पहिलो घण्टी पानी लिन

Share:
  
p10a

विश्वभर खानेपानीको सङ्कट बढ्दो छ। विकसित देशहरू यसको दीर्घकालीन उपायको खोजीमा लागेका छन्भने नेपाल लगायतका विकासोन्मुख देशहरू तत्कालीन उपायमा अल्मलिएका छन्। उदयपुर जिल्लाको हर्देनी गाविसको हर्देनी माविलाई यसको उदाहरण मान्न सकिन्छ, जहाँ स्कूलको पहिलो घन्टी पानी लिन पँधेरो जाने कामका लागि छुट्याइएको छ, तर दीर्घकालीन उपायको खोजी गरिएको छैन। कक्षा १० की छात्रा पार्वती राउत भन्छिन्, “हरेक दिन पहिलो घण्टीमा हतार–हतार ओरालो र्झ्दै जर्किनमा कुवाको पानी लिएर फर्कंदा आधा घण्टा लाग्छ।”

जिल्लाको पश्चिमी पहाडमा पर्ने हर्देनी माविमा दुई घण्टा परको सोरुङ गाविसका समेत गरी ४३१ विद्यार्थी अध्ययनरत छन्। २०४५ सालदेखि संचालित यस विद्यालयमा पिउने र शौचालयमा प्रयोग गर्ने पानीका लागि ३० वटा जर्किनको व्यवस्था गरेको छ। प्रधानाध्यापक कृष्णप्रसाद रेग्मीले चार कक्षाभन्दा तलका विद्यार्थीलाई भने पानी लिन नपठाएको बताए। “पानीको गर्जो टार्ने यो बाहेक अर्को विकल्प छैन”, प्रअ रेग्मी भन्छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कार्कीले विद्यालयमा मात्र नभई आसपासका गाउँमा समेत पानीको समस्या भएकाले नेवा र पीआरडीसी नामक गैर–सरकारी संस्थाले चलाएको खुल्ला दिसामुक्त गाविस घोषणाको अभियान असफल भएको बताए।


यमकुमार राई, उदयपुर



भोटेकोशीमा तनाव!
जलविद्युत् आयोजनाका कारण र्‍याफ्टिङका लागि विश्वविख्यात भोटेकोशीको आकर्षण गुम्ने खतरा बढेको छ।


p11
भोटेकोशीमा जलविद्युत् र पर्यटन विषयमा छलफलका क्रममा स्थानीय। छलफलमा झडप हुने डरमा प्रहरी परिचालन गर्नुपरेको थियो।  तस्बिर: रमेश कुमार

र्‍याफ्टिङ र कायाकिङ जस्ता साहसिक जलयात्राका लागि संसार प्रसिद्ध भोटेकोशीमा जलविद्युत् आयोजना या आयोजनासँगै पर्यटन पनि भन्ने विवादको बीचमा मध्यभोटेकोशी जलविद्युत् आयोजनाले काम शुरू गरेको छ। प्रमुख राजनीतिक दल र बहुसंख्यक स्थानीयले आयोजना अहिलेकै डिजाइनमा बन्नुपर्ने अडान लिएका छन् भने पर्यटन व्यवसायी र केही स्थानीयले डिजाइन बदलेर नदीको पर्यटकीय सम्भावनालाई पनि जोगाउनुपर्ने माग गरेका छन्। यही विवादले गर्दा यसअघि मध्यभोटेकोशीबारे आयोजित छलफल र सार्वजनिक सुनुवाई कार्यक्रम समेत बिथोलिएका थिए।
चिलिमे जलविद्युत् कम्पनी लगायतले रु.१५ अर्बको लगानीमा निर्माण गर्न लागेको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको प्रस्तावित डिजाइनमा मार्मिङ–७ चाकुमा नदी थुनेर सुरुङबाट पानी पठाई गाती–३ जम्बुमा विद्युत् उत्पादन गर्ने प्रावधान छ। यसो गर्दा भोटेकोशीको निकै आकर्षक तीन किलोमिटर क्षेत्रमा र्‍याफ्टिङ, कायाकिङ गर्न नमिल्नेहुँदा गातीकै वडा नं.५ सखुवाबाट ७५ मेगावाट विद्युत् उत्पादन गरेर पर्यटनलाई पनि असर नपर्ने गरी आयोजना निर्माण गर्न सकिने पर्यटन व्यवसायीहरू बताउँछन्।

