हलुका, तुरुन्तै नफुट्ने, तुलनात्मक रुपमा सस्तो र प्रयोगमा सजिलो हुने भए पनि प्लाष्टिकको प्रयोग घटाउनुका विकल्प नभएको काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग प्रमुख भैरव बोगटी बताउँछन्। “सड्न, गल्न हजारौं वर्ष लाग्ने र जलाउँदा प्रदूषण निम्त्याउने भएकाले प्लाष्टिकले वातावरण र प्रयोगकर्ताको स्वास्थ्यमा ठूलो असर गर्छ”, उनी भन्छन्। बोगटी प्लाष्टिकको तत्काल प्रयोग पूर्ण रूपमा अन्त्य गर्न नसकिए पनि न्यूनीकरण सम्भव भएको बताउँछन्। उनी प्रयोगकर्ताले बजार जाँदा घरमै भएका कपडा वा कागजका झोला लैजाने बानी विकास गर्नुपर्ने बताउँछन्। महानगरपालिकाले वातावरण मन्त्रालयको पहलमा महिलालाई झोला बनाउने तालीम दिने तयारी गरिरहेको बताउँदै उनी यसपछि बजारमा प्लाष्टिकका झोला प्रयोगमा उल्लेख्य कमी आउने दाबी गर्छन्।
हुन त चुइङगमदेखि कम्प्युटर, कलम, मोबाइल फोन सबै प्लाष्टिकबाटै बनाइएको छ। त्यसैले प्लाष्टिकरहित जीवन कल्पना गर्नु अहिले कठिन छ। तर, आजैदेखि थालनी गर्ने हो भने असम्भव पनि छैन।
कतिपय प्लाष्टिकका बोतलको पुछारमा त्रिकोणभित्र १ देखि ७ लेखिएका हुन्छन्। ती 'रिसाइक्लिङ' नम्बर हुन्। यसले बोतल निर्माणमा प्रयोग गरिएका रसायनिक तत्वका साथै थुप्रै कुराबारे जानकारी दिन्छ। जस्तो, १ नम्बर लेखिएका बोतलमा सोडा र पानी राख्नु उपयुक्त हुन्छ, तर ती पुनःप्रयोगका लागि सही मानिंदैन। ३ नम्बरका प्लाष्टिकमा थालएट्स भन्ने तत्व हुने भएकाले यसको प्रयोग राम्रो मानिंदैन।
सजना बराल