यौन दुर्व्यवहार

Share:
  
- तारा भट्टराई
२३७ पेजको नेपालको संशोधित मुलुकी ऐनमा यौन दुर्व्यवहारको कानून नअटाउनु बिडम्वना नै हो।

तस्वीर: बिलाश राई
“बौद्ध धर्मावलम्वीहरूले साँच्चै नछुने बार्दैनन्?”

१३ फागुनमा हिमाल मा छापिएको मेरो लेखमाथि क्यान्टिनमा चर्चा गरिरहेका पुरुषमित्रमध्ये एकजनाले सोधे।

“अहँ, बौद्ध धर्ममा खास गरेर तिब्बतीहरूले नछुने हुँदा बार्नु पर्दैन।”

मेरो वाक्य पूरा नहुँदै टेबुल वरिपरि बसेका सबै पुरुषहरू मुस्कुराउन थाले, म भने स्तब्ध भएँ। त्यो क्षण ममा लज्जाभन्दा बढी रीस बढेको थियो। मैले तत्कालै कडा प्रतिकार गरें, तर उनीहरू जुनसुकै विषयमा कुरा गर्दा पनि दोहोरो अर्थ लगाउँदै जिस्किन थाले। त्यो टेबुलमा एकजना पनि अल्लारे थिएन, बरु एकसे एक शिक्षित र पदीय दायित्व बोकेका परिपक्व पुरुषहरू थिए। र त्योभन्दा महत्वपूर्ण कुरा ती सबै मित्रहरू मलाई दिदी भनेर सम्बोधन गर्थे। तर त्यसरी कुरा गरिरहँदा उनीहरूले मेरो उपस्थितिलाई पूरै बेवास्ता गरेका थिए र म अपमानित भइरहेकी थिएँ। धेरै समय टिकिरहन कठिन भएपछि उठेर पुस्तकालयतिर लागें।

यस्ता घटना हाम्रा शहरका कार्यालय, गल्ली जताततै दिनहुँजसो हजारौं महिलाले भोगिरहेका हुन्छन्। आजको दिन मलाई अपमानबोध गराउने मित्रहरूमध्येकै कतिका दिदी, बहिनी, श्रीमती वा छोरीले अन्त कतैतिर कुनै माहोलमा यस्तै वा योभन्दा पनि बढी अपमानित हुनुपरिरहेको पनि हुन सक्छ। अहिलेको समय, काल, परिस्थिति र माहोल नै यस्तै छ।

हाम्रो लाचारी

हामी महिलाहरू आफूमाथि भएका अपमान तथा हिंसाका घटनाहरू परिवारका सदस्यलाई प्रायः भन्दैनौं। अझ् पुरुष सदस्यलाई त बिल्कुलै भन्दैनौं। रत्तिभर आफ्नो गल्ती नहुँदा पनि अपराधीझै लज्जित भई यस्ता कुरा आफैंभित्र लुकाउँछौं। यही कारण पनि होला, पुरुषहरू आफ्ना घरका महिला परपुरुषबाट अपमानित भइरहेका होलान् भनेर सोच्दा पनि सोच्दैनन्, क्या मज्जा छ! आफूहरू घरबाहिर अरूका चेलीबेटी र श्रीमतीलाई मनपरी व्यवहार गर्दै हिंड्ने अनि अरू सबै पुरुषहरूलाई चाहिं मर्यादा पुरुषोत्तम भगवानको कोटिका ठान्ने?

सानो उदाहरण, म हरेक दिन बाइकबाट अफिस जाँदा बस/मिनीबस/माइक्रोबस जस्ता सयौं सवारी साधन क्रस गर्दै गइरहेकी हुन्छु। हरेक बस स्टपमा थुप्रै दिदीबहिनी छट्पटाउँदै गाडी कुरिरहेका हुन्छन्। कुनै न कुनै स्टपमा किशोरी र युवतीहरूलाई फुच्चे नै भए पनि कण्डक्टरले दुईहात परैदेखि अनावश्यक रूपमा हात पाखुरा तानेर गाडीभित्र हुलिरहेको देख्छु। त्यस्ता दृश्यले मेरो ब्रह्माण्ड खलबलिन्छ। यसरी पुरुषहरू सानैदेखि महिलाको शरीरमा विना रोकतोक हात हाल्न अभ्यस्त हुन्छन्। म बुझछु, गाडीभित्र पनि भीडको बहानामा कति पुरुषहरू महिलाको अंगलाई जताततैबाट ठेलिरहेकै हुन्छन्। धिक्कार छ हाम्रो लाचारीलाई! त्योभन्दा बढी धिक्कार छ राज्यव्यवस्थालाई जो गाडीको संख्या थप्न जति पनि लाइसेन्स बाँड्छ, तर यात्रुको सुविस्ता रत्तिभर सोच्दैन।

हाम्रो समाजमा अझै पनि महिलालाई भोग्यवस्तु ठान्ने पुरुष बाहुल्य छ। सडक, गल्ली, सार्वजनिक सवारी साधन, कल–कारखाना, कार्यालय जहाँ पनि महिलाहरू अपमानित तथा हिंसाका सिकार भइरहेका छन्। फिल्ड भ्रमणको क्रममा एउटी स्वास्थ्यकर्मीलाई आफ्ना सहकर्मीले होटलमा 'बेड सेयर' गर्ने प्रस्ताव राखेर अपमानित गरेको खबर केही दिनअघि मात्र पढेकी थिएँ। म महिलामाथि हुने जुनसुकै खालका यौन दुर्व्यवहार रोक्ने कानूनको प्रभावकारी कार्यान्वयनको दबाब बढाउन सारा देशवासीलाई आह्वान गर्छु। ऐनको प्रभावकारी कार्यान्वयनले मात्र यस्ता मनोवृत्तिका पुरुषहरूको मनोबल खस्किने सम्भावना हुन्छ। तर बिडम्वना भन्नुपर्छ, संशोधित मुलुकी ऐनभित्र यौन दुर्व्यवहारको कानून अटाउनै सकेको छैन।

comments powered by Disqus

रमझम