२८ चैत २०७२ - ४ वैशाख २०७३ | 10-16 April 2016

यन्त्रवत्सलाको याचना

Share:
  
- गौरीबहादुर कार्की
९० सालको भूकम्पपछि मल्लकालीन संरचना बेवास्ता गरी बनाइएको यन्त्रवत्सलालाई अब पुरानै रुपमा फर्काइनुपर्छ।

त्रिवत्सला मन्दिर।

२०५८ सालतिरको यन्त्रवत्सला मन्दिर (रातो रंगको)।

सिद्धिलक्ष्मीको मन्दिर पछाडिको यन्त्रवत्सला मन्दिर २०७२ को भूकम्प अगाडि (रातो घेरामा)।

यन्त्रवत्सला, नृत्यवत्सला र सिद्धिवत्सला, विश्व सम्पदा सूचीमा समावेश भक्तपुर दरबार क्षेत्रका त्रि–वत्सला मन्दिर हुन्। तर, यी सबैको नियति उस्तै छ। पटक–पटकको भूकम्पले तिनै मन्दिर धरासायी बनाएको छ। काठमा बुट्टा काटे झै ढुङ्गामा बनाइएको बुट्टा कलाका कारण यी मन्दिरलाई स्थानीय भाषामा 'लोहँ देग' भनिन्छ।

कसैकसैले यन्त्रवत्सला १८९१ सालकै भूकम्पमा भत्किएको हो भनी तर्क गर्छन्। तर, बेलायती रेजिडेन्सीका सर्जन हेनरी एम्ब्रोस ओल्डफिल्डको १९१४ सालको सिद्धिवत्सला वरिपरिको चित्र र डा. गुस्ताभ ले बोनको १९४२ सालको तस्वीरमा यो मन्दिर सद्दे देखिन्छ। त्यसैले अनुमान गर्न सकिन्छ, मन्दिर १९९० सालकै भूकम्पमा भत्किएको हो।
सिद्धिवत्सला १७२९ सालमा राजा जगतप्रकाश मल्लले बनाएका थिए भने यन्त्रवत्सला उनका छोरा जितामित्र मल्लले १७५३ सालमा बनाए। यन्त्रवत्सलाभित्र उवेला रहेको सिद्धिलक्ष्मीको सुन्दर मूर्ति चोरी भइसकेको छ।

मन्दिरभित्रको यन्त्राकार वत्सला मूर्ति अगाडि शिलापत्र देखिन्छ। संस्कृतिविद् ओम धौभडेलका अनुसार शिलापत्रमा 'नेपाल सम्वत् ८१६ मा बुद्धि सपे्रका राजा जितामित्र मल्लले सिद्धिलक्ष्मी देवीको लागि मन्दिर बनाउनुको साथै सुवर्ण कलश स्थापना गरी ध्वजारोहण तथा सिद्धाग्निकोट्याहुति यज्ञ समेत गरेको' लेखिएको छ।

ओल्डफिल्डको चित्र (हे. अघिल्लो पृष्ठको पहिलो तस्वीर) मा बीचको घाँसपातले ढाकेको सिद्धिवत्सला मन्दिर हो। त्यसपछाडि देखिने मन्दिर नै यन्त्रवत्सला मन्दिर हो। शिखरशैलीको जस्तो देखिने मन्दिरको छानो र गजुर भने चारकुने देखिन्छ।

पश्चिम मोहडा, सबै मोहडामा पुरानो मन्दिरको ढुंगाको चौकोस यथारुपमा राखेर द्वारको स्थानमा ईंटाले टालिएको छ। ढुंगे चौकोसको दायाँ रहेको मूर्ति।

भूकम्पपछि छानो मर्मत गरिंदै।

तस्वीरको दायाँपट्टिको हरिशंकरको मन्दिर हो, १९९० सालको भूकम्पमा भत्किएको यो मन्दिर फेरि बनाइएन। (हे.. हिमाल ३० फागुन ६ चैत २०७२) बायाँतर्फको सानो शेषनारायण मन्दिर (शंकरनारायण) हो। १२ वैशाखको भूकम्पले क्षतिग्रस्त यो मन्दिरको भने जीर्णोद्धार भइरहेको छ।

शिखर शैलीमा रहेको यन्त्रवत्सला मन्दिर १९९० पछि अहिलेको आकारमा बनाइयो। नेपाल एकीकरणपछिको शाहकाल र राणाकालमा मल्लकालीन शैलीका मन्दिर बनाइएन। दक्ष कारीगरको अभावमा ९० सालको भूकम्पपछि भक्तपुरका केही मन्दिर पुनःनिर्माण नै गरिएन। गरिएकाको पनि संरचना परिवर्तित देखिन्छ। मल्लकालीन शैलीको दरबार परिसरकै बसन्तपुर दरबारको केही भाग भत्काएर धीर शमशेरले युरोपेली शैलीको लाल बैठक बनाएका थिए, जहाँ अहिले राष्ट्रिय कला संग्रहालय छ।

पहिले शिखर शैलीको अग्लो मन्दिर ९० सालपछि एकतलेमा सीमित भयो। संरचना बिग्रियो। यसपटकको भूकम्पले यन्त्रवत्सलामा फेरि क्षति पुग्यो। बनाउनु त पर्छ नै तर ९० सालपछिको जस्तो होइन, पुरानै मल्लकालीन शैलीको। त्यसो गरिए मात्र पुरातत्व संरक्षणको अर्थ हुनेछ।

comments powered by Disqus

रमझम