जेल कारखाना

Share:
  
- दीपक अर्याल
बेलायतको सिको गरेर खोलिएका नेपालका जेल कारखानाले नाफा नकमाए पनि जेनतेन चलिरहकै छन्।

२ भदौ १९८२ मा 'सदर जेल कारखाना' स्थापना भएको एउटा समाचार गोरखापत्र मा छापियो। जसमा, 'कैदीहरूका जीउ र आत्मामा रहन सक्ने रोग–मुर्दापन र खिया जडता' हटाउने उद्देश्यले जेल कारखाना खोलिएको उल्लेख छ। समाचारमा जेल कारखाना नखुल्दासम्म 'शारीरिक, मानसिक र आत्मिक सबै शक्ति–ताकतबाट हीन भई आफैंआफ ठगिई मृतप्रायः भई हीन–पशुका समान जीवन गुमाई लुत्या–कुकुर, सुँगुर मरे जस्तै मरी मशानमा फ्याँकिन्थे' भनिएको छ। कारखानामा काम गर्ने कैदीको काम तथा योग्यता अनुसार उसले भोग्नुपर्ने कैदको समय घटाउन सक्ने गरी सनद जारी गरेको बेहोरा पनि त्यही समाचारमा छ।

यो समाचार छापिएको समयमा नेपालका शासक चन्द्रशमशेर थिए, त्यसैले उनैले जेल कारखानाको सुरुआत गरेको देखिन्छ। समाचारले जेल कारखाना कैदीहरूलाई केही काम दिन मात्र खोलिएको थियो वा त्यसबाट ठूलै मात्रामा उत्पादन गरेर राज्यले नाफा कमाउने पनि उद्देश्य राखेको थियो भन्ने खुलाउँदैन। तत्कालीन समयका कागजपत्र, विज्ञापन, नियम–कानून तथा जेल कारखानालाई हेर्दा ठूलो व्यापारिक उद्देश्य राखेको पनि देखिंदैन। सानै रूपमा शुरू गरिएको भए पनि तत्कालीन शासकहरूले ब्रिटिश शासन प्रणालीबाट प्रभावित भएर यो काम शुरू गरेका थिए भन्न सकिन्छ।

१९औं शताब्दीमै अमेरिका, ब्रिटेन, चीन, जापानलगायत मुलुकमा जेल कारखाना शुरू भइसकेको थियो र त्यसलाई ती मुलुकका सत्ताले सस्तो श्रम स्रोत तथा भरपर्दा आम्दानीको माध्यम मान्थ्यो। अमेरिकामा त हजारौं अफ्रिकन मूलकालाई पक्राउ गरेरै कोइला खानी, ईंटाभट्टा, रेलमार्ग, खेतीपातीमा लगाइन्थ्यो वा त्यस्तै कामका लागि भाडामा दिइन्थ्यो।

रूसमा सन् १९३१–३३ ताका कैदीहरूलाई ह्वाइट सी क्यानल बनाउन प्रयोग गरिएको थियो भने ब्रिटेनमा काठको काम, विभिन्न संरचनाको मर्मतसम्भार, ट्राफिक चिन्हहरू बनाउन लगाइएको भेटिन्छ। कतिपय देशले सुधार्न नसकिने ठानेका कैदीहरूलाई उपनिवेश देशहरूमा पनि पठाउँथे। अहिले पनि धेरै देशका सरकारले बन्दी/कैदीलाई सस्तो श्रम बनाएको देखिन्छ।

थुनुवा मजदूरलाई उपयोग–दुरुपयोग के गरिएको हो भन्नेबारे संसारभरि नै फरक–फरक धारणाहरू सुनिन्छ। कतिपयले गल्तीको सजाय भए पनि कैदीहरूले खाली समयमा केही नयाँ काम सिक्ने र केही कमाउने पनि हुनाले यसलाई सकारात्मक मान्छन् भने कतिपयको मान्यता छ, कैदीहरूलाई बाध्य पारेर गराइएको श्रमबाट नाफा लिनु अनैतिक हो।

नेपालको सन्दर्भमा भने जेल कारखानाबारे विस्तृत अध्ययन हुन बाँकी नै छ। नेपालका जेल–कारखानामा खासगरी, कपडा बुन्ने काम सबैभन्दा बढी चलेको पाइन्छ। तर यी कारखानाबाट राज्यले आम्दानी गरेको भने देखिंदैन। जेनतेन चलिरहेका यस्ता कारखानाबाट उत्पादन भएका सामग्रीहरू बलियो र टिकाउ हुन्छन् भन्ने आम विश्वास छ।

comments powered by Disqus

रमझम