२७ फागुन २०६९ | 10 March 2013

'पढेर स्वदेश फर्कन्छौं'

Share:
  

तस्वीरः विक्रम राई
निरज पराजुली, सोलराज जोशी
नेपालमै जाँच हुने 'युनिभर्सिटी अफ क्याम्ब्रिज इन्टरनेशनल इग्ज्यामिनेशन्' मा ए लेभलको गणिततर्फ विश्वमै उत्कृष्ट भएका निरज पराजुली र सोलराज जोशी आउँदो असारसम्म थप अध्ययनका लागि अमेरिका पुग्नेछन्। तर, त्यहाँ पुग्दा पनि उनीहरूको मनमा भने नेपाल नै हुनेछ। निरज भन्छन्, “अध्ययन सकेपछि काम गर्न स्वदेशमै फर्कनेछु।”

तर देशको अस्तब्यस्त राजनैतिक अवस्थाले आफू जस्ता धेरै तन्नेरीमा निराशा छाएको र बहुसंख्यकले विदेश पलायन रोज्ने गरेको उनीहरु बताउँछन्। ए लेभलको पढाइ सकिएपछि उनीहरुसँगै अन्य २०–२५ जना साथीले पनि थप अध्ययनको गन्तब्य अमेरिकालाई नै बनाउँदैछन्। सोलराज नेपालमै अमेरिकाको जस्तो राम्रो उच्च शिक्षा पाउने माहौल भए विदेश जानै नपर्ने बताउँछन्।

ललितपुरस्थित रातो बंगला स्कूलमा पढेका दुवै पूर्णाऒ्ढ बराबर अंक ल्याएर प्रथम भएका हुन्। १६ फागुनमा राजधानीमा सम्पन्न एक समारोहमा उनीहरूलाई उत्कृष्ट परिणाम ल्याएकोमा 'आउटस्ट्याण्डिङ क्याम्ब्रिज लर्नर अवार्डस्' दिइएको थियो।

काठमाडौं कोटेश्वरका प्रहरी बाबु र शिक्षक आमाका छोरा निरजको सानोमा वैज्ञानिक बन्ने लक्ष्य थियो। पाटन क्याम्पस पढाउने शिक्षक बाबुका छोरा सोलराज चाहिं इन्जिनियर बन्न चाहन्थे। दुवैको एउटै भनाइ छ, सानैदेखि बुबाआमाले यही बन्नुपर्छ भनेर दबाब दिनुभएन, त्यसैले पढ्न सजिलो भयो।

सोलराजका दाजु प्रथमराज पनि चार वर्षअघि ए लेभलको कम्प्युटरतर्फ विश्व उत्कृष्ट भएका थिए। कम्प्युटरमा दाइले गरेको प्रगति देखेर हुन सक्छ, सोलराजको पनि कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य छ। निरजले चाहिं भविष्यमा के बन्ने भन्ने अझ्ौ निश्चित गरिसकेका छैनन्।

विश्व उत्कृष्ट अवार्ड थापेपछि दुवैलाई बधाईको ओइरो लागेको छ। तर, उनीहरू धेरै हौसिएका छैनन्। किनभने उनीहरूलाई थाहा छ, यो यात्राको पहिलो सफलता मात्र हो।

सकारात्मक सोचका साथ मिहिनेत गर्ने र कुलतबाट टाढै रहन सकेमा उत्कृष्ट परिणाम ल्याउन सक्ने उनीहरूको अनुभव छ।

डम्बरकृष्ण श्रेष्ठ

comments powered by Disqus

रमझम