१९-२५ वैशाख २०७३ | 1-7 May 2016

मासियो मसानेश्वर

Share:
  
- गौरीबहादुर कार्की
१९९० सालको भूकम्पमा भत्किएको मसानेश्वर महादेव मन्दिर बनाउन कसैलाई चासो छैन।

१२ वैशाखको भूकम्पमा भत्किएका सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माण तत्काल नभएकोमा सरकारको आलोचना भइरहेको छ। तर, सम्पदाप्रति सरकारी उदासीनता नयाँ होइन, १९९० सालको भूकम्पमा भत्किएको भक्तपुर दरबार क्षेत्रस्थित मसानेश्वर महादेवको मन्दिर अहिलेसम्म बनाइएकै छैन।

तस्वीर सौजन्यः गौरीबहादुर कार्की
राजा भूपतीन्द्र मल्लको सालिक पछाडि दायाँपट्टि नृत्यवत्सला मन्दिरको अलि अगाडिपट्टि दुई तला छानाको भाग देखिने मसानेश्वर महादेवको मन्दिर।

२०७२ को भूकम्प पहिलेको तवा सत्तल। यही सत्तलको बीचभागमा मसानेश्वर मन्दिर थियो।

भक्तपुर दरबार परिसरको पूर्व–दक्षिणमा तवा सत्तल छ। कलात्मक लामो पाटी रहेको यस सत्तललाई पहिले 'थाथु येता चपरी' पनि भनिन्थ्यो। तवा सत्तल दक्षिण मध्य भागमा मसानेश्वर मन्दिर थियो, जसको अवशेष मात्र बाँकी छ।

विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रमा रहेको यो मन्दिरलाई पूर्वेश्वर महादेव पनि भनिन्थ्यो। कारण, यो शिवलिङ्गको जलारी पूर्व फर्काइएको छ। शिवलिङ्गका पाँच मुख हुन्छन्, जसमा उत्तरतर्फको मुखलाई वामदेव भनिन्छ। उत्तरको मुख पूजा गर्दा बायाँ हातपट्टि जलारी पर्न आउँछ, जुन पूर्व फर्केको हुन्छ। दक्षिण फर्केर पूजा गरिने शिवरुप नै मसानेश्वर वा भष्मासुर हुन्। मसानमा बस्ने र भष्म गर्ने हुनाले नै यो शिवलाई भष्मासुर भनिएको हो। शिवबाहेक अन्य देवदेवीको दक्षिण फर्केर पूजा गरिंदैन।

शिवलिङ्गको जलारी वा भग उत्तरतिर फर्काएर मात्र शिवलिङ्गको स्थापना गरिन्छ। तर, यो शिवलिङ्ग पूर्व फर्किएको छ। त्यसो त भक्तपुरकै चोछें टोलमा पनि पूर्वतिर फर्केको अर्को शिवलिङ्ग छ भने काठमाडौंको विश्वज्योति सिनेमा हल पश्चिमपट्टि रहेको तमलेश्वर महादेवको जलारी दक्षिण फर्किएको छ।

भादगाउँवासीले विना कारण जलारीलाई पूर्व फर्काए होलान् भन्न पनि गाह्रो छ। तर, यसको स्पष्ट कारण भने खुलेको छैन।

पूर्वीय संस्कृतिमा उत्तर सिरान वर्जित छ। उत्तरी ध्र्रुवको चुम्बकीय असरका कारण उत्तर सिरान पार्नुहुँदैन भनिन्छ। राम्रो दक्षिण मानिन्छ।
त्यस्तै जलारीपट्टि घर बनाएमा अपशकुन हुने, पैसाको अभाव वा निःसन्तान हुने जनविश्वास पनि छ। शिवलिङ्गमा रहेका नागले आगोले भष्म गर्ने भयले पनि जलारी भएतर्फ घर नबनाउने मान्यता छ। त्यसैले भक्तपुर परिसरमा पशुपतिनाथ अर्थात् यक्षश्वरको मन्दिर बनाएपछि ढुंगे धाराको छेउमा पचपन्न झ्याले दरबार छेकिने गरी राजा भूपतीन्द्र मल्लले च्यासिलिन मण्डप बनाएको बताइन्छ। नत्र धाराको छेउ साँघुरो स्थानमा मण्डपको आवश्यकता नै थिएन। १९९० सालको भूकम्पमा भत्किएको मण्डपलाई तत्कालीन पश्चिम जर्मनी सरकारको सहयोगमा २०४९ सालमा पुनःनिर्माण गरियो।

रातो घेराको तलको भाग तवा सत्तलकै पूर्वी भाग हो, यसैको तल मसानेश्वर महादेवको मन्दिर थियो। भुईं तलामा सत्तल, माथिका तलामा घर र छानाको माथिल्लो भागमा मन्दिर भएकोलाई स्थानीय भाषामा फुचा भनिन्छ। तवा सत्तलको पूर्वी भागको माथि छानामा मन्दिर रहेको छ, जसलाई फुचा भनिन्छ।

अहिले अलपत्र मसानेश्वर शिवलिङ्ग ।

भूकम्पपछि बेवास्ता गरिएकै कारण मसानेश्वर मन्दिर र तवा सत्तलको दक्षिणतिरको भूमि अतिक्रमणमा पर्‍यो, अतिक्रमणकारीलाई सहजै उठाउन सम्भव छैन। अहिले सत्तलको दक्षिणतर्फको साँघुरो जमीनमा प्रस्तर शिवलिङ्ग देखिन्छ। मन्दिरको दक्षिणतिरको जग्गा भने अहिले पनि खालि नै छ। थोरै पहल गर्ने हो भने त्यही ठाउँमा मन्दिर पुनःनिर्माण गर्न सकिन्छ। सुनिंदैछ; यसपटकको भूकम्पमा भत्किएको तवा सत्तल बनाउन पुरातत्व विभाग कस्सिएको छ। तर, त्यहीं रहेको मसानेश्वर मन्दिर बनाउन किन कोही तयार छैन? सम्पदाप्रेमी भनिएका भक्तपुरवासी किन यो मन्दिर बिर्सिरहेका छन्? सम्झेर बनाइहाले आजै हो, नत्र मसानेश्वर तस्वीरमा मात्र सीमित हुनेछ।

comments powered by Disqus

रमझम