९ -१५ जेठ २०७३ | 22-28 May 2016

अशोक लुंमिनि हाम्रो लुम्बिनी

Share:
  
- शुक्रसागर
धन्न, लुम्बिनी हाम्रो भयो, अब जोगाउने जुक्ति–जाँगर देखाउनुपर्छ।

हिद बुधे जाते : यहाँ बुद्ध जन्मे (बुद्ध भन्ने को?)

शक्यमुनि ति : शाक्यमुनि (मानव) पनि?

हिद भगवं जातेति : यहाँ भगवान जन्मेको हो (कहाँ)?

लुंमिनि गामे : लुम्बिनी गाउँमा

सम्राट अशोकले आफ्नो स्तम्भमा कुँदेको स्थाननाम हो– लुंमिनि। हामीले बोल्दै, लेख्दै आएको स्थाननाम हो– लुम्बिनी। लुंमिनि या लुम्बिनी त्यो शब्द हो, जसले आज अकाट्य रुपमा प्रमाणित भएको बुद्ध जन्मस्थललाई बुझाउँछ। 'लुंमिनि' कुँदिएको स्तम्भ भएकै ठाउँमा बुद्ध जन्मेका थिए।

मेरो विचारमा, आज नेपालमा सबभन्दा बढी चासो दिइएको धार्मिक, सांस्कृतिक र पुरातात्विक वस्तु लुम्बिनीको अशोक स्तम्भ हो। त्यस्तो महत्व किन भयो भने, अशोकद्वारा कुँदाइएको ९० अक्षरको ब्राह्मी लिपिको अभिलेखले आज विश्वका लाखौं मानिसलाई धार्मिक पर्यटनका लागि लुम्बिनीमा तान्न सकेको छ। लुम्बिनीको तीर्थाटन गर्ने करोडौंको आकांक्षा बनेको छ। त्यो किन त भन्दा लुम्बिनी बुद्धको जन्मस्थल भएकाले। जन्मको प्रामाणिकता यो अभिलेखले दिएको छ।

अशोक स्तम्भको ब्राह्मी लिपि आजको अंग्रेजी अक्षरको क्यापिटल लेटर जत्तिकै सरल र छर्लङ्ग छ। तैपनि पढ्ने/पढाउने र गर्ने/गराउनेहरूको लापरबाहीले गर्दा १० वर्षअघिसम्म अशोक स्तम्भ अगाडिको सूचनापाटीमा शुद्ध लिप्यान्तर राखिएको थिएन। आज कस्तो छ, मलाई थाहा छैन। आशा गर्छु– आज त्यो सही रुपमा लेखेर राखिएको छ। अझ्ौ छैन भने तत्काल त्यो सच्याइयोस्।

अभिलेखमा कति वटा अक्षर छन् भन्नेमा लिपिविद्हरूबीचमा मतैक्यता छैन। जम्मा शब्द कति छन्, त्यो पनि भन्न सकिन्न। तर, जे जति छन्, तिनले आजको विश्वमा करोडौं श्रद्धालुले गलत ठाउँलाई बुद्धको जन्मभूमि भनेर माग्नुपर्ने अवस्था हटाइदिएका छन्। सही ठाउँमा प्रार्थना गर्ने अवसर जुटाइदिएको यो अभिलेखको तस्वीर (माथि) मा चिनो लगाएका शब्दको अर्थ हेर्नुहोस् :

हिद बुधे जातेः यहाँ बुद्ध जन्मे (बुद्ध भन्ने को?)

शक्यमुनि तिः शाक्यमुनि (मानव) पनि?

हिद भगवं जातेति : यहाँ भगवान जन्मेको हो (कहाँ)?

लुंमिनि गामे : लुम्बिनी गाउँमा

हिद (यहाँ) र ति (पनि) शब्द दुई–दुई ठाउँमा कुँदिएका छन्। यी शब्दले सम्बन्धित वाक्यांशलाई बढी महत्व दिएको देखिन्छ। 'शाक्यमुनि मानिस हो, मानिस भैकन भगवान पनि है!' भनी जोड दिइएको छ। लुम्बिनी शब्दले पनि 'यहीं नै है' भन्नेमा जोड दिइएको छ। 'यहाँ बुद्ध जन्मे' भन्दा कहाँ? भन्ने प्रश्न आउने भएकोले 'हिद' (यहाँ, लुम्बिनी गाउँमा) भनिएको छ। शाक्यमुनि को? भन्ने प्रश्नमा 'मानिस र भगवान दुवै' भनिएको छ।

माथिका चार वटा शब्दले दिएको सूचना पढेर बुझ्दा अशोकको समयमा कति प्रकाण्ड लेखकहरू रहेछन् भन्ने पनि प्रष्टिन्छ। यति छोटोमा यत्रो प्रामाणिकता जुट्ने अभिलेखका रचनाकारलाई मान्नै पर्दछ। यत्रो महत्व बोकेको स्तम्भ र त्यसमा कुँदिएको अभिलेखमा दिनानुदिनको प्राकृतिक प्रक्रियाले मात्र हैन, अज्ञानताजनित लापरवाहीले पनि क्षयीकरण भइरहेको छ। र, बढ्दो प्रदूषणले क्षयीकरणको रफ्तारलाई तीव्र बनाएको अनुमान सजिलै लगाउन सकिन्छ।

यही अवस्थामा रहन दिने हो भने अबको ५० वर्षमा अशोक स्तम्भ र त्यसमा कुँदिएको अभिलेखलाई सिकिस्त मानिसलाई आईसीयूमा राखेझै राख्नुपर्ने अवस्था आउनेछ। त्यसैले, आईसीयू हैन, जनरल वार्ड पनि हैन, राम्रो वातावरण भएको एउटा कोठामा राख्न सकिने अवस्था अझै छ। दिनानुदिनको 'स्यान्ड ब्लाष्टिङ' र घामपानीबाट हुने क्षयीकरणबाट बचाउनेतर्फ केही गरौं।

दिनदिनै हेरी बस्नेले त्यस्तो क्षयीकरणको भेउ पाउँदैन, तर समयको अन्तरालमा देख्ने प्राविधिक आँखाले त्यो खुट्याउँछ। अभिलेखको अक्षरमा ४० वर्षमा आएको फरक यो पंक्तिकारले प्रष्टै देखेको छ। सम्झौं यो अंग्रेजी उखान– 'समयमै लगाइएको एउटा टाँकाले सिंगो कोटको मूल्य बचाउँछ।'

कसैलाई कसैले यसै गर भन्न सकिन्न, त्यसो भन्न हुन्न पनि। यति चाहिं भन्न सकिएला– युनेस्कोको प्राविधिक ज्ञानको मद्दत लिएर देशको नियम र पुरातत्वको मापदण्ड भित्र रही कुन किसिमले स्तम्भ र अभिलेखलाई जोगाउन सकिन्छ, तुरुन्तै उपाय सोचिहालौं र गरौं पनि।

यो पनि भन्नै पर्छ– हामी नेपालीको भाग्यले गर्दा सुगौली सन्धिसम्म अशोक स्तम्भ पृथ्वीको गर्भमै बस्यो। त्यसअघि नै पत्ता लागेको भए यो पावनभूमि हाम्रो देशमा पर्ने थिएन। तर, पाएर मात्र भएन, जोगाउन पनि सक्नुपर्‍यो।

comments powered by Disqus

रमझम