तात्कालिक लाभ हेरेर आयोजनाको पक्षमा लागेका स्थानीय र राजनीतिक दलहरूको आवाज केही चर्को छ भने दिगो विकासलाई हेरेर आयोजनासँगै नदी संरक्षणको पनि पक्ष लिनेहरूको स्वर अलि मसिनो। पर्यटन व्यवसायी मेघ आले भन्छन्, “जलविद्युत् आयोजनाको उत्पादन क्षमता केही घटाएर नदी संरक्षण गरौं भन्नेमाथि आक्रमण हुनथालेकाले डरका कारण कसैले बोल्ने आँट नगरेको हो।” सार्वजनिक सुनुवाईमा यस्तो मत राख्ने स्थानीय पदम श्रेष्ठ र विक्रम श्रेष्ठमाथि खुकुरी प्रहार नै भएको थियो।

गाती–९ का अर्जुन श्रेष्ठ भोटेकोशीको र्‍याफ्िटङबाट स्थानीयले फाइदा नपाएकाले आफूहरूले आयोजनाबाट धेरै आशा राखेको बताउँछन्। उनी भन्छन्, “रोजगारी, आर्थिक लाभ, जग्गाको मुआब्जा र अन्य अवसरका दृष्टिले हामी जम्बुमै विद्युत् आयोजना निर्माणका पक्षमा छौं।” सिन्धुपाल्चोकका राजनीतिक दलहरूको समर्थन पनि यसै पक्षमा छ, यद्यपि स्थानीयले यसको पछाडि प्रमुख तीन राजनीतिक दललाई आयोजनाले ठूलै नगद सहयोग दिने वचनले पनि काम गरेको बताएका छन्। गाती–९ कै रामकाजी श्रेष्ठ भन्छन्, “आयोजना स्थानीयका लागि खर्च गर्ने भन्दा पनि राजनीतिक दललाई खुसुक्क रकम दिएर काम अघि बढाउने पक्षमा छ।”

आयोजनाले वातावरणीय पक्षलाई ख्याल नराखेकोमा भने स्थानीय पनि निकै आक्रोशित छन्। गातीमा परीक्षण सुरुङ खनेर खहरेखोलाको छेउमा थुपारिएको ढुङ्गामाटोले वस्तीलाई असर पार्न सक्ने सुरुङ निर्माणमा संलग्न हिमाल हाइड्रोका कान्छाबहादुर जिरेल पनि स्वीकार्छन्। उनी भन्छन्, “आयोजनाले ढुङ्गामाटोको व्यवस्थापन नगरे वस्तीमा असर पर्न सक्छ।” सुरुङ खन्न गरिएको ब्लास्टिङले ३०० मीटरमाथिको वस्तीका केही घर चर्किएका स्थानीय मानकाजी श्रेष्ठले बताए।

तर, आयोजना पक्ष भने विस्तृत वातावरणीय प्रभाव मूल्यांकनले वातावरणीय असर न्यून हुने देखाएको बताउँछन्। आयोजना प्रमुख प्रकाशमान श्रेष्ठ त जलविद्युत् आयोजनाले पर्यटन व्यवसायमा पनि असर नपार्ने दाबी गर्छन्। उनी भन्छन्, “र्‍याफ्िटङ र कायाकिङका लागि प्रचलित स्थान विद्युत् गृहभन्दा तलै भएकाले यसले पर्यटन व्यवसायमा असर गर्दैन।”

मध्यभोटेकोशी विवाद तत्काल सुल्झ्ने छाँटकाँट छैन। तर आयोजनाको असर त्यस क्षेत्रमा खुलेका करोडौं लगानीका रिसोर्टमा समेत पर्ने भएकाले पर्यटन व्यवसायीहरूले निर्माण रोक्न राष्ट्रिय दबाब सिर्जना गर्ने र अदालतमा मुद्दा हाल्ने तयारी गरिरहेको व्यवसायी मेघ आलेले बताए। नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स (नारा) का अध्यक्ष नानीकाजी थापा भन्छन्, “भोटेकोशी नदी र्‍याफ्टिङका लागि विश्वकै सातौं उत्कृष्ट नदी भएकाले यसको विश्वव्यापी आकर्षण जोगाउन अभियान शुरू गर्नेछौं।”

तर, आयोजना निर्माताहरू भने जलविद्युत् उत्पादन गृहभन्दा तलतिर २० किलोमिटर भन्दा बढी क्षेत्रमा र्‍याफ्टिङ गर्न मिल्ने तर्क अघि सार्दै निर्माण नरोक्ने पक्षमा छन्। प्रमुख श्रेष्ठ भन्छन्, “पर्यटन व्यवसायीलाई क्षतिपूर्ति दिएर भए पनि हामी आयोजना अघि बढाउँछौं।”


रमेश कुमार

comments powered by Disqus

रमझम