९ -१५ जेठ २०७३ | 22-28 May 2016

खेलमा खिया

Share:
  
- सन्त गाहा मगर
१२औं साग र बंगबन्धु गोल्डकपमा स्वर्णपदक जितेर प्रशंसा कमाएका टीम नेपालका खेलाडी एन्फाको अक्षमताका कारण प्रतियोगिताविहीन बनेका छन्।

१४ चैत २०७२ मा भएको मैत्रीपूर्ण खेलमा यू–२२ मलेशियाका खेलाडीसँग बलका लागि संघर्ष गर्दै टीम नेपालका भरत खवास (रातो जर्सी)।
३१ वैशाखमा मेक्सिकोमा सम्पन्न अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा) को ६६औं कंग्रेसले अखिल नेपाल फूटबल संघ (एन्फा) लाई रु.८६ करोड ६२ लाख ५० हजार (८२ लाख ५० हजार डलर) दिने घोषणा गर्‍यो। रकममध्ये विकास कार्यक्रममा ५० लाख डलर र विकास योजनामा ३२ लाख ५० हजार डलर विनियोजन गरिएको छ। तर, यसका लागि एन्फाले विकास कार्यक्रम र योजना दुवैको विस्तृत प्रस्ताव पेश गर्नुपर्नेछ। कंग्रेसमा सहभागी भएर फर्केका एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ विस्तृत योजनासहितको प्रस्ताव तयार गरेर पेश गरिने बताउँछन्। एन्फाको योजना चित्त बुझे मात्र फिफाको सहयोग किस्ताबन्दी रुपमा नेपाल भित्रिनेछ।

फिफाको आर्थिक सहयोगको अंकले पदाधिकारी उत्साही देखिए पनि राष्ट्रिय टोलीको प्रशिक्षणमा एन्फाको उदासीनता भने अनौठो छ। ८ माघ २०७२ मा बाङ्लादेशमा बहराइनको युवा टोलीलाई पराजित गरी बंगबन्धु गोल्डकप जितेर फर्केको एक महीनापछि ३ फागुनमा १२औं दक्षिण एशियाली फूटबल (साग) मा भारतलाई हराउँदै स्वर्णपदक जितेयता टीम नेपालका खेलाडी मैदानबाहिर छन्। “लामो समय नचलाउँदा हतियारमा त खिया लाग्छ भने फूटबल त शारीरिक खेल हो, एक दिन पनि विना अभ्यास बस्नै मिल्दैन”, फूटबल विश्लेषक नविन पाण्डे भन्छन्।

बंगबन्धु र सागको सफलतापछि खेलाडीलाई खाली नराख्न चौतर्फी दबाब परेपछि १४ चैतमा नेपाल–मलेशिया मैत्रीपूर्ण खेल तय गरियो। तर अन्तिममा मलेशियाको यू–२२ टोलीसँग भिड्नुपर्‍यो। फिफाले उमेर समूहको प्रतिस्पर्धालाई वरियता निर्धारणमा मान्यता नदिने भएकाले राष्ट्रिय टोलीसँगै नखेली वरियता सुधि्रंदैन। बंगबन्धु र सागअघि १९६औं स्थानमा रहेको नेपाल अहिले फिफा वरियताको १८०औं स्थानमा छ। फिफाबाट १० वर्षे प्रतिबन्धमा परेका गणेश थापा एन्फा नेतृत्वमा आउनुअघि १९९३ मा भने नेपाल वरियतामा १२४औं स्थानमा थियो।

वरियता सुधारका लागि मात्रै होइन, खेलाडीलाई उच्च फर्ममा राख्न पनि विभिन्न देशका राष्ट्रिय टीमहरूसँग निरन्तर प्रतिस्पर्धा आवश्यक छ। 'फर्म' मा रहेको टीम नेपाल र युवा टोलीलाई धेरै प्रतियोगितामा सहभागी गराउने, खेलाडीलाई अन्तर्राष्ट्रिय 'एक्स्पोजर' का व्यावसायिक क्लबमा अनुबन्ध/प्रशिक्षण जस्ता मौका प्रदान गर्ने कुरामा पनि एन्फा चुकेको छ। राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राईसहित पाँच जना खेलाडी र प्रशिक्षक 'म्याच फिक्सिङ' मा तानिएपछि राष्ट्र र टोलीको छवि सुधार्न दिलोज्यान दिएका खेलाडी र प्रशिक्षक निष्त्रि्कय बन्न बाध्य छन्। तर, एन्फा आन्तरिक किचलोबाट अझै निस्कन सकेको छैन।

विवादले अल्झो १८ माघमा एन्फाको प्राविधिक निर्देशकको जिम्मेवारी सम्हाल्न जापानबाट काठमाडौं आइपुगेका ताकेदा चियाकीको एकतिहाइ समय विना प्रतियोगिता सकिएको छ। करीब पाँच हजार डलर मासिक पारिश्रमिक पाउने गरी एक वर्षको करारमा आएका ताकेदाले चार महीनामा साग र मलेशियामा भएको मैत्रीपूर्ण खेल अवलोकनसम्म गर्न भ्याए। फिफाको बाध्यकारी व्यवस्थापछि एन्फाले ताकेदालाई प्राविधिक निर्देशक नियुक्त गरेको हो।

लामो समय नचलाउँदा हतियारमा त खिया लाग्छ भने फूटबल त शारीरिक खेल हो।

नविन पाण्डे

फूटबल विश्लेषक

गोलनेपाल डटकम

गएको फागुन अन्तिम साता राष्ट्रिय टीमको प्रशिक्षक नियुक्त भएका ग्योतुकी कोजीले पनि खेलाडीलाई व्यस्त राख्न सकेका छैनन्। चैतदेखि अधिकांश खेलाडीको स्थानीय व्यावसायिक क्लबसँग करार सकिएकाले उनीहरू फूटबलकर्मसँग दिनहुँ अभ्यस्त भइरहेका पनि छैनन्। क्लब अनुबन्धका लागि असार –साउन पर्खनु पर्ने खेलाडीहरु बताउँछन्। एन्फाका कार्यवाहक अध्यक्ष श्रेष्ठ राष्ट्रिय खेलाडीलाई 'इन्गेज्ड' राख्ने तयारी अन्तर्गत १६ जेठमा लाओससँग मैत्रीपूर्ण खेल तय भएको बताउँछन्। फिफा वरियतामा लाओस नेपालभन्दा चार स्थानमाथि अर्थात् १७६औंमा छ।

उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र केन्द्रीय सदस्य पंकज नेम्बाङलाई १० जेठभित्र पुनर्वहाली गर्न र १० वर्षे प्रतिबन्धमा परेका गणेश थापाको स्थानमा विशेष साधारणसभा गरी नयाँ नेतृत्व चयन गर्न फिफाले निर्देशन दिइसकेको छ। तर दुवै पक्षले नै यतिवेला साधारणसभा कसरी आफू अनुकूल बनाउने भन्ने विषयलाई महत्व दिइरहेका छन्। राष्ट्रिय टीमलाई 'बिजनेस' नदिनुको अर्को कारण एन्फाको यही विवाद पनि हो। तर, विश्लेषक पाण्डे एन्फाको आन्तरिक विवादको असर राष्ट्रिय टोलीले भोग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउँछन्। नेपाली फूटबल सधैं यस्तै आन्तरिक झगडामा फस्ने गरेको बताउँदै उनी भन्छन्, “आन्तरिक विवादको वहानामा खेलाडीलाई खाली राख्ने काम गर्नै हुन्न।”

निमन्त्रणा आएको खण्डमा नौ महीनापछि हुने बंगबन्धु गोल्डकप नेपालको सबैभन्दा नजिकको प्रतियोगिता हो। त्यसबाहेक सन् २०१७ को अन्त्यमा बाङ्लादेशमै साफ च्याम्पियनसिप हुँदैछ भने २०१८ मा नेपाल आफैंले साग आयोजना गर्दैछ। विश्लेषक पाण्डे भन्छन्, “प्रतियोगिता छैन भनेर एन्फा चूप लागेर बस्न मिल्दैन। नियमित प्रशिक्षण र एक्स्पोजरको तयारी गर्नुको विकल्प छैन।”

comments powered by Disqus

रमझम