नेपाली कांग्रेसको नालीबेली

Share:
  
- दीपक अर्याल

पहिलो पटक २०६७ सालमा प्रकाशित 'नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरू' शीर्षकको पुस्तकको दोस्रो संस्करण २०७२ मा देखा परेको छ। पुस्तकले कांग्रेससँग सम्बन्धित दस्तावेजहरू एकीकृत गर्ने, नेपाली कांग्रेसभित्र निरन्तर दोहोरिने, सधैं देखा पर्ने वा आधिकारिक रूपमा प्रकाशित दस्तावेज बाहेकका नेता–कार्यकर्ताहरूका विचार, बहस तथा धारणालाई समेट्ने प्रयास गरेको छ। यसले फरक समयमा फरक पात्र तथा विचारका आधारमा कांग्रेसलाई बुझ्न सजिलो पारेको छ। यसका अतिरिक्त कुनै पनि पार्टी तथा संगठन 'सहमति र सहकार्य' को थलो मात्र होइन बरू प्रतिस्पर्धा र निषेधको राजनीति तथा बहस र विचारका असीमित श्रृंखलाहरूको व्यवस्थापन पनि हो भन्ने बुझ्न सघाउँछ।

पुस्तकले व्यक्ति, संस्था तथा यसका गतिविधिलाई फराकिलो ढङ्गले बुझ्न र विश्लेषण गर्न मिल्ने यथेष्ट सामग्री दिएको छ। पुस्तकका सम्पादकहरूले यस्ता सामग्रीको अध्ययनले नेपाली कांग्रेसको मूल नीति, कार्यक्रम वा संगठनका कैयौं विषयमा खुला छलफल हुने वा त्यस्तो बहसलाई निम्त्याउने र पार्टीलाई वैचारिक रूपमा अझ सक्रिय–सुदृढ बनाउने आशा गरेका छन्। २०४८ पछि कांग्रेस निरन्तर सत्तामा रहे पनि पार्टीलाई अत्यावश्यक पर्ने प्राज्ञिक गतिविधिका मामलामा कमजोर देखिएको कुरा स्वीकारिएको छ। प्राज्ञिक बहसका निम्ति पनि यस्ता सामग्री एकैठाउँ उपलब्ध हुन जरूरी रहेको सम्पादकहरुको विश्वास छ। यस अर्थमा संकलक वा सम्पादकहरूको चाहना अनुरूप नै पुस्तक तयार भएको छ। पुस्तकमा समावेश प्रदीप गिरिको भूमिकाभित्र अप्रत्यक्ष देखिने पार्टीभित्रकै खास समूहको समर्थन वा विरोधको राजनीतिलाई छाड्ने हो भने यो नेपाली कांग्रेसभित्र देखा परेका सैद्धान्तिक, राजनीतिक, वैचारिक तथा व्यवस्थापकीय गतिविधि र उतारचढावदेखि विभाजनसम्मको परिस्थितिमाझ पनि आफ्नो छाप छोड्न सफल इतिहास बुझ्ने सबभन्दा छोटो र सरल लेखनी हो।

पुस्तक नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरू

संकलन तथा सम्पादन गगन थापा, प्रताप पौडेल, शंकर तिवारी, कृष्ण रिजाल

प्रकाशक पब्लिक पोलिसी पाठशाला

पृष्ठ ९४६+५८,

मूल्य रु.१२५०

सन् १९४६ मा बीपी कोइरालाबाट पार्टी निर्माणका लागि गरिएको आह्वानदेखि नेपाली राष्ट्रिय कांग्रेस, नेपाल प्रजातन्त्र कांग्रेस र एकता महाधिवेशनपछि गठित नेपाली कांग्रेसदेखि संविधानसभा निर्वाचन २०७० सालसम्म आइपुग्दा पार्टीका तर्फबाट जारी चुनावी घोषणापत्रहरुको संकलनले समग्र नेपाली कांग्रेस, यसका गतिविधि तथा त्यससँग जोडिएर आउने राजनीतिक घटनाक्रम बुझ्ने पर्याप्त सामग्री उपलब्ध गराएको छ। यसभित्र समावेश नभएका नेतृत्व र दस्तावेजका विषयमा सम्पादक मण्डल सचेत देखिएकाले अपुरा दस्तावेजहरू अर्को संस्करणमा थपिने आशा गर्न सकिन्छ। वेदानन्द झा वा के.आई. सिंहलाई मात्र होइन आगामी संस्करणमा कस्ता, कसका र के–के सामग्री यसभित्र समावेश गर्ने वा नगर्ने, त्यसको लक्ष्मणरेखा के हुने भन्ने अप्ठ्यारो भने सम्पादक मण्डललाई पर्ने सम्भावना देखिन्छ। मातृकाप्रसाद कोइराला नेतृत्वको सरकार र पार्टीबीच देखिएको विवादका क्रममा आदान–प्रदान भएका स्पष्टीकरण तथा कारबाहीका दस्तावेज, महामन्त्रीका हैसियतले सूर्यप्रसाद उपाध्यायद्वारा २०१५ सालमा वितरित 'क्रियाशील सदस्य साथीलाई चिठ्ठी', २०५० माघ २५ मा काठमाडौं क्षेत्र नं १ मा भएको उपनिर्वाचनका क्रममा प्रधानमन्त्रीका हैसियतले गिरिजाप्रसाद कोइरालाले व्यक्त गरेका विचारहरू यो पुस्तकमा परेका छैनन्।

