छड्केमा 'मिकरान्ता'

Share:
  
- अनुशील
दर्शकले आशा गरेअनुसार नभएको भनिएको छड्के ले प्रवाह गरेको वन संरक्षणतर्फको सन्देश प्रशंसनीय छ।

माईकेनिया मिकरान्ता'को रिसर्च गर्दै सौगात मल्ल
वन–जङ्गलका झारपात तथा वन्यजन्तुको अध्ययन र संरक्षणमा रुचि राख्ने वनस्पतिशास्त्रका विद्यार्थी समिर ताम्राकार (सौगात मल्ल) लहरे वनमारा (एक किसिमको मिचाहा झार) 'माईकेनिया मिकरान्ता' बारे अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्ज पुग्छन्। वनमाराको विनास र त्यसविरुद्धको अभियानमा गाउँलेसँग हातेमालो गर्ने क्रममा समिरको जम्काभेट वन तस्करहरुसँग हुन्छ। जुन भेटले वन तस्कर सिध्याउने 'वनमान्छे' बनाउँछ उनलाई।

११ फागुनदेखि प्रदर्शनमा आएको चलचित्र 'छड्के' अपेक्षा अनुसारको दमदार नभएको प्रतिक्रिया आइरहे पनि वन संरक्षणको नयाँ मुद्दालाई सार्वजनिक बहस र चर्चामा भने ल्याइदिएको छ। विगत दुई दशकदेखि वनको पिरलो बनेको 'माईकेनिया मिकरान्ता' झारको समस्यालाई फिल्मले उजागर गरेको छ। झारले वनै सखाप पारेको समस्यालाई सामान्य दर्शकले समेत बुझ्ने गरी पस्केबाट निर्देशकले वनमा पाइने रुख र झारहरुको गहिरो अध्ययन गरेको प्रष्ट हुन्छ। वन तथा वातावरणीय क्षेत्रका समस्यालाई पर्दामा ल्याएर पर्यावरणप्रति चासो राख्नेहरुको मन जित्न फिल्म सफल भएको छ।

एउटा व्यावसायिक फिल्ममा जङ्गली झार र त्यसको असर बारेको कुरा समेट्ने सोच कसरी आयो? निर्देशक निगम श्रेष्ठको भनाइमा माईकेनिया झारकै अध्ययनमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीद्वय विकास श्रेष्ठ र अदिती कटवालले लामो समय खर्चेका थिए। कलाकार सौगात मल्लले पनि त्रिविका प्राध्यापक, चितवनका गाउँलेदेखि माईकेनियाको अध्ययन अनुसन्धानमा आबद्ध वन अधिकारी र वातावरणविद्हरुसँग छलफल र परामर्श गरेका थिए।

फिल्ममा समिरले 'वनमान्छे' को स्वरुपलाई 'वनमारा' झार र मान्छे विरुद्धको आक्रोशको रुपमा सशक्त ढंगबाट उठाएका छन्। शुरुमा अनुसन्धानकर्ता र पछि वन तस्करको आक्रमणबाट बचेर जङ्गली मान्छे बन्न पुगेका सौगातको भूमिका नै दर्शकलाई भने नपचेको जस्तो देखिन्छ। भूमिका दमदार भए पनि उनको भूमिका छोट्याउन सकेका भए फिल्मको गति बिग्रनबाट जोगिन्थ्यो।


'वनमारा'को प्रकोप

छड्के फिल्मको दृश्यमा'जंगली मान्छे'को रुपमा
चितवनको अधिकांश वन क्षेत्रमा माईकेनिया झार फैलिएको छ। निकुञ्जमा २०५० सालतिर फाट्टफुट्ट देखिएको यो झार पछिल्लो समय मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा फैलिएको छ। निकै छिटो फैलिने यसको लहराले बोटबिरुवालाई ढाकेपछि प्रकाश संश्लेषण प्रक्रियामा प्रभाव पारेर मारिदिन्छ। निकुञ्जका वार्डेन फणीन्द्र खरेलका अनुसार ९३२ वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जको घाँसे मैदान, ओसिलो तथा नदीतटीय वन क्षेत्रमा माईकेनियाको प्रकोप बढी छ। तर निकुञ्जसँग माईकेनिया नियन्त्रण गर्ने कुनै योजना भने छैन।

हुन त एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा माईकेनिया उखेल्न चितवन निकुञ्ज पुगेका थिए। सो अभियानलाई निकुञ्जले निरन्तरता दिइरहेको सहायक वार्डेन टीकाराम पौडेलले बताए। उनका अनुसार निकुञ्जले अहिले १५ हेक्टरमा झ्ाार उखेल्ने काम गरिरहेको छ।

माईकेनियाले वनस्पति मात्र नभई वन्यजन्तुको बासस्थान र आहारविहारमा समेत गम्भीर असर पारेको छ। जिल्लाका ६९ सामुदायिक वनमध्ये अधिकांशमा यो झ्ाार फैलिएको जिल्ला वन कार्यालय चितवनका सहायक वन अधिकृत तोयानाथ पौडेलले बताए। पौडेलका अनुसार सामुदायिक वनमा १५ देखि ५० प्रतिशत क्षेत्रफल माईकेनियाले ढाकेको छ।

सविता श्रेष्ठ, चितवनमा

comments powered by Disqus

रमझम