२८ चैत २०७२ - ४ वैशाख २०७३ | 10-16 April 2016

संगीत–चक्षु

Share:
  

'कस्तो कस्तो दिन पनि आयो हरे जिन्दगीमा बाँच्नलाई आफैंलाई राख्नुपर्‍यो बन्धकीमा'

१८ चैतमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा यही गीतले प्रथम पुरस्कार जित्यो। सुवासचन्द्र ढुङ्गेलको शब्द र हरि लम्सालको संगीतमा रहेको यो गीतकी गायिका थिइन्, मेनुका पौडेल (१७)।

जलथल, झ्ाापाकी मेनुका दृष्टिविहीन हुन्। चार वर्षको उमेरमा दुर्गा उच्च माविको छात्रावासमा अध्ययन गर्दादेखि संगीत सिक्न थालेकी उनको सानैदेखिको धोको रेडियो नेपालमा गीत गाउनु थियो। “पुरस्कार नै जितेपछि धोको त पूरा भएको छ नै”, उनी भन्छिन्, “सँगै अब संगीतमा लागिरहने प्रेरणा पनि मिलेको छ।”

प्रतियोगितामा मेनुकाले २७० प्रतिस्पर्धीलाई पछि पारेकी थिइन्। विजयी उनले रु.२५ हजार र सम्मानपत्र प्राप्त गरिन्।

काठमाडौंस्थित सिर्जना फाइन आर्ट कलेजमा कक्षा ११ मा संगीत पढिरहेकी मेनुका अहिले विजयी गीत रेकर्डिङको तयारीमा छिन्। आधुनिक गीत र रागमा रुचि राख्ने उनको गायनमा मात्रै होइन, संगीत निर्देशनमा समेत चाख छ। “भविष्यमा गायनका सबै विधामा सक्रिय हुन्छु”, उनी भन्छिन्।

सविता


सजिदाको साहस

१९ वर्षको उमेरमा बुर्का खोलेर हिंड्न थालेकी घोराही–११ दाङकी सजिदा सिद्दिकी (३२) ले धर्म र परम्परा तोडेको आरोपमा अनेकौं आरोप खेप्नुपर्‍यो। तर, उनले हिम्मत हारिनन्। कारण, उनी मुसलमान महिलामा परिवर्तन देख्न चाहन्थिन्।

“त्यतिवेला खुला रुपमा सामाजिक क्षेत्रमा काम गर्ने मुसलमान महिला कोही थिएनन्”, सजिदा भन्छिन्, “हामीले पनि खुला रुपमा पढ्न र काम गर्न पाउनुपर्छ भनेर उतिवेलै आवाज उठाएकी हुँ।”

२०६० सालमा जिल्लामा सीप रोजगार तथा चेतनाका लागि सामाजिक संस्था (सिसा) स्थापना गरी मुसलमान महिला र बालबालिकाको अधिकारका लागि सक्रिय छिन्। उनको संस्था अहिले १५ जिल्लामा फैलिएको छ।

पछिल्ला वर्षहरुमा मुस्लिम महिला र बालिकाको अवस्थामा थोरै सुधार आए पनि थुप्रै विकृति बाँकी रहेको सजिदाको अनुभव छ। “यसका लागि परिवारमै चेतना चाहिन्छ, महिलाले पनि बाहिर केही गर्न सक्छु भन्ने आँट गर्नुपर्छ”, उनी भन्छिन्।

देविका घर्ती मगर

comments powered by Disqus

रमझम