२७ फागुन २०६९ | 10 March 2013

एकै थलोमा थकाली, जापानिज र चाइनिज

Share:
  

ट्राउट फिस ग्रिल।
जापानमा लामो समय रेष्टुरेण्ट व्यवसाय गरेका नकुल शेरचनले गत वैशाखबाट काठमाडौंको गैह्रीधारामा शुरु गरेको एलिस रेष्टुरेण्ट एक वर्ष नबित्दै फुड हब बन्न थालेको छ। १४ वर्ष जापान बसाइको क्रममा ९ वर्ष आफैंले रेष्टुरेण्ट सञ्चालन गरेका शेरचनको रेष्टुरेण्टमा थकाली, जापानिज, चाइनिज र कण्टिनेण्टल खाना उपलब्ध छन्।

मेनुमा उपलब्ध बालाजु बाइपासबाट ल्याइएको ताजा ट्राउट माछा, थाइल्याण्डको हाँसको साँधेको मासु, विदेशबाटै क्यानमा ल्याइएको बेबीकर्नका परिकार र रेड स्निपर माछाको स्टिम स्वादिला छन्। रोष्ट चिकेन ग्रेवी तर क्रिस्पी स्वादमा, सेजवान स्टाइलको ग्रेवी पर्कको परिकारसँगै फापरको मःम, ग्रिन मःम र चिप्लेभिण्डीको जापानी ओकुरा सलाद नयाँ परिकार लाग्छन्।

एक पटकमा १४० ग्राहक र तिनका सवारी साधन पार्किङसहितको एलिस रेष्टुरेण्टमा थकाली परिकारको छुट्टै भान्साघर मात्रै हैन जापानिज शैलीका गार्डेन र बस्नलाई सजिलो क्याबिनहरु समेत छन्। ३६ जना कर्मचारीमध्ये १६ जनाको टोली त किचनमै व्यस्त रहने शेरचन बताउँछन्। गैह्रीधारा चोकबाट बालुवाटारतिर ३०० मिटरको दूरीमा पर्ने सुवर्ण शमशेर मार्गमा रहेको एलिसको अर्को विशेषता भनेको बालबालिकाको लागि खेल्ने आधुनिक शैलीको छुट्टै कोठा हो। छोरीकै नाममा रेष्टुरेण्ट खोलेका नकुल भन्छन्, “मेरो रेष्टुरेण्टमा परिवारका तीनै पुस्ता मज्जाले रम्दै विभिन्न परिकारको स्वाद लिनसक्छन्।”

अनुशील

comments powered by Disqus

रमझम