कोदो, मकै, आलु जस्ता परम्परागत बाली लगाउँदै आएका काँधका अरू किसानको बारीमा पनि अहिले बोगटी र रावतको जस्तै गोल्डेन, रोयल, चकलेटी आदि जातका स्याउ हुर्किएका छन्। उनीहरूले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोग र उत्पे्ररणामा स्याउ खेती थालेका हुन्। २०५८ देखि २०६७ सालसम्म डब्लूएफपीले पाण्डुसैन–७ का १२० घरपरिवारलाई ६ हजार स्याउका बेर्ना वितरण गरेको थियो। “एक बोट स्याउसँगै चार किलो चामल पनि दिएकोले सबैले सक्दो रोपे”, रावत भन्छन्, “त्योसँगै सडक पनि आएको हुनाले हामीलाई हुनसम्मको राम्रो भएको छ।”
उनले स्याउ बेेचेरै चार छोराछोरीलाई पढाउँदै काठमाडौंको कलंकीमा घडेरी जोडेको बताए। उनले गत वर्ष छोरीको विवाह गर्दा दाइजो पनि स्याउका ६ वटा हुर्केका बिरुवा नै दिए। १०० बोटबाट प्रतिबोट सरदर १२०० दाना स्याउ बेचिरहेका रावतले यस वर्ष ५०० बोट थपेका छन्।
त्यस्तै, आफ्नो पूरै बारीमा व्यावसायिक स्याउ खेती गरेका बोगटीले पनि ९० बोटबाट आम्दानी लिन थालेका छन्। सदरमुकाम मार्तडीसँग जोड्ने सडक बनेपछि बारीको स्याउलाई बजार पुर्याउन पनि सहज भएको उनले बताए। मार्तडी पुर्याएपछि पाण्डुसैनको स्वादिलो स्याउले गोटाको रु.१५ सम्म भाउ पाउँछन्। पाण्डुसैनलाई मार्तडीसँग जोड्ने ग्रामीण सडक बनाउन पनि डब्लूएफपीले सहयोग गरेको छ।
व्यावसायिक स्याउ खेतीबाट पाण्डुसैनवासीको जीवनयापनमा परिवर्तन आएको प्रष्टै देखिन्छ। तर, उनीहरूको आम्दानीको बोटमा यो वर्षबाट समस्या पनि चर्कै गरी देखिएको छ– खडेरी र फलमा कीराको प्रकोपको रूपमा। फूल फुल्ने बेलामा स्याउलाई पर्याप्त सिंचाइ चाहिन्छ, तर त्यसका लागि पानीको व्यवस्था नभएकोमा यो वर्ष त ठूलो खडेरी लागेर भएका मुहानहरू पनि सुके। रावत भन्छन्, “पोहोर बोटले नथेग्ने गरी फलेकोमा यस पटक खडेरीले २० बोट सुकाइदियो।”
फुल्दा राम्रै भए पनि हावाहुरी र त्यसपछि खडेरीले यस वर्ष पाण्डुसैनको स्याउ बिगारेको छ। यस वर्षबाट बोट र फलमा कीरा लागेर पनि स्याउ बिग्रिएको छ। बोगटीले स्याउ उत्पादनमा उत्साही बनाउने डब्लुएफपीले नै प्राविधिक तालीम पनि दिनुपर्ने बताए। डब्लुएफपीका सूचना अधिकृत रामजी दाहालले भने समस्या बेहोरिरहेका पाण्डुसैनका स्याउ कृषकलाई मार्तडीस्थित सप्रोस नेपालबाट प्राविधिकहरूको सहयोग लिन सल्लाह दिए।
रामु सापकोटा, बाजुराबाट फर्केर