२८ चैत २०७२ - ४ वैशाख २०७३ | 10-16 April 2016

नयाँ ऊर्जा उँचाइ

Share:
  
- सजना बराल

१२ वैशाखको भूकम्पसँगै शुरु भएको २०७२ ले जमीनसँगै सिर्जनाको हरक्षेत्रमा कम्पन ल्याइदियो। त्यसबाटै तङ्ग्रिंदै शुरु मात्र गरेको सिर्जनशील मस्तिष्क मधेश आन्दोलन र भारतीय नाकाबन्दीले पुनः थलियो। नयाँ केही गर्ने भन्दा पुरानैलाई जोगाउने एकखाले 'पोष्ट ट्रमटिक स्ट्रेस डिस्अर्डर' बाट कला क्षेत्र प्रभावित देखियो। तर, वर्षको मैजारोमा सुस्ताएका स्रष्टा मूर्झाउन थालेका छन्। यसले वर्ष २०७३ साहित्य, चलचित्र, चित्रकला र संगीतमा साँच्चिकै 'नयाँ' बन्ने स्पष्ट झलक देखिन्छ।

आख्यानको वर्ष

भूकम्प र नाकाबन्दीका कारण २०७२ साल पुस्तक प्रकाशन र बिक्रीका लागि सुखद् नभएको फाइनप्रिन्ट बुक्सका अजित बराल बताउँछन्। “तर, २०७३ साहित्यमय हुने संकेत देखिएको छ”, बराल भन्छन्। यो वर्ष फाइनप्रिन्टले कम्तीमा १५ वटा पुस्तक छाप्ने टुंगो गरेको छ, जसमा उपन्यासहरूमा राज सरगमको 'छाउघर', हरिवंश आचार्यको 'हरिबहादुरः पढ्ने फिल्म', शिवानी सिंह थारुको 'काठमाडौंमा एक दिन', सुविन भट्टराईको 'मनसुन', अभिनेत्री विनिता बरालको 'जुइनो', सरस्वती प्रतीक्षाको उपन्यास पनि सूचीमा छन्। मदनकृष्ण श्रेष्ठको आत्मसंस्मरण, रवीन्द्र भट्टराईको संग्रह 'शेयरबाट करोडपति', अमर न्यौपानेका कविता पनि यसै वर्ष आउनेछन्। “२०७३ को वैशाखमै पाठकको हातमा पुग्ने नयनराज पाण्डेको उपन्यास 'सल्लीपिर' को कभरमा फोयल स्याम्पिङ विधि प्रयोग गरेका छौं”, बराल भन्छन्।

नेपालयले वर्षको स्वागत नारायण वाग्लेको तेस्रो उपन्यासबाट गर्ने भएको छ, जसको नाम भने टुगो लाग्नै बाँकी छ। नेपालयका किरणकृष्ण श्रेष्ठ थप पुस्तकहरूबारे कुराकानी भइरहे पनि टुगोमा पुगिनसकेको बताउँछन्। “नयाँ वर्षमा समीक्षा र हल्लाका पछि लागेर पाठक पढ्ने प्रचलन घट्दै जानेछ”, श्रेष्ठ भन्छन्। उनी आजसम्म बजारले पाठकलाई मार्गनिर्देश गरेको तर अब पाठकले बजार डोर्‍याउने दाबी गर्छन्। भन्छन्, “अब लेखक र प्रकाशकहरूलाई पाठकको रुचि समात्ने आवश्यकता पर्छ।”

सांग्रिला बुक्सले नयाँ वर्षमा शारदा शर्माको 'कम्प' र शरद पौडेलको 'तपन' उपन्यास निकाल्ने तय गरिसकेको छ। “राजेन्द्र पराजुलीको कथाका साथै अन्य महत्वपूर्ण कृतिको तयारी पनि गरिरहेका छौं”, सांग्रिलाका मणि शर्मा भन्छन्।

फिनिक्स बुक्सले चाहिं पारिजातका कृतिहरूको पुनःप्रकाशनदेखि नारायण ढकालको कथा, डा. चित्र वाग्लेको संस्मरण, स्वप्निल स्मृतिको कविता, राजन मुकारुङ र उपेन्द्र सुब्बाका उपन्यास, गायक रामकृष्ण ढकालको संस्मरण ल्याउने निधो गरेको छ।

बुकहिल पब्लिकेसनले पिटर जे. कार्थकको अङ्ग्रेजी उपन्याससँगै खगेन्द्र लामिछाने, गनेश, पौडेल, आश्विनी कोइराला र मिलन संग्रौलाको उपन्यास, कुमार नगरकोटीको कथा, विप्लव प्रतीकका कविता छाप्ने निर्क्योल गरेको छ। “२०७३ सालमा आख्यानकै बाहुल्य हुने देखिन्छ”, बुकहिलका भुपेन्द्र खड्का भन्छन्।

