१–१५ साउन २०६८ | 17-31 July 2011

बाधवाका क्यासिनो खारेज

Share:
  
राजस्व नतिर्ने, नेपालीलाई जुवा खेलाउने र अपराधी जन्माउने थलो सम्बन्धी हिमाल को खुलासापछि राकेश बाधवाद्वारा सञ्चालित क्यासिनो बन्द गर्ने सरकारी निर्णयलाई सर्वोच्चले समेत सदर गरेको छ ।

१६–३० कात्तिक २०६७ को हिमाल को आवरण ।
सर्वोच्च अदालतले २७ असारमा भारतीय नागरिक राकेश बाधवाको कम्पनी नेपाल रिक्रिएसन सेन्टरद्वारा सञ्चालित सबै क्यासिनोको सञ्चालन अधिकार खारेज गर्दै गत वैशाखसम्मको रोयल्टी र त्यसको ब्याजसहित रु.३४ करोड राजस्व असुल्न सरकारलाई निर्देशन दिएको छ । यसअघि उक्त कम्पनीलाई राजस्व बुझउन बारम्बार ताकेता गरेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २ असारमा सेन्टरद्वारा सञ्चालित सबै क्यासिनो बन्द गर्न पत्र काटेपछि बाधवा सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले मन्त्रालयको निर्णयलाई सही ठह¥याउँदै फैसला गरेकाले अब नेपाल रिक्रिएसन सेन्टरका नामबाट सञ्चालित क्यासिनोको लाइसेन्स खारेज भएको र राजस्व असुल गर्नुपर्ने मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्याल भन्छन्, “मन्त्रालयले सञ्चालन खारेजीको निर्णय गरेर आफ्नो काम गरेको छ । अब रिक्रिएसन सेन्टरले तिर्न बाँकी सात वर्षदेखिको रोयल्टीसहित रु.३४ करोडभन्दा बढीको बाँकी बक्यौता उठाउने काम राजस्व विभागको हो ।”

क्यासिनो सञ्चालनको कुनै नीति–कानून नभएको अवस्थामा नेपालीहरूलाई खेलाउन नपाइने गरी सन् १९६८ मा राजधानीको होटल सोल्टीमा ‘क्यासिनो नेपाल’ नामको पहिलो जुवाघर खुलेको थियो । २०४६ सालपछिको सरकारले थप खोल्न अनुमति दिएपछि नेपाल रिक्रिएसन सेन्टर, ग्राण्ड भ्याली लिङ्क र गिल्ड इण्टरनेशनलले काठमाडौं र पोखरामा क्यासिनोहरू चलाए । पर्यटन मन्त्रालयबाट ४ माघ २०५० मा अनुमति पाएको रिक्रिएसन सेन्टरले क्यासिनो सञ्चालन गर्ने लाइसेन्स लिएका कतिपय तारे होटलहरूको समेत गरी शुरुमा आठ वटा र पछिल्लो समय होटल सोल्टीमा क्यासिनो नेपाल, हायातमा तारा, डेल अन्नपूर्णमा क्यासिनो अन्ना र एभरेष्टमा क्यासिनो एभरेष्ट गरी चार वटा क्यासिनो चलाउँदै आएको थियो । सेन्टरका क्यासिनो खारेज भए पनि राजधानीका होटल साङ्ग्रिला र मल्ल तथा पोखराका क्यासिनो यथावत् छन् ।

काठमाडौं जिल्ला प्रहरी प्रमुख भएर आएका एसपी रमेश खरेलले राजधानीका विभिन्न क्यासिनोमा कडाइ गरेपछि नेपालीका लागि प्रतिबन्धित क्यासिनोमा नेपालीहरूलाई खेलाउने गरिएको र तिनको लहरो अपराध जगतसँग जोडिएको खुल्दै आएका हुन् । पर्यटन मन्त्रालयका सहसचिव अर्यालका अनुसार क्यासिनोको लाइसेन्स र सञ्चालन अनुमतिबारे मस्यौदा भएको नयाँ नियमावलीमा पनि नेपालीलाई प्रवेश गराउन नपाइने उल्लेख छ । उनी भन्छन्, “मन्त्रालयले पठाएको ड्राफ्टमा नेपालीलाई निषेध