२६ वैशाख - १ जेठ २०७३ | 8-14 May 2016

अक्षरको अभिव्यञ्जना

Share:
  
- शंकर तिवारी

बिक्रम राई
सुन्दै अनौठो लाग्ने सल्लीपिर नामक उपन्यास लिएर चर्चित आख्यानकार नयनराज पाण्डे फेरि झुल्किएका छन्। तराईको जनजीवन चित्रण गर्न ख्याति कमाएका उनले सल्लीपिर मा भने हिमाली बस्तीको कष्टकर जीवनगाथालाई कलात्मक शैलीमा उतारेका छन्।

उपन्यासको सार यस्तो छ– पेमाका बाबुको किताबमोह उनकी आमाले बुझ्िदनन्। यही कारण उनीहरुको खटपट शुरु हुन्छ। समयक्रममा पेमाको छोरो फुर्वा पनि किताबप्रति सम्मोहित हुन्छ। पेमा उनको आमाले गरेको गल्तीबाट आफ्नो छोरालाई जोगाउन चाहन्छिन्। सजिलै पाठ्यपुस्तक नपुग्ने विकट हिमाली बस्तीमा छोराको ज्ञानको तलतल मेट्न पेमा राजधानी काठमाडौं पुग्छिन्। किताब लिएर फर्कंदा उनले अनेक सास्ती भोग्नुपर्छ। अधिकांश शेर्पा हिमाल चढ्नेका भरिया या चौंरी गोठाला हुन्छन्। पेमा छोराको नियति बदल्न र उसलाई लामा बनाउन चाहन्छिन्। तर, पुस्तक बोकेको चौंरी अगाडि लगाएर हिंडिरहेकी उनलाई हिउँले आफ्नो बनाउँछ।

नयनराज सधैं समाजका सीमान्तकृत 'सबाल्टर्न' पात्रहरुलाई केन्द्रमा राखेर लेख्छन्। आजीविकाका लागि तिनले गर्ने दुःखको वरिपरि उपन्यासको हृदय घुमिरहन्छ। यसपालि उनी हिमाली पात्र र खुम्बुको सेछेनलगायतका हिमाली गाउँ पुग्छन्।

उपन्यासको विशेषता मुख्य पात्र नारी (पेमा) हुनु हो। बालखैमा सुनेको एउटा तिलस्मी कथा जस्तै जीवनको अन्त्यसम्म अविश्रान्त संघर्ष गर्नु पेमाको सफलता हो। बाबु छिरिङले पेमालाई हमेशा कथा सुनाउँथ्यो तर ती कथाहरुमा दुःख मात्र हुन्थे। छिरिङ भन्थ्यो– के गर्नु छोरी, मसित रमाइला कथा छैनन्। हाम्रो जीवन पनि कहाँ रमाइलो छ र? जीवन सुन्दर भए पो कथा पनि सुन्दर हुन्छ। छिरिङले किताब पढेको उसकी श्रीमती ग्याल्मोलाई पटक्कै मन पर्दैन। छिरिङ निदाएको मौका पारेर ग्याल्मोले सबै किताबमा आगो लगाइदिन्छे। प्रतिक्रियाविहीन छिरिङले भोलिपल्ट घर छाड्छ र पेमाले गहभरि आँसु लिएर बाबुको विदाइका दृश्य हेर्छे। यही बिन्दुबाट पेमाको संघर्ष शुरु हुन्छ।

पेमाकी आमा ग्याल्मो विदेशी आरोही पिटरसँग प्रेममा पर्छिन् र छोरीलाई माइतीमै छाडेर अमेरिकातिर लाग्छिन्। हजुरबुबा, हजुरआमाले केही समय हुर्काएपछि पेमाको बिहे दावासँग गराइदिन्छन्। हिमाली दुःखले नवविवाहिता जोडीलाई पनि छोड्दैन। उपन्यास भन्छ– यो शहर होइन, खुम्बु हो। यहाँ माया पाउन याम पर्खिनुपर्छ।

चौंरीका लागि खर्क खोज्दै बसाइँ सर्नु, सीमापारि तिब्बतको खर्क पुग्नु हिमाली जीवन हिस्सा हुन्। कुशल चित्रकार झै नयनराजले पनि चौंरीखर्कका कथा दुरुस्त उतारेका छन्। काठमाडौं/केन्द्रको लापरबाहीले कतिपय नेपाली बस्ती तिब्बततिर परेका कुराले पाठकको मन कटक्क खान्छ।

दावा आरोहीको भरिया बनेपछि पेमाको जीवनमा उज्यालो धर्सा देखा पर्छ, तर त्यसको आयु छोटो हुन्छ। सगरमाथा आरोहणका क्रममा दावाको मृत्यु र क्षतिपूर्ति लिन राजधानी आउने आग्रहसहितको सरकारी चिठी सेछेन त पुग्छ तर चिठी पढ्न सक्ने गाउँमा कोही हुँदैन। पेमाको छोरो फुर्वाले लामा गुरुलाई चिठी पढ्न लगाउँछ। बुबाको मृत्युको खबर आमालाई सुनाउँदाको वर्णन हृदयविदारक छ। एउटा बालकले आफ्नो बाबुको मृत्युको खबर कुन आँट र धैर्यले आमालाई सुनायो होला। यस्तैमा हो लेखकको परख जाँचिने, जसमा उपन्यासकार खरो उत्रिएका छन्।

फुर्वालाई कथा सुन्ने रहर हुन्छ। घरमा पाहुना आएकी लडाकूले सुनाएको कथाको पात्र नामग्याल र छिमीले सुनाएको कथाको पात्र डुनले फुर्वालाई साँच्चिकै मोहनी लगाउँछन्। फुर्वाले एक दिन आफैंसँग प्रश्न गर्छ– 'के मैले कुनै कथा सुन्न पाउँदिन? के कहिल्यै पनि अक्षर चिन्न पाउँदिन? के कागजका अक्षर मेरा लागि सधैं वाणीहीन चौंरी झै हुनेछन्? के नामग्याल र डुनसित कुनै अर्को कथामा मेरो भेट हुने छैन? के मैले कहिल्यै पनि आफैंले किताब पढ्न पाउने छैन? त्यसो त दावाले फुर्वा जन्मनेवित्तिकै भनेको हुन्छ– 'चढ्दैन यसले चोमोलोङ्मा। बन्दैन कसैको भरिया। त्यस्तो दुःखी काम गर्दैन यसले। यसलाई त गुम्बामा लामा पढ्न पठाउँछु म।'

पुस्तक सल्लीपीर

लेखक नयनराज पाण्डे

प्रकाशक फाइनप्रिन्ट बुक्स

पृष्ठ २२९+१०

मूल्य रु.३४८

किताबलाई भूत मान्ने आफ्नी आमा झै अक्षरप्रति सन्देह भएकी पेमालाई एक दिन आभास हुन्छ– 'मन्त्र बन्ने अक्षरहरुले कहिल्यै पनि मान्छेलाई दुःख दिंदैनन्। कथा भन्ने अक्षरहरुले कहिल्यै पनि तर्साउँदैनन् मान्छेलाई।' अनि मात्र पेमाले बाबु छिरिङ ज्ञानी भएको महसूस गर्छे।

बुबा छिरिङले सुनाएको दुःखपूर्ण कथाका अनेक पन्ना र तह पेमाले आफ्नै जीवनमा भोग्छे। शायद छिरिङले पेमालाई जीवनका दुःखसँग अभ्यस्त बनाउनकै लागि यी कथाहरु सुनाएको थियो। बौद्ध दर्शनबाट प्रभावित भए पनि गीताको दर्शनसँग पनि मिल्ने पेमा अन्तिम वाक्य बोल्छे– 'हे साङगे, ... मैले मेरो यात्रा पूरा गर्न सकिनँ। फुर्वाले किताब पढेको हेरुँला भन्ने रहर थियो ... मैले मेरो रहर पूरा गर्न सकिनँ। ... मैले हिम्मत हारेकी थिइनँ। मैले यी किताब गाउँसम्म पुर्‍याउने हरेक प्रयास गरेकी थिएँ।'

अघिल्लो उपन्यास 'घामकिरी' मा 'म्याजिकल रियालिज्म' को प्रयोग गरेका नयनराजले यही सिद्धान्तको सहाराले किताब बोकेको चौंरी गाउँसम्म पुर्‍याएका छन्। यस्ता प्रयोगले उपन्यास 'मोनोटोनस' हुनबाट जोगिएको मात्र छैन, नयाँ स्वाद पनि थपिएको छ।

टिम्बुरबोटे काण्ड, जनमतसंग्रहदेखि २०४६ पछिका चुनाव, माओवादी सशस्त्र युद्धले गाउँ र पेमाको जीवनमा पारेको प्रत्यक्ष परोक्ष प्रभाव पाठकले सजिलै महसूस गर्न सक्छन्। दुःख, अक्षर र किताबबारे नयनराजले उपन्यासभरि यति धेरै मार्मिक उद्गार व्यक्त गरेका छन् कि तिनको संकलन मात्रले सानो पुस्तक नै तयार हुन्छ। कालो अक्षरलाई भूत सम्झ्ोकैले शेर्पाहरु पछिपरेको उपन्यासकारको ठहर छ।

राजनीतिका कारण देशमा 'पहाड भर्सेज मधेश' मानसिकता विकसित भइरहेको वेला लेखकका रुपमा नयनराजले मानिस जहाँ भए पनि सीमान्तकृतको दुःख समान भएको अनुभूत गराउन सफल भएका छन्। नयनराजको लेखनीमा विशिष्ट क्षमता भएकैले यो सम्भव भएको हो। सामाजिक सहिष्णुताका लागि एउटा लेखकले अपील गर्ने अर्को सम्यक् शैली नहोला।


रित्तो आकाश

लेखक दीपक नेपाल

प्रकाशक शिखा बुक्स

पृष्ठः १७६,

मूल्य रु.२५०

कथाकार दीपक नेपालको 'रित्तो आकाश' १६ वटा कथाको संग्रह हो। कथा लेखनमा खासै नसुनिएका दीपक नयाँ कृतिको माध्यमबाट चिनिएका मात्र छैनन्, उनको प्रतिभाको परखसमेत भएको छ। सबैखाले सामाजिक विकारलाई उत्तिकै गम्भीरताका साथ लेख्न सक्ने क्षमता बोकेका उनीबाट थप कृतिको अपेक्षा गर्न सकिन्छ।

भावनाका फूलहरु

लेखक तारानाथ गौतम

प्रकाशक तन्नेरी प्रकाशन

पृष्ठ १३६+१४

२०५३ सालमै 'भोजपुर' काव्य प्रकाशित गरेका पूर्वसहसचिव तारानाथ गौतम लिखित कविता र गीतहरुको संग्रह हो– भावनाका फूलहरु। संग्रह पद्य कविता, बालगीत, गीत र गद्य कविता गरी चारखण्डमा विभाजित छ। साहित्यप्रेमी गौतमले सरकारी सेवाका सन्दर्भमा धेरै ठाउँ पुग्दा सँगालेका प्रकृतिप्रेमलाई कलममार्फत पोखेका छन्।

उज्यालाका बीउ

लेखक सरोज धिताल

प्रकाशक सांग्रिला बुक्स

पृष्ठ २८१+२४,

मूल्य ३७५

शल्यचिकित्सकका अतिरिक्त नागरिक समाजका सक्रिय सदस्यको हैसियत बनाएका सरोज धितालको पछिल्लो पुस्तक हो– उज्यालाका बीउ। मुक्त आलेखको संग्रह भनिएको पुस्तकलाई उज्यालो यात्रा, सञ्चो–बिसञ्चो, अन्तरपुस्ता, घामछायाँ, कम्पन चिन्तन उपशीर्षकमा समेटिएको छ। राजनीति, आम मानिसका सपना, समाजका अनेक रंग बुझ्न धितालका निबन्ध सहयोगी लाग्छन्।

पुर्खाको चिठी

लेखक गगनसिंह थापा

प्रकाशक हिक्मत थापा

पृष्ठ १९७+१०

मूल्य रु.२००

नेपाल एकीकरणताका बहादुर शाह र उनका सिपाहीहरुले सुदूरपश्चिममा सर्वसाधारणमाथि चरम यातना दिएको गगनसिंह थापाको उपन्यास 'पुर्खाको चिठी' को दाबी छ। इतिहासमाथि लेखिएको यो आख्यानलाई लेखकले आफ्नी हजुरआमाले सुनाएका कथा, जनश्रुति र किंवदन्तीका आधारमा तयार पारेको बताएका छन्।

comments powered by Disqus

रमझम