नयाँ पुस्ताका चुनौती

Share:
  
- डा. सरोज धिताल

प्रिय समीर,

सुदूरपश्चिमका पहाडहरूमा छोटो समय बिताएर म भर्खरै फर्केको छु। त्यहाँहुन्जेल मनभित्र कतै न कतै दुखिरह्यो। हाम्रो देशको स्वास्थ्यसेवाको बेहालको साक्षी त हामी सबै छौं नै। तर विकट पहाडी गाउँमै बसेर नजिकबाट त्यसलाई हेर्दा हुने पीडाबोध चर्को हुन्छ। पत्याउँछौ तिमी? त्यहाँहुन्जेल मैले तिमीलाई सम्झिरहें, साथीहरूसँग तिम्रै कुरा गरिरहें। तिमीलाई सम्झ्नुको कारण हो– भिन्दाभिन्दै पुस्ताका हामी दुईबीच स्वास्थ्यको अवधारणा, स्वास्थ्यसेवा, स्वास्थ्यप्रणाली, सामाजिक दायित्व आदिबारे कुरा हुँदा जहिल्यै पीडाबोध गर्थ्यौं। नयाँ पुस्ताका डाक्टरहरूको सकारात्मक सोच, जीवनोन्मुख सम्भावना अनि सामाजिक उत्तरदायित्वबोधको नयाँ रूपलाई हेर्ने झयाल भएका छौ तिमी मेरोनिम्ति। र, म त्यो झयालबाट तिम्रो पुस्ताका असल डाक्टरहरूसँग संवाद गर्न लालायित छु।

'साइबर स्पेस'मा छरिएका विभिन्न सामाजिक सञ्जालमा तिम्रो अभिव्यक्तिहरू वा सामाजिक उत्तरदायित्वबोधले भरिएका तिम्रा सार्थक ब्लगहरू पढ्दा मलाई यस्तो लाग्छ– हामी बाँचेको चिसो यथार्थमा तिमीले आशाको सिरक बनेर मेरो हृदयलाई न्यानो दिइरहेका छौ। कुनै बेला यस्तो लाग्छ, यथार्थको कठोरतामा ठिहिर्‍याएर, जमेर निश्चल भएका मेरा सपनाहरू फेरि बौरिएर, पखेटा हालेर उड्नेछन्। त्यो पखेटा मैले पाएको तिम्रो पुस्ताबाट हो।

तस्वीर: बिलाश राई
तर, कुरुप यथार्थ र सुन्दर सम्भावनाको घामछायाँमा बाँचिरहँदा मलाई असाध्यै पीर पनि लाग्छ– कहीं तिमी र तिम्रो पुस्ताका अनगिन्ती असल डाक्टरहरूको सुन्दर भावना र त्यो सामाजिक उत्तरदायित्वबोधको क्षय त हुँदैन? मेरो युवा मित्र, मैले विगतमा त्यस्तो क्षय र स्खलनको पीडा भोगेको छु। अहिले पनि कुनै बेला यस्तो लाग्छ, म तुहिएका मेरा अनगिन्ती सुन्दर सपनाका लासहरू माथि बाँचिरहेको छु। त्यसैले भित्रैदेखि म कामना गरिरहेको छु– तिम्रो पुस्ताका असल मानिसहरूको कुनै पनि सुन्दर सपना नतुहियुन्!

झ्ट्ट हेर्दा तिम्रो पुस्ताका डाक्टरहरूलाई सजिलो भएजस्तो लाग्छ। हामी डाक्टर भएको बेला अहिलेको भन्दा धेरै कुरामा गाह्रो थियो। देशमा अहिले जति मेडिकल कलेजहरू थिएनन्। काम गर्नलाई सरकारी अस्पताल मात्र थिए। एकाध मिसन अस्पतालहरूमा थोरै मात्र नेपाली डाक्टर अटाउँथे। सरकारी अस्पतालमा काम गर्नु र कुनै औषधि पसलमा साइनबोर्ड टाँसेर 'प्राक्टिस' गर्नु अधिकांश डाक्टरको स्वाभाविक नियति हुन्थ्यो। उच्च शिक्षा र विशेषज्ञताका लागि पनि अहिलेजस्तो सम्भावनाहरू थिएनन्। स्मार्ट फोनमा सयौं किताब बोकेर हिंड्न सक्दैनथे त्यस बखतका युवा डाक्टरहरू। त्यो हेरी अहिलेका नयाँ डाक्टरहरूलाई अनगिन्ती सुविधा र सम्भावना प्राप्त छन्।

