१९-२५ वैशाख २०७३ | 1-7 May 2016

डोल्पाका दृष्टि

Share:
  

बिक्रम राई
१८ फागुन मध्याह्न काठमाडौं, आरुबारीस्थित एउटा घरमा पुग्दा ईंट बिछ्याइएको आँगनमै थिन्ले लामा मस्त निदाइरहेका थिए। अमेरिकाको एकसाता लामो कोलाहल भोगेर थिन्ले भर्खरै देश आइपुगेका थिए। लाग्थ्यो, उनी मातृभूमिको आँगनमा हप्तौंको निद्रा पुर्‍याइरहेका छन्।
करीब एक घण्टापछि थिन्ले आफैं बिउँझिए। सेतै फुलेको दाह्री, ऊनीको टोपी, रातो टी–सर्ट र घाँटीमा माला। हलिउड चलचित्र क्याराभान कै नायक थिन्ले १६ वर्षपछि पनि उस्तै देखिन्थे। भर्खरै निद्राबाट बिउँझे पनि उनले तस्वीर खिचाउन 'फ्रेस' हुनु परेन। उनी विना श्रृंगार 'फोटोजेनिक' देखिन्थे। अमेरिका, यूरोप घुमे पनि गाउँको सादगी उनीसँगै थियो, कडा मिजास, सीधा र प्रष्ट बोली।

७५ वर्षीय उनै थिन्ले १२ वैशाखमा दुनैबाट सालदाङ जाँदैथिए। फोक्सुण्डो गाविसको छेप्कामा पुग्दा उनी सवार घोडालाई खच्चडले धकेलेर लडाउँदा थिन्लेको निधन भयो। चौंरी, घोडा र खच्चड चराउँदै जीवन बिताएका उनको मृत्यु पनि त्यसरी नै भयो।

ओस्कारमा मनोनीत एरिक भ्याली निर्देशित क्याराभान प्रदर्शन भएपछि सालदाङ–५, डोल्पाका थिन्लेलाई देश र विश्वले एकैपटक चिन्यो। रमाइलोका लागि काराभान मा खेलेका उनी थाहै नपाई 'सेलिब्रेटी' बने। नेपाली चलचित्र ईकु र नेपथ्यको सा कर्णाली गीतको म्युजिक भिडियोमा पनि खेले। उनी अभिनीत जापानी चलचित्र एभरेष्टः कमीगमी नो इटादकी प्रदर्शन हुनै बाँकी छ।

समाजकै 'हिरो'

१ चैत साँझ थिन्ले विकास माग्न बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए। कर्णाली क्षेत्रको विकासमा ध्यान नपुगेको भन्दै उनी नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गरायो। ओलीसँग दह्रो हात मिलाउँदै थिन्लेले भनेका थिए, “कर्णालीका जनता भोकभोकै मर्ने दिनको अन्त्य गर्नुपर्‍यो।”

थिन्ले पछिल्ला केही वर्षयता कान राम्ररी सुन्दैनथे। उनीसँग मोबाइल फोनमा कुराकानी गर्न पनि गाह्रो थियो। “मोबाइलबाटै कुरा गर्दा राम्ररी नसुन्ने भएकैले बालुवाटार जानुपर्‍यो”, थिन्लेले हिमाल सँग भनेका थिए।
फिल्मका मात्र होइन, थिन्ले समुदायका पनि 'हिरो' थिए। सालदाङ गाविसका पूर्व अध्यक्ष उनीसमक्ष गाउँले हरेक साना–ठूला समस्या लिएर पुग्थे। थिन्ले यसलाई सेवाको अवसरका रुपमा लिन्थे। “गाविस अध्यक्ष हुँदाको अनुभवले होला समाजको काम नगरे के नपुगे नपुगे जस्तो लाग्छ”, उनले भनेका थिए।

थिन्ले सामान्य पृष्ठभूमिका असाधारण चरित्र थिए। यसो नहुँदो हो त उनी आफ्नो गाउँ पछ्याउन स्वदेशी, विदेशी निर्देशकहरूलाई बाध्य पार्ने थिएनन्। उनले यस्तो नगर्दा हुन् त, डोल्पाको जीवन संसारले देख्न पाउने थिएन। १७ वैशाखमा काठमाडौंमा उनको अन्त्येष्टि गरिएको थियो।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम