ग्यास्ट्राइटिस् जस्तै टाउको दुखाइ पनि नेपालीको पुरानो समस्या हो। धेरैजसोमा तनाव वा माइग्रेनका कारण टाउको दुख्छ। माइग्रेनका कारण शुरू भएको टाउको दुखाइ अकस्मात् शुरू भई घण्टौंसम्म हुनसक्छ। माइग्रेनमा टाउकोको एक भाग (दायाँ वा बायाँ) अर्थात् आधा कपाल दुख्ने हुन्छ। कतिपयमा आँखाको गेडा, कन्चट पनि दुख्न सक्छ। एकातिरको टाउको दुख्ने समस्या यताउति सर्न सक्छ, कसैकसैको पूरै टाउको दुख्न पनि सक्छ।
माइग्रेनमा टाउको दुख्नु पहिले आँखा दुख्ने, झिलिमिली देखिने, धमिलो हुने, उज्यालोमा हेर्न नसकिने जस्ता लक्षण पनि देखा पर्न सक्छन्। टाउको नै फुट्ला जस्तो हुने, वाक्वाकी र मुखमा अमिलो पानी आउने पनि हुनसक्छ। बान्तापछि भने टाउको दुख्न कम हुन्छ।
किन हुन्छ माइग्रेन?
सामान्य अवस्थामा टाउकोभित्रको रक्तनलीको खुम्च्याइ र फुकाइ सामान्य नै हुन्छ। तर, कारणवश टाउको तथा घाँटीको रक्तनली अत्यधिक खुम्चिने र फुक्ने भएमा सेरोटोनिन् ग्रन्थी उत्पादन वृद्धि भई रक्तसंचार प्रणालीमा असामान्य स्थिति उत्पन्न हुन्छ। अनि, माइग्रेन समस्या शुरू हुन्छ। तर, व्यक्तिपिच्छे माइग्रेनको कारण फरक हुनसक्ने भएकाले उपचार पनि एउटै हुन्न। शरीरमा उत्पादित हर्मोन तथा बाह्य हर्मोन (परिवार नियोजनलगायतका साधनमा प्रयोग गरिएका) का कारण पनि माइग्रेन निम्तिन सक्छ। वंशाणुगत पनि हुनसक्छ। यसबाहेक तनाव, चिन्ता, भोक, पानीको कमी, अनिद्रा, धपेडी, अत्यधिक टेलिभिजन र कम्प्युटर, आँखालाई बल पर्ने सूक्ष्म कामले पनि माइग्रेन हुन सक्छ।
अध्ययन अनुसार, कुल जनसंख्याको करीब १५ प्रतिशतसम्मलाई माइग्रेन समस्या हुन सक्छ। मोटोपन र माइग्रेनबीच पनि सामञ्जस्य देखिएको छ। विशेषतः कम्मर वरिपरि बोसो जम्मा भएका व्यक्तिमा माइग्रेन समस्या तुलनात्मक रूपमा बढी देखिन्छ।
महिलामा यो समस्या बढी देखिन्छ। महीनावारी अघिपछि टाउको दुखाइ घटबढ हुने भएकाले हर्मोनको भूमिका प्रष्टिन्छ। उमेर अनुसार महिलामा हर्मोन तल–माथि भइरहन्छ। उमेर बढेसँगै दुखाइ कम हुँदै जान्छ। पुरुषमा भने जीवनभर हर्मोनको मात्रा स्थिर झैं हुन्छ। तर, मद्यपान र धूमपान गर्नेमा भने माइग्रेनको सम्भावना बढी हुन्छ।
माइग्रेनका लागि धेरै जाँच जरूरी छैन। तर, यसको कारण भने पत्ता लगाउनुपर्छ। मेनिन्जाइटिस्, सिस्टसर्कोसिस्, ब्रेन ट्युमर, मस्तिष्क सम्बन्धी संक्रमण जस्ता गम्भीर समस्याका कारण माइग्रेन भएको हो भने रगत जाँच, सीटी स्क्यान र एमआरआई समेतको आवश्यकता पर्न सक्छ। त्यसैले टाउको दुखाइलाई हल्का रूपमा नलिनु नै बुद्धिमानी हुन्छ।
कुन खानेकुराले माइग्रेनको समस्या बढ्छ, कति समयको अन्तरालमा टाउको दुख्छ भनी याद राख्नुपर्छ। माइग्रेनका बेला औषधि, व्यायाम, टाउको दुख्ने आभास हुनासाथ आराम गर्ने, निदाउने, मसाज गराउने तथा ताजा फलफूलको जुस पिउनुपर्छ। माइग्रेनले च्यापेको बेला सकेसम्म घरमै आराम गर्ने, प्रकाश तथा चर्को ध्वनिबाट बच्ने, अनिद्रा र भोको पेट नबस्ने गर्नुपर्दछ। यस्तो बेला टाउको, गर्दन, मेरुदण्ड मसाज एवं गर्मीयाममा टाउकोमा चिसो पट्टी बाँध्ने र जाडोयाममा स्टिम तथा साउना बाथले आराम दिलाउँछ।
चिकित्सकको सल्लाह अनुसार सही तरीकाले उपचार गरेमा माइग्रेन निर्मूल हुन सक्छ। महीनामा एक, दुईपटक टाउको दुख्ने व्यक्तिले आवश्यकता अनुसार औषधि सेवन गरे पुग्छ भने हप्तामै दुई, तीनपटक टाउको दुख्नेले नियमित औषधि सेवन गर्नुपर्दछ। औषधि सेवनको केही दिनपछि टाउको दुख्ने निको भइहाल्यो भन्दैमा औषधि छोड्नुहुँदैन।
के खाने/नखाने?
जीवनशैली परिवर्तनसँगै माइग्रेन न्यूनीकरण गर्न सकिन्छ। यो समस्यामा गालेका (अमिल्याइएका) अचार, पेयपदार्थ, चीज, आइसक्रिम, चकलेट, दुग्धजन्य पदार्थ, ससेज, केस्रायुक्त फलफूल, केरा, माछा, अण्डा राम्रो मानिंदैन। एलर्जीमा जस्तै सबैलाई यी खानेकुराले माइग्रेन गराइहाल्छन् भन्ने होइन तर यस्ता खानाको परहेज गर्नु नै उत्तम हुनेछ। थोरैथोरै खाइरहँदा रगतमा ग्लुकोजको मात्रा स्थिर हुन्छ। नाइट्राइट्स र मोनोसोडियम ग्लुटामेट (अजिनोमोटो) ले असर पुर्याउने भएकाले चाउचाउ तथा फास्टफूड धेरै खानुहुँदैन।
माइग्रेनबाट सताइएकाहरूले फलफूल एवं प्राकृतिक स्रोतबाट प्राप्त हुने शक्तिमा जोड दिनुपर्दछ। विशेषतः झोलिलो खानेकुरा प्रशस्त मात्रामा पिउनुपर्दछ। क्रोमियमलगायतका खनिज पदार्थको कमीले पनि माइग्रेन हुनसक्ने हुनाले सुन्तला, स्याउ, गोलभेंडा, ब्रोकाउली, चिल्लोरहित रातोमासु लगायतका खानेकुरा खानुपर्दछ। म्याग्नेसियमले मस्तिष्कको रक्तनली खुम्चिन नदिई माइग्रेन हुन दिंदैन। त्यसैले अन्न, गेडागुडी, सागपात टुटाउनुहुँदैन। खानामा चिल्लो कम गर्नुपर्छ।