१६–३२ असार २०६८ | 30 June-16 July 2011

बालविवाह अझै चुनौती

Share:
  

विश्रामपुर, पर्सास्थित मदरसा इस्लामियामा अध्यनरत विद्यार्थी ।
पर्सा उदयपुरघुर्मीकी शायमा खातुन (१४) ले बिहे गरेर घर खान थालेको ६ वर्ष भयो । अरूको बिहे देख्दा उनी आफ्नो बिहे सम्झ्न खोज्छिन्, तर सक्दिनन् । भन्छिन्, “दुई वर्षकी हुँदै बुबाआमाले काखमा राखेर बिहे गराइदिएका रे !”

अहिले शायमाको काखमा दूधे शिशु छ । जेठी बुहारी भएकीले घरको सबै काम उनको जिम्मेवारीमा पर्छ । खाना बनाउने, खुवाउने, जुठा भाँडा, लत्ताकपडाको सफाई र बच्चाको हेरचाह उनैले गर्नुपर्छ । उनका उमेरका कतिपय साथीहरू पढिरहेका, खेलिरहेका र बाबुआमाको माया–ममता पाइरहेका छन् । शायमा भन्छिन्, “मैले पनि पढ्न पाएको भए छोराको स्याहारसुसार राम्रोसँग गर्न र घरमा रायसल्लाह दिनसक्थेँ हुँला ।” तर, उमेरले आफैं केटाकेटी उनले यो सब गर्न सकिरहेकी छैनन् । जिल्लाको कुल जनसङ्ख्यामा करिब १५ प्रतिशत रहेका पर्साका अधिकांश इस्लाम धर्मावलम्बीहरू छोरीलाई सानैमा गौना र विवाह गरिदिन्छन् । मुस्लिम बालिकाहरूले पढ्ने उमेरमै बुर्का ओढेर सासू–ससुरा, नन्द–आमाजू, देवर–जेठाजु, श्रीमान, नातेदारहरूसँग गर्नुपर्ने व्यवहारको सामना गर्नुपर्छ । यसरी बुहार्तनमा जोतिँदै उनीहरू असमयमै आमा बन्न बाध्य हुन्छन् । १४ वर्षकै उमेरमा बच्चा जन्माउँदा धन्न शायमालाई केही भएन, तर उनी जस्ता कैयन् किशोरीले प्रसवकालमै ज्यान गुमाएका, गर्भपात, पाठेघरमा घाउ र अस्वस्थ बच्चाको जन्म जस्ता समस्या भोग्नुपरेको प्रसूति रोग विशेषज्ञ डा. अब्दुल रैफ अन्सारी बताउँछन् । धेरै विद्यालय जान पाउँदैनन्, जान पाएकाहरू पनि पारिवारिक जिम्मेवारीका कारण राम्ररी पढ्न सक्तैनन् । विश्रामपुरस्थित श्रीभङ्गी साह उच्च माविको कक्षा १० का १६ छात्रामध्ये जम्मा तीन जना मुस्लिम समुदायका छन् । वीरगन्ज–१५, मुर्लीकी समाजसेवी रुहीअख्तर खातुन मुस्लिम महिलाका लागि बालविवाह ठूलो दशा बनेको बताउँछिन् ।

समस्याको जड अशिक्षा

श्रीभङ्गी साह उमाविका प्रधानाध्यापक रविभूषण राम हिन्दू वर्णाश्रममा जस्तै मुस्लिम समुदायले पनि छोरीलाई कुटुम्बको नासो मानेकाले पढाउनुको सट्टा चाँडै बिहे गरिदिने चलन बसेको बताउँछन् । यो मान्यता हिन्दूहरूमा हराउँदै गए पनि मुस्लिममा अझ्ै कडा छ । तर, यसमा धार्मिक कट्टरता भन्दा गरिबी र शिक्षाको अभाव बढी जिम्मेवार रहेको उनको भनाइ छ । पूर्व राज्यमन्त्री करिमा वेगम मुस्लिम समुदायको शिक्षाका लागि नेपाल सरकारले ठोस नीतिनियम र कार्यक्रम नै नबनाएको बताउँछिन् । उनी भन्छिन्, “शिक्षाबाट बञ्चित भएको बढी मार महिला र बालिकामा परेको छ ।” लोकतान्त्रिक गैर–सरकारी महासंघका केन्द्रीय सदस्य फुलमहम्मद मियाका अनुसार मुस्लिम समुदायमा अरूको देखासिखीबाट पहिला नभएका विकृति पनि भित्रिन थालेका छन् । जस्तो, इस्लाम धर्ममा दाइजोलाई ‘गुनाह’ अर्थात् पाप मानिन्छ, तर यो पापको अभ्यास पनि राम्रै गरी चलेको छ । मिया भन्छन्, “यो कुप्रथा घुसेकाले पनि पछि धेरै दाइजो दिनुपर्छ भनेर कतिपय मुसलमान छोरीलाई पढाउनुको साटो चाँडो बिहे गरिदिन हतारिन्छन् ।” मुस्लिम समुदायमा छोराछोरी जन्माउने शक्तिलाई ‘अल्लाहको उपहार’ र परिवार नियोजनलाई ‘पाप’ ठानिन्छ । यसबाट निश्चय नै महिलामाथि धेरै छोराछोरी हुर्काउनुपर्ने बोझ् थपिएको छ । यद्यपि वीरगन्ज जामे मस्जिदका मौलाना हविवुर रहमान, कुरान र हदिस जस्ता निर्देशक मुस्लिम धर्मग्रन्थहरूमा बालविवाह र दाइजोले कतै ठाउँ नपाएको बताउँछन् । तर पर्साका मुस्लिम समुदायका लागि अशिक्षा र दाइजोसँग जोडिएको बालविवाह ठूलो चुनौती बनेको छ ।

अलि असगर, पर्सा

comments powered by Disqus

रमझम