मौलिक कथा, नौलो प्रस्तुति

चलचित्र गाजलु
चलचित्र कलाकारको लगातारको दबाबका कारण २०७३ भित्रै परिचयपत्र लागू हुने सम्भावना बढेको छ। “परिचयपत्र लागू त हुन्छ नै”, लेखक/निर्देशक प्रकाश साय्मी भन्छन्, “तर, कार्ड कसलाई, कुन आधारमा दिने विषयमा विवाद हुनेछ।” उनका अनुसार, नयाँ सालमा चलचित्र क्षेत्रमा स्टिडिक्याम प्रयोगमा आउनेछ। “सिनेमाटोग्राफरको अन्तर्राष्ट्रिय छाता संगठनको सदस्यताको पहल पनि भइरहेको छ”, उनी भन्छन्।

रंगकर्मी/निर्देशक अनुप बराल २०७३ सालमा चलचित्रमा निर्माण र कथावाचन शैलीमा नौलो प्रयोग हुने बताउँछन्। हाल 'दोख' चलचित्रको छायांकनमा व्यस्त उनी अबका चलचित्रहरू मौलिक संस्कृतिमा आधारित हुने दाबी गर्छन्। वर्ष २०७३ बरालको 'दोख' सँगै नवीन सुब्बाको 'गुडबाई काठमाडौं', रामबाबु गुरुङको 'पुरानो डुंगा', विश्व बस्नेतको 'स्कूल', मुस्कान ढकालको 'समर लभ', दीपेन्द्र के. खनालको 'चपली हाइट–२', दीपाश्री निरौलाको 'छक्का पञ्जा', उत्कल थापाको 'जंगे', सुवर्ण थापाको 'बाटोमुनिको फूल २', अपिल विष्टको 'झुम्की', निलु डोल्मा शेर्पाको 'हाउ फन्नी', हेमराज बीसीको 'गाजलु' जस्ता चलचित्रका कारण विशेष बन्ने अपेक्षा गरिएको छ।

युवा कलाकारलाई लिएर 'मिडसमर नाइट्स सपना' नाटक निर्देशन गरेका रंगकर्मी सुनील पोखरेल २०७३ साल नव कलाकारले भरिपूर्ण हुने बताउँछन्। “काठमाडौंका पाँचै वटा नाटकघरले अभिनयको तालीम दिइरहेका छन्”, उनी भन्छन्, “त्यहाँको उत्पादनले रंगमञ्चलाई नयाँ ऊर्जा र उँचाइ दिनेछ।”

'जुनकिरी घुम्ती रंगमञ्च बस' सँगै मण्डला नाटक घरले 'तराई मोनोलग' प्रोजेक्ट थाल्ने भएको छ। “मधेशसँगको सम्बन्धलाई थप सुमधुर बनाउन हामी 'पर्फर्मेन्स आर्ट' को सहायता लिंदैछौं”, मण्डलाका निर्देशक राजन खतिवडा भन्छन्।

गायक दीप श्रेष्ठ २०७३ मा दुईवटा राष्ट्र भावका र केही युगल गीतको तयारी गरिरहेका छन्। नयाँ वर्षको शुरुआत नौलो पाराले गर्न लागेको बताउने उनी आगामी वर्ष सुगम संगीतको वर्ष हुनेमा आशावादी छन्। “३० चैतको मध्यरात म पुराना लोकगीत गाएर नयाँ वर्षको स्वागत गर्ने योजनामा छु”, उनी भन्छन्।

चलचित्र पुरानो डुङ्गा
नयाँ भवन, नयाँ तस्वीर

चित्रकलामा पनि यो वर्ष रंगीन हुनेछ। ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय प्रतिष्ठानले भारत, बाङ्लादेश, इजरायललगायत मुलुकसँग समझ्ादारीपत्रमा हस्ताक्षर गर्ने तयारीमा रहेको बताउँछिन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय चित्र वा शिल्पकला प्रदर्शनीका लागि आफूले पहल गरिरहेको भन्दै उनी २०७३ मा प्रतिष्ठान नयाँ भवनमा सर्ने योजनामा रहेको पनि बताउँछिन्।

२०७२ सालमा अन्तर्राष्ट्रिय फोटोग्राफी मेला, फोटो काठमाडौं आयोजना गरेको फोटो सर्कलले २०७३ मा नेपाली इतिहास र जीवनलाई तस्वीरमार्फत देखाउने भएको छ। फोटो काठमाडौंका निर्देशक भूषण शिल्पकार मेलालाई धरान लैजाने तयारी गरिरहेका छन्। “आम नेपालीको जीवनवृत्ति झ्ाल्किने करीब ५५ हजार स्टिल तस्वीरलाई डिजिटलाइज्ड गर्दैछौं”, उनी भन्छन्, “तीमध्येका केही तस्वीर समेटेर पुस्तक पनि निकाल्नेछौं।”

comments powered by Disqus

रमझम