नेपाली कांग्रेसका समर्थक वा कार्यकर्ताका हिसाबले यो पुस्तक पढ्दा वा बुझ्दा कुनै समस्या देखिंदैन, तर विषयसूचीमा 'संसद्को २०औं अधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको ऐतिहासिक घोषणा' भनिएको सामग्री पृ. ५७० पुग्दा देउवाले 'सामाजिक परिवर्तनका लागि गर्नुभएको युगान्तकारी' घोषणाका रूपमा कसरी परिभाषित हुन पुग्यो भन्ने प्रश्नको उत्तर भेटिंदैन। देउवाले गरेको त्यो घोषणा मात्र 'युगान्तकारी' र 'ऐतिहासिक' कसरी बन्न पुग्यो भन्ने कुरा बुझाउने प्रयास गरिएको छैन, पूरै पुस्तकमा। यसका अतिरिक्त पुस्तकभित्र समावेश पाठ्यसामग्रीलाई यसको मूल स्रोतसँग राखेर दाँज्दा भने समस्या देखा पर्छ। पुस्तकमा समावेश भएका पाठ्यसामग्रीको प्राथमिक वा मूल स्रोत नभेटेर हुन सक्छ, धेरै ठाउँमा अन्य पुस्तकमा प्रकाशित भइसकेका सामग्रीलाई पुनः साभार गरिएको छ। अझ्ा कतिपय सामग्री त मूल स्रोत, साभार गरिएको दोस्रो स्रोत र यस पुस्तकमा देखा परेको तेस्रो पाठमा फरक–फरक भेटिन्छन्। कतिपय दस्तावेज सम्पादन नै गरेको भेटिन्छ, जुन पहिले प्रकाशित मूल स्रोत तथा साभार गरिएका सामग्री भन्दा भिन्न छन्। जस्तो, नेपाली कांग्रेसको चुनाव घोषणापत्र २०१५ (१९५९) (पृ.१३०) पब्लिक पोलिसी पाठशालाको संग्रहबाट लिइएको छ जुन यसको मूल स्रोतभन्दा भिन्न छ। सम्पादन गरिएको वा मूल स्रोतमा चलेको विषयमा कुनै जानकारी उल्लेख गरिएको छैन।

प्रधानमन्त्रीको रूपमा बीपी कोइरालाले १४ जेठ २०१६ मा देशवासीका नाममा दिएको पहिलो सन्देश (पृ.१३८), नेपाली कांग्रेस सातौं महाधिवेशनमा सभापति बीपी कोइरालाको मन्तव्य (पृ.१४१), महासमितिमा प्रस्तुत महामन्त्रीहरूको रिपोर्ट (पृ.१२७) आदिमा पनि यस्तै समस्या देखिन्छ। कतिपय वाक्य संरचना तथा शब्दहरू मूल स्रोतका भन्दा भिन्नै छन्। नेपाली राष्ट्रिय कांग्रेसलाई श्री ३ मोहनद्वारा प्रतिबन्ध लगाइएको ३१ चैत २००४ को इश्तिहारमा 'नेपाल' र 'नेपाली' मा पनि फरक छ। असल नियतका साथ अझ्ा प्रष्ट पार्न चलाइएका सामग्रीहरूले ठूलो समस्या त निम्त्याउँदैन तर 'दस्तावेज वा अभिलेख' आफैंमा गहन र महत्वपूर्ण शब्द तथा स्रोत भएकाले यस्ता सामग्रीको उचित प्रयोग, उचित स्रोत प्रयोग गर्दा कतिपय घटनाक्रम वा ऐतिहासिक वर्णन 'चाइनिज ह्विस्पर' हुने खतराबाट जोगिन्थे।

कुल १५२ वटा सामग्री रहेको पुस्तकले नेपाली कांग्रेस र त्यसको सेरोफेरोको इतिहास मात्र बुझ्न सघाउँदैन, नेपालको प्रजातान्त्रिक आन्दोलन र यसका चुनौती, पार्टीभित्र देखा पर्ने आरोह–अवरोह, विवाद, बहस तथा विभिन्न आन्दोलनका उठान र बैठानहरूका विविध पाटोहरु पनि देखाउँछ। यसभित्र समेटिएका दस्तावेजहरू नेपाली कांग्रेस पार्टी वा यसका विचारधारा बाहेक नेपालमा फरक–फरक समयमा फरक–फरक समूह वा विचारधाराबाट प्रेरित ७० वर्षभन्दा लामो राजनीतिक गतिविधि अध्ययनका लागि पनि अनिवार्य स्रोत सामग्रीका रूपमा रहनेछन्। यसले कांग्रेसभित्रका फरक मतहरूलाई पनि समेट्ने प्रयास गरेको छ, जुन पार्टी राजनीति, संगठन, लामो संघर्ष तथा प्रजातान्त्रिक अभ्यासका क्रममा देखा पर्ने उतारचढाव, असन्तुष्टि र निराशाका प्रतिबिम्बका रूपमा पार्टी पंक्तिको वर्तमान नेतृत्वले पनि मनन् गर्नुपर्ने उदाहरण हुन सक्छ।

७० वर्षदेखि निरन्तर सत्ता वा प्रतिपक्षी राजनीतिको केन्द्रमा रहेको नेपाली कांग्रेसलाई अन्य समूहले भन्ने वा देख्ने गरेको अति 'क्रान्तिकारी' (२००७ सालको सेरोफेरो) वा 'यथास्थितिवादी' (पछिल्लो समय) का माझ आफ्ना राजनीतिक विचार, मान्यता, सिद्धान्त र गतिविधिलाई कसरी निरन्तरता दिइरह्यो र नेपाली राजनीतिको केन्द्रविन्दुमा स्थापित भइरह्यो भन्ने कुरा बुझ्ने सबैभन्दा महत्वपूर्ण स्रोत बनेको छ, यो पुस्तक।

comments powered by Disqus

रमझम