२८ चैत २०७२ - ४ वैशाख २०७३ | 10-16 April 2016

क्लिक किनमेल

Share:
  
- सजना बराल
इन्टरनेटको विकाससँगै किनमेलका लागि बजारका पसल–पसल होइन, अनलाइनतिर चहार्ने जमात बढ्दो छ।

बिक्रम राई
काठमाडौं, ठमेलस्थित हिमालयन लिजर इन्कका निर्देशक उपेन्द्र दुवाडीका लागि अचेल न्यूरोड, असन, शपिङ मल र डिपार्टमेन्टल स्टोर भन्नु नै www.shop.muncha.com, www.sastodeal.com, www.kaymu.com जस्ता वेबसाइट हुन्। किनभने उनी किनमेलका लागि बजार होइन, वेबसाइट चहार्छन्। त्यहींबाटै आवश्यक चिजबिज खरीद गर्छन्। “बजारमा भन्दा अनलाइनमै किन्दा सस्तो पर्छ”, उनी भन्छन्, “पसलेसँग जस्तो बार्गेनिङ पनि गर्नुपर्दैन, खर्च र समय पनि बँच्छ।”

उपत्यकामा अनलाइन शपिङमा छुट्टै पुस्ता तयार भइरहेको छ। यसो हुनुको कारण अनेक छन्। इन्टरनेट प्रविधिसँग हुर्किएकाहरू मात्र होइन, कामकाजमा व्यस्त रहनेहरू पनि अनलाइन बजारमा सक्रिय छन्। धूलो–धूवाँ, ट्राफिक जाम आदिले पनि कतिलाई घरमै सामान आइपुगोस् भन्ने लाग्छ। यस्ता अनलाइन ग्राहकका लागि मुन्चा, सस्तोडिल, केमू जस्तै www.nepbey.com,www.ejhola.com,www.harilo.com,www.hamrobazar.com,www.rojeko.com जस्ता दर्जनौं अनलाइन पसल खुलेका छन्।

२०५६ सालमै खुलेको मुन्चा डटकमका अनलाइन शपिङ निर्देशक निरञ्जन श्रेष्ठ इन्टरनेटबाटै सामान बिक्री हुन थालेपछि बित्रे्कता पनि आकर्षित हुन थालेको बताउँछन्। “सबै बिक्रेताले कुनै न कुनै रूपमा आफूलाई इन्टरनेटमा उपस्थित गराइरहेकै छन्”, उनी भन्छन्, “सामाजिक सञ्जालले पनि यो प्रयासमा सहयोग पुर्‍याइदिएको छ।”

टेलिभिजनमा फि्लपकार्ड, स्मार्ट फोन, ल्यापटप जस्ता प्रविधिको विज्ञापन र बढ्दो प्रयोगले पनि नेपाली समाजलाई शपिङ साइट वेबसाइट नभएर बजार भएको जानकारी दिइरहेको सस्तोडिल डटकमका प्रमुख कार्यकारी अधिकृत अमुन थापा बताउँछन्। तर, ई–बजारबारे ग्राहक र बिक्रेता सुसूचित भइसके पनि यसलाई सहजै अपनाउन समाज तयार भइनसकेको उनको धारणा छ। “सामान किन्नुअघि ओल्टाई–पल्टाई गरेर, नापेर, लगाएर, जोखेर मात्रै किन्ने हाम्रो बानी छ”, थापा भन्छन्, “अनलाइनमा सामानको अनुभव नै नगरी किन्नुपर्ने भएकाले पनि परिवर्तन ढिलो भइरहेको हो।”

मुन्चाका श्रेष्ठ भने अनलाइन कारोबारमा पहिलोपल्ट मात्रै संकोच देखिने बताउँछन्। “रोजेको सामान घरमै आइपुगेपछि ग्राहक त्यसै दंग पर्छन्”, उनी भन्छन्, “तर, कतिपय संस्थाले वेबसाइटमा राखेभन्दा भिन्न वा नक्कली सामान पुर्‍याइदिने गरेकाले वेलावेला विश्वसनीयतामै शंका उत्पन्न गराएको छ।”

'विन्डो शपिङ' कै चरणमा

ठमेल डटकमकी चीफ अपरेटिङ अफिसर सुशीला जोशी यतिवेला हामी भारतले अनलाइन शपिङ सेवा शुरु गर्दाताकाकै अवस्थामा रहेको बताउँछिन्। “अनलाइन शपिङ संस्कार बन्न अझै केही वर्ष लाग्छ”, उनी भन्छिन्। २०५५ सालमै खोलिएको ठमेल डटकम र मुन्चा डटकमले विदेशमा बस्ने नेपालीलाई उपहार पठाउन सेवा शुरु गरेका थिए। अहिले यिनै साइट ई–डिपार्टमेन्ट स्टोरमा परिणत भइसकेका छन्।

इन्टरनेट पहुँच 'डायल–अप' देखि थ्रीजीसम्म आइपुग्दा अनलाइन–शपिङप्रतिको दृष्टिकोण पनि क्रमशः फराकिलो हुँदै आएको सुशीलाको अनुभव छ। भन्छिन्, “पहिले केक, बुके र उपहार दिन मिल्ने सामान खरीद–बिक्री हुन्थ्यो भने अहिले विद्युतीय सामान, लुगा र ग्याजेट्सप्रति धेरैको चासो छ।”

अनलाइन–शपिङ साइट वस्तुको मूल्य थाहा पाउने माध्यम पनि बनिरहेको छ। “वेबसाइटमा सामानको भाउ बुझेर किनमेल चाहिं अफलाइनमै गर्ने चलन पनि छ”, मुन्चाका श्रेष्ठ भन्छन्, “विन्डो शपिङको यो चरणपछि हामी अनलाइन शपिङको असली प्रणाली अपनाउन थाल्नेछौं।”

सस्तोडिलका थापा भने अहिलेका विन्डो शपर्स (भाउ हेर्नेहरू) नै भोलिका ग्राहक भएकाले अनलाइन–मार्केटको भविष्य सुखद् हुनेमा निश्चिन्त छन्। नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या अहिले करीब एक करोड रहेको र भोलिका दिनमा यही संख्या अनलाइन शपिङका ग्राहक बन्ने उनको विश्वास छ।

अनलाइन शपिङका आफ्नै चुनौती पनि छन्। यीमध्ये अनलाइन–बजार व्यवस्थापन, रकम भुक्तानी प्रणाली र नक्शांकनमा सुधार मुख्य रहेको भाटभटेनी अनलाइनका चीफ अपरेटिङ अफिसर शिरीषरत्न तुलाधर बताउँछन्। “अनलाइन बजार व्यवस्थापन गर्न नीति–नियम बनाउने सही वेला हो यो”, भाटभटेनी अनलाइनका तुलाधर भन्छन्।

अनलाइन बजारका कर, कपिराइट आदिबारे प्रष्ट नीति–नियमको पनि अभाव छ। अनलाइनबाट देशी–विदेशी पुस्तक बिक्री गर्दै आएको 'बुकवर्म' का निरज भारी सुरक्षित अनलाइन भुक्तानी प्रणालीको विकास नभएसम्म अनलाइन बजार प्रभावकारी नहुने तर्क गर्छन्। “साइटको झन्झटिलो सदस्यता प्रक्रियाकै कारण 'क्यास अन डेलिभरी' को बाध्यता छ”, उनी भन्छन्, “सदस्यताको प्रक्रिया सहज बनाउन अत्यावश्यक छ।” सस्तोडिलका थापा ९५ प्रतिशत ग्राहकले 'क्यास अन डेलिभरी' प्रक्रिया अपनाइरहेको बताउँछन्।

comments powered by Disqus

रमझम