९ -१५ जेठ २०७३ | 22-28 May 2016

नसुधि्रने विद्यालय

Share:
  

भावुक योगी
२४ वैशाख बिहान ६ बजे सत्घरुवा–४, बबई नगरपालिकास्थित ज्ञानोदय प्राथमिक विद्यालय सुनसान थियो। ६:३० बजे बाल कक्षा शिक्षक अम्बिका रावल आइपुगिन्। “विद्यालय शुरू हुने ६:३० बजे हो, साँचो प्रधानाध्यापकसँग छ, चौरमै बस्नुपर्ने पो भयो”, उनले भनिन्।

६.४० बजेदेखि भने विद्यार्थी आउन थाले। विद्यार्थीसँगै शिक्षक कमला शर्मा पनि ६.४० बजे देखिइन्। “छोरो बिरामी भएर ढिला भयो”, उनी भन्दै थिइन्।

विद्यालयको चाबी बोकेका प्रअ अझै आइपुगेका थिएनन्। त्यसैले बाल शिक्षाका १२ विद्यार्थी आएपछि शिक्षक रावलले चौरमै पढाउन शुरू गरिन्। (हे. तस्वीर)

कक्षा १ देखि ५ सम्मका १६ विद्यार्थी चौरमा गोलो घेरामा बसे। “१, २, ३ कक्षा एकै ठाउँमा पढ्छन्, ४ र ५ को मात्र अलग पढाइ हुन्छ”, कक्षा ५ का एक विद्यार्थीले भने। चौरको एकातिर पाँच जना विद्यार्थीलाई बसाएर शिक्षक शर्माले पनि पढाउन शुरू गरिन्। छोरालाई बोर्डिङ स्कूल पुर्‍याएर आउँदा अलि ढिलो भएको भन्दै अर्की शिक्षक जमुना ज्ञवाली ६.५५ बजे आइपुगिन्। बल्ल ७:१५ बजे प्रअ सीता खनालको प्रवेश भयो। विद्यालय कार्यालयको कोठा ७.२० बजे मात्र खुल्यो।

विद्यालय प्रशासनका अनुसार, कुल २८ जना विद्यार्थी भर्ना भएको यो विद्यालयमा दैनिक १६ देखि १९ जना मात्रै आउँछन्। जबकि, विद्यालय समायोजन कार्यान्वयन निर्देशिका २०७ मा प्राविमा कम्तीमा ६० जना विद्यार्थी हुनै पर्ने नियम छ। ८ कोठाको विद्यालयमा सबै भौतिक संरचना भएर पनि विद्यार्थी कम छन्। “अधिकांश बालबालिका गाउँकै बोर्डिङ स्कूलमा जान्छन्, कोही अंग्रेजी माध्यमबाट पढाइ हुने सामुदायिक विद्यालयमा पढ्छन्”, प्रअ खनालको जवाफ थियो।

त्यसो त विद्यालयले पनि कार्यरत तीन जना शिक्षकको तलबबाट मासिक रु.१ हजार ५०० काटेर रु.४ हजार ५०० मा एकजना अंग्रेजी शिक्षक र स्थानीय स्रोतबाट अर्को शिक्षक राख्ने प्रयत्न नगरेको पनि होइन। तर, कसैको आवेदन परेन।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयराज न्यौपानेले विद्यालय सुधार्ने प्रयास सफल नभएको बताए। “अब विद्यालय सुधाछौ भनी हात जोडेर घरघर पुगी विद्यार्थी ल्याएका हौं”, उनले भने, “मै पो राजीनामा दिऊँ कि जस्तो लागिसक्यो।” प्रअ खनाललाई समेत विद्यालय सुधारेर विद्यार्थी आउलान् भन्ने विश्वास हराउँदै गएको छ। “बरु अर्को विद्यालयसँग गाभ्न पाए हुन्थ्यो, धेरै विद्यार्थी भएको विद्यालयमा पढाउने जाँगर चल्थ्यो”, उनको भनाइ थियो।

जिल्ला शिक्षा कार्यालय, बगनाहा स्रोत केन्द्रका स्रोतव्यक्ति गोकुल पोख्रेल भने व्यवस्थापन समिति र शिक्षककै लापरवाहीले विद्यालय खस्केको बताउँछन्। “६ बजेको विद्यालय ७ बजे खुल्छ, अनि कसरी सुध्रन्छ?” उनको प्रश्न छ।

बर्दियाका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह २८ जना विद्यार्थीको भरमा प्रावि चलाउन नमिल्ने बताउँदै 'अर्को विद्यालयमा गाभ्ने या त्यहाँको शिक्षकको दरबन्दी अन्यत्र पठाउने' भन्ने निर्णय गर्न व्यवस्थापन समितिलाई निर्देशन दिने बताउँछन्।

जिल्लामा ज्ञानोदय जस्तै अरू पनि विद्यालय छन्। तर, जिशिअले भने अनुसार ती विद्यालय न अन्यमा गाभिएका छन् न सुधार्ने पहल नै भएको छ।

भावुक योगी, बर्दिया

comments powered by Disqus

रमझम