छा छ, बरु दाइजो पनि म नै दिनेथिएँ।”


देवकिशनको देन

मुन्दडा गु्रप र देवेनरा गु्रपका अध्यक्ष देवकिशन मुन्दडा (७२) कुनै वला विराटनगरमा गोल्छा अर्गनाइजेशनका कर्मचारी थिए। आज आफैं विराटनगरका प्रतिष्ठित उद्योगी–व्यवसायी बनेका उनी समाजसेवामा पनि उत्तिकै अग्रसर छन्। आफूसहित भाइहरू वेनीगोपाल, नन्दकिशोर र राजेन्द्र (देवेनरा) को नामबाट विराटनगरमा व्यावसायिक संस्था स्थापना गरेर सफल हुँदै गएपछि मुन्दडाले कटहरीको बाबा जुट मिल किने। त्योसँगै कटहरीको विद्यालयमा एउटा कोठा र निखिल ज्योति योग आश्रममा ७० जना अट्ने हल बनाइदिए। त्यो नै मुन्दडाको समाजसेवाको शुरुआत थियो।

उनी र रामेश्वरलाल अग्रवालले कोशी अञ्चल अस्पतालमा ५० बेडको भवन बनाए भने विशाल गु्रपसँग मिलेर विराट बहिरा माविमा दुईतले छात्रावास बनाइदिए। त्यस्तै, तुलसीराम अग्रवालसँग मिलेर कटहरीमा धर्मशाला र सामुदायिक भवन बनाएका छन्। मुन्दडाले विराटनगरका अतिथि सदन, मारवाडी सेवा सदन, गौशाला, अनाथलय, वृद्धाश्रम र रंगेलीको जानकी धर्मशालादेखि काठमाडौंको पशुपति क्षेत्र विकास कोषसम्मलाई आर्थिक सहयोग गरेका छन्। “यति उत्ति भन्ने छैन, यहाँ कमाएको यहीं दान गर्छु”, उनी भन्छन्, “यसमा मलाई खुशी र सन्तोष छ।”


बदलिंदो दान दर्शन

डा. डिल्लीराम दाहाल

नेपालमा दान–दातव्यका शैली दुई प्रकारका छन्। एकथरी मानिस पूरै निस्वार्थभावले दान गर्छन्। उनीहरू दानबापत कुनै किसिमको फाइदा खोज्दैनन्। कोहीकोही त ठूलो दान गरेर नाम गोप्य राख्न/रहन चाहन्छन्। अर्काथरी छन्, जो आफ्नो दानको प्रचार–प्रसार चाहन्छन्, केही स्वार्थपूर्तिका निम्ति आफ्नो धनमाल अरूलाई सुम्पिन्छन्। जुन मनसायले गरे पनि दान आफैंमा राम्रो हो। बाहिरबाट हेर्दा दान दिए जस्तो गरेर आफ्ना अलग्गै 'मिसन' पूरा गर्नेहरूप्रति चाहिं समाज सचेत हुनुपर्छ।

विश्वमा प्रचलित सबै धर्मले पुण्य प्राप्तिका लागि दान गर्न प्रेरित गर्छन्। मुसलमानहरू आर्जनको कम्तीमा ६ प्रतिशत दान–दातव्यमा खर्च गर्नुपर्छ भन्ने विश्वास राख्छन्। मारवाडी समाजमा पनि दानको मजबूत परम्परा छ। हिन्दू धर्मले दान दिए स्वर्ग पुगिन्छ, वैतरणी पार गरिन्छ, अर्को जन्ममा सुख पाइन्छ जस्ता परिभाषा दिएको छ। पुराणहरूमा केही ऋषिमुनिले आफ्नो शरीरै दान दिएको कुरा उल्लेख छन्। आज हामीकहाँ आँखा, मिर्गाैला आदि अंगदान दिने चलन विस्तारित भइरहेको छ।

अहिले दान–दातव्यको दर्शन फेरिएको छ। हिजोका दिनमा दानका लागि बाहुन वा पुजारी सुयोग्य पात्र हुन्थे। पुराण र मन्दिरका लागि सक्दो खर्च गरिन्थ्यो। अहिले विद्यालय, अस्पताल र गरीब–दुःखीलाई दान दिनुपर्छ भन्ने मान्यता स्थापित हुँदैछ। युवा पुस्ताले कर्मकाण्डीय दानलाई भन्दा समाजसेवा भावको दानलाई प्रश्रय दिइरहेको छ। विद्यालय, धर्मशाला, पानीका धारा, अस्पताल आदि बनाइदिने कामबाट दाताको 'सोसल क्यापिटल' उच्च हुन्छ।

१२ वैशाखको महाभूकम्पपछि धेरैले पीडितहरूलाई खाद्यान्न दिनेदेखि घर–टहरा बनाउनसम्म सघाए। ठूलो धनराशि खर्च नगरे पनि ती कार्यमा सहभागी दाताहरूलाई आत्मसन्तुष्टि मिलेको हुनुपर्छ। यसले देखाउँछ– आपसी सहकार्यमा पनि दान–दातव्यको उच्च विन्दु फेला पर्छ। यति हुँदाहुँदै पनि नेपालमा अझै वास्तविक दानको चलन झाङ्गिएको छैन। हामी पेटी दानमै सीमित छौं। हो, तराई–मधेशमा विद्यालयलाई जग्गा दिने, अस्पताल बनाउनेमा ठूल्ठूला दाताहरू देखिएका छन्, तर समग्र देशमा गरीब–दुःखीको स्तरोन्नतिमा सघाउने, आपत् परेकालाई उद्धार गर्ने जस्ता 'सबस्ट्यान्सियल' दानको परम्परा बसेको छैन।

धर्ममा अटुट विश्वास राख्नेको संख्या ज्यादा भएकाले कर्मकाण्डीय दानको स्थान ठूलो भयो। पुराण लगाउनु, लाखबत्ती बाल्नु, मन्दिर बनाउनु वा पुजारीलाई भेटी दिनुमा धेरैले दानको महत्व देखिरहेका छन्। समाजशास्त्री ग्लोरिया रायजाले 'पोइजन इन द गिफ्ट' नामक आफ्नो पुस्तकमा 'बाहुनहरूले दानको नाममा जजमानको पाप (विष) बोकेर लैजान्छन्' भन्ने लेखेकी छन्। अर्थात्, कर्मकाण्डीय दानबाट समाज त टाढाको कुरा, स्वयम् दाता र पण्डितको पनि वास्तविक हित भइरहेको हुँदैन।

धर्मभीरुहरू दान नगरे भोलि नर्क गइन्छ भन्ने डरले पनि केही दान गरिरहेका हुन्छन्। कतिपय व्यापारी व्यापारमा गर्ने घोटालालाई पनि पुण्यमा बदल्न मन्दिर धाई–धाई दान गरिरहेका हुन्छन्। कोही दानबाट सामाजिक स्वीकार्यता र मान किन्न दान–दातव्यमा जुट्छन्। त्यस्ता 'दानी'हरूको नाम पत्रपत्रिकामा ज्यादा आउँछ।

दान–दातव्यको दुनियाँमा कोही असफल या अर्धदानी पनि हुँदा रहेछन्। जस्तो, म आफैंले आमाको नाममा रु.१ लाखको 'गंगादेवी दाहाल स्मृति कोष' खडा गरेको थिएँ। कोषबाट आउने वार्षिक १४ हजार व्याज झापाको शान्ति आदर्श माविका चार जना दलित वा गरीब छात्रछात्राको पठनपाठनमा लगाउने मेसो मिलाएको थिएँ। तर, विद्यालयले कस्ता, कुन विद्यार्थीलाई कसरी रकम बाँडफाँड गरिंदैछ, गरियो भनेर जानकारी नदिएपछि मैले कोष बन्द गर्नुपर्‍यो।

(दाहाल, समाजशास्त्री हुन्।)


कर्पोरेट दान

संसारका धनाढ्यहरूले आफ्नो सम्पत्तिको ठूलो हिस्सा दान र सेवामा लगाएका छन्। अमेरिकाका वारेन बफेटले गत वर्ष पनि बिल मेलिण्डा गेट्स फाउण्डेशनलाई रु.२९ खर्ब ८ अर्ब दान दिए। माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स र उनकी श्रीमती मेलिण्डाले १६ वर्षअघि फाउण्डेशन स्थापना गर्दा ९० अर्ब डलर लगाएका थिए। अर्का अमेरिकी जर्ज सोरसले रु.१६ खर्ब दानबाट ओपन सोसाइटी फाउण्डेशन स्थापना गरेर संसारभर सामाजिक काम गरिरहेका छन्।

नेपाली धनाढ्यहरूले पनि आ–आफ्नो कम्पनीको कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी फण्ड (सीएसआर) मार्फत समाजसेवा गर्दै आएका छन्। चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन, ज्योति समूह, खेतान ग्रुप, बुद्ध एअर लगायतका औद्योगिक–व्यावसायिक घरानाहरू यसमा अगाडि छन्। गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालमा थुप्रै सेवामूलक काम गरिरहेका छन्। त्यस्तै, अष्ट्रेलियाका नेपाली धनाढ्य शेष घले र उनकी श्रीमती जमुना गुरुङले नेपालको शिक्षा–स्वास्थ्य क्षेत्रको लागि रु.१ अर्बको कोष खडा गरेका छन्।

comments powered by Disqus

रमझम