अटिज्मको अड्को

Share:
  
- डा. सुमनराज ताम्राकार
बच्चालाई बोलाउँदा हेर्दैन, अरूसँग खेल्दैन र उमेर अनुसारको व्यवहार देखाउँदैन भने अटिज्म भएको हुनसक्छ।

मस्तिष्कभित्रको स्नायु विकासको गडबडीको उपज हो– अटिज्म। यो समस्या भएको बच्चा घुलमिल र अन्तरक्रियाबाट अलग रहन्छ। उसको रुचि सीमित खालको हुन्छ र एकै किसिमको काम दोहोर्‍याइरहन्छ। स्नायुकोषको संरचना र संजालको व्यवस्थापनमा असर पुगेर शरीरका विभिन्न भागबाट मस्तिष्कसम्म आएका सूचना परिष्कृत गर्न नसक्दा यो अवस्था सिर्जना हुन्छ।

स्वीस मनोरोग विशेषज्ञ युजेन ब्ल्युलरले सन् १९१० मा 'अटिज्म' भनेर यो समस्याको नामकरण गरेका थिए। त्यसको तीन दशकपछि जोन हप्किन्स अस्पतालका लियो केनरले अटिज्म समस्या भएका बच्चाहरूको अध्ययन गरेर लक्षणहरू प्रचारमा ल्याए। सन् ८० को दशकपछि अटिज्म पहिचान गर्ने तौरतरीका तथा सजगतामा ठूलो प्रगति भएको मानिन्छ। तर, नेपालमा यसबारे गर्नुपर्ने काम धेरै छ। नेपालमा अटिज्म भएको जनसंख्या करीब तीन लाख रहेको अनुमान गरिए पनि केवल ५०० बालबालिकाका परिवार मात्र सम्पर्कमा आएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर एक प्रतिशत बालबालिकामा अटिज्म समस्या छ। समयमै अटिज्म पहिचान नहुँदा बालबालिकाले अनाहकमा यातना र अभिभावकले तनाव झेलिराख्नुपरेको छ। प्रायः अभिभावकले बच्चा दुई वर्षको हुँदासम्म अटिज्मको भेउ नै पाउँदैनन्, जबकि लक्षणहरू ६ महीनादेखि दुई–तीन वर्षसम्म देखापर्छ।

कारण र लक्षण

स्नायुतन्तु धेरै भएर, तन्तुहरू असामान्य तवरले जोडिएर, एक ठाउँबाट अर्कोमा सरेर, स्नायुको काम अनियन्त्रित भएर अटिज्म समस्या उत्पन्न हुन्छ। त्यसबाहेक वंशाणुगत, गर्भावस्थाको ८ हप्तासम्म गलत औषधि सेवन, कतिपय संक्रामक रोग, कीटनाशक औषधि, रङरोगन र पेट्रोलियम पदार्थमा मिसाइने केमिकलको प्रभाव, तनावग्रस्त गर्भावस्था र कतिपय भ्याक्सिनले पनि अटिज्म हुन सक्छ।

अटिज्म भएका बालबालिकाले कसैसँग आँखा नजुधाउने, नमुस्कुराउने, बोलाउँदा प्रतिक्रिया नजनाउने, एक्लै वा नजिकको नातेदारसँग मात्र टाँसिएर बस्न रुचाउने हुन्छ। जन्मेको ६ महीनादेखि एक वर्षमै यस्तो स्वभाव देखिन थाल्छ। अटिज्म प्रभावितमध्ये एकतिहाइदेखि आधासम्म बालबालिका शब्द उच्चारण गर्न नसक्ने हुनाले उनीहरूको क्रियाकलाप र संचारमा नकारात्मक असर पुगिराखेको हुन्छ। उनीहरू संचार गरेर साथी बनाउन सक्तैनन्। केही माग्दैनन्, पिरोल्दैनन्, अनुभव साट्दैनन् र अरूको नक्कल गर्दैनन्। बरु, त्यही शब्द दोहोर्‍याइराख्छन्। औंलाले कुनै वस्तु देखाउँदा वस्तु नहेरी औंलातर्फ हेर्छन्।

अटिज्म भएका बालबालिका एकै किसिमले हात ओल्टाईपल्टाई गरिराख्छन्, अर्थ नलाग्ने गरी कराइराख्छन्। साथै, टाउको घुमाउने, ठोकाउने गरिराख्छन्। खेलौनाहरू एकमाथि अर्को चाङ मिलाएर राख्छन्। टीभीमा सधैं एउटै च्यानल वा कार्यक्रम हेर्न खोज्छन्। कतिपयले सिसाकलम वा अन्य तीखो चीजबाट आफैं वा अरूलाई घोच्ने, हातले चिमोट्ने वा टोक्ने स्वभाव देखाउँछन्। तीमध्ये कसै कसैमा विलक्षण प्रतिभा हुन्छ।

अटिज्म भएका प्रतिभाशाली बालबालिका आफूलाई ठूलो र महत्वको ठान्छन्। अटिज्मले मांसपेशी सबल हुन दिंदैन। अटिज्म प्रभावितमध्ये तीन चौथाइमा असामान्य तवरको खानेबानी हुन्छ, तर उनीहरू खानेकुरा छान्न सक्तैनन्।

स्त्रि्कनिङ र उपचार

आफ्ना बालबच्चामा माथि उल्लिखितमध्ये कुनै लक्षण देखिने बित्तिकै जाँच गराउनुपर्छ। 'जर्नल अफ अटिज्म एण्ड डेभेलपमेन्टल डिसअर्डर्स' का अनुसार, १२ महीनासम्म बोली नफुटे, कुनै अर्थपूर्ण हाउभाउ (औंलाले देखाउने, हात हल्लाउने, बाईबाई गर्ने) गर्न नसके वा १६ महीनासम्म एक शब्द उच्चारण गर्न नसके बच्चामा अटिज्म स्त्रि्कनिङ गराउनुपर्छ। त्यस्तै, २४ महीनासम्म अर्थपूर्ण दुई शब्द भन्न नसके, कसैको नक्कल गरेर शब्द नदोहोर्‍याए वा सामाजिक क्रियाकलाप पटक्कै गर्न नजानेको अवस्थामा पनि स्त्रि्कनिङ आवश्यक हुन्छ। अमेरिका, जापान जस्ता विकसित मुलुकहरूमा १८ देखि २४ महीनाभित्रका सबै बालबालिकामा अटिज्म स्त्रि्कनिङ गर्ने सरकारी निर्देशिका छ। हामीकहाँ त्यस्तो व्यवस्था नभएकोले बाबुआमा आफैं सचेत भएर अग्रसर हुनुपर्छ।

अटिज्म समस्याको निदान अभिभावकसँगको कुराकानी, बच्चाको संवेगात्मक तथा व्यवहार अवलोकन वा अन्तरक्रियाबाट खोजिन्छ। अटिज्मको निदानमा पहिले बालरोग विशेषज्ञ र पछि विशेषज्ञको सहयोग लिनुपर्छ। यो समस्याको पूर्ण उपचार छैन। कतिपय प्रतिवेदनहरूमा अटिज्म पूर्णरूपमा निको भएको पनि उल्लेख छ, तर ती नगण्य अपवाद मात्र हुन्। अटिज्म भएको बालबालिकाको अभाव कम गर्नु र पारिवारिक तनाव घटाइनु राम्रो उपचारविधि हो। सबैलाई एकैखाले उपचार उपयुक्त नहुने भएकोले बच्चापिच्छे फरक विधि अपनाउनुपर्छ।

अटिज्मको उपचारमा छोटो समयको लागि मानसिक औषधि आवश्यक परे पनि शिक्षा र तालीम नै मुख्य हो भने परिवार र शिक्षणविधि मुख्य स्रोतसाधन। उपचारको मुख्य उद्देश्य चाहिं आफ्नो हेरचाह आफैं गर्ने, सामाजिक–व्यावसायिक र आत्मनिर्भर बन्ने हो। असामान्य तथा हानि पुग्ने व्यवहार नगर्ने बनाउनुपर्दछ। अटिज्म भएका बालबालिकाका लागि यस्तो विशेष व्यावहारिक शिक्षा (उपचार) सकेसम्म चाँडो शुरू गर्नुपर्छ।

शुरूमै व्यावहारिक र संवेगात्मक अन्तरक्रिया गराउन सक्दा अटिज्म प्रभावित बालबालिकालाई सामान्य हुन मद्दत पुग्छ।

comments powered by Disqus

रमझम