तर, गहिरिएर हेर्दा सत्यको अर्को पाटो पनि देखिन्छ– हाम्रो पुस्ताका युवा डाक्टरलाई भन्दा कतिपय कुरामा तिम्रो पुस्तालाई गाह्रो भएको छ। तिमीहरूले धेरै नयाँ चुनौतीको सामना गर्नु परिरहेको छ। देशका कुनाकन्दरामा अझ्ै पनि आधारभूत स्वास्थ्य सेवा पुगिसकेको छैन। अर्कातिर झ्न्–झ्न् सानो हुँदै गएको विश्वमा छौं हामी। संसारका कुन कुनामा के भइरहेको छ भन्ने कुराबाट अनभिज्ञ रहने स्थिति छैन। विज्ञानप्रविधिको यो दौडमा हामीले पनि दगुर्नु नै छ। नत्र झ्न् पछि परिन्छ।

अर्थात्, आधारभूत स्वास्थ्यसेवाको आवश्यकता समेत पूरा नभएको यो यथार्थमा टेकेर हामीले सोच्नु र काम गर्नुछ, प्रविधिका उपलब्धिमा हाम्रो हक सुरक्षित पार्नुछ। यो चुनौतीको सामना तिम्रो पुस्ताका डाक्टरहरूले जमेर गर्नुपर्ने भएको छ। गाह्रो छ यो काम। तर, जुन युगमा तिमी एउटा गरीब देशको डाक्टर बनेका छौ, तिमीले यो चुनौतीको सामना नगरी धरै छैन।

यो देशमा जन्मेका कारण वा अघिल्लो पुस्ताले जिम्मेवारीको थुप्रो छोडेका कारण मात्रै यसो भएको हैन। विज्ञानप्रविधिको विकास इतिहासको कुनै कालखण्डमा भन्दा अहिले तीव्र गतिमा भइरहेको छ। प्राप्त सीपहरू छिटो–छिटो पुराना हुँदा छन्। संसारको जुनसुकै देशको, जुनसुकै कुनाको कुनै पनि समाज यो दौडमा एकैछिन मात्र सुस्तायो भने दशकौं पछाडि पर्छ। त्यसबाट हामी अलग हुनसक्ने कुरै भएन। समीर, भावी पुस्ताको निम्ति जीवन आफ्नो भन्दा सजिलो बनाइदिने प्रयत्न गर्नु जुनसुकै पुस्ताका, जुनसुकै पेशाका मानिसको स्वधर्म हो। अस्वाभाविक परिस्थितिमा बाहेक कुनै न कुनै किसिमले यसो भइरहेकै पनि हुन्छ। तर हरेक नयाँ पुस्ताले सामना गर्नुपर्ने चुनौती भने झ्न्–झ्न् ठूलो हुँदै जाने रहेछ। र, अहिलेका चुनौतीहरूको सामना गर्न तिम्रो पुस्ताका डाक्टरहरू सक्षम छन् भन्नेमा म विश्वस्त छु।

हरेक पुस्ताका स्वास्थ्यकर्मी र नीतिनिर्माताहरू मानव स्वास्थ्यलाई कसरी बुझने भन्ने प्रश्नसँग जुझीरहेका छन्। मानव स्वास्थ्यलाई जीव विज्ञान र चिकित्सा विज्ञानमा उभिएर यान्त्रिक दृष्टिकोणले एउटा 'स्थिति'का रूपमा मात्र हेर्ने कि समग्र सामाजिक परिप्रेक्ष्यमा मानिस र जगतबीचको गतिशील सम्बन्धका स्वरुपमा बुझने भन्ने विवाद अहिलेको हैन। तिम्रो पुस्ता पनि यो बहसबाट अलग हुन सक्दैन। मलाई थाहा छ, यो प्रश्नको उत्तर तिमीले आफ्ना गतिविधि र अभिव्यक्तिबाट दिइसकेका छौ। तर समयले तिमीबाट शायद योभन्दा बढी कुरा माग गरिरहेको छ। ६/७ दशकअघि विश्व स्वास्थ्य संगठनले दिएको 'स्वास्थ्य'को परिभाषा अहिले असान्दर्भिक हुन थालिसकेको छ। यसबारेमा पनि गहन विमर्श आवश्यक भइसक्यो नि हैन?

समीर, धेरै छ कुरा गर्नु। धेरै छ काम गर्नु। अहिलेलाई भने यत्ति नै।

तिम्रा हरेक सुन्दर सपनाहरू साकार होउन् भन्ने कामनासहित।

comments powered by Disqus

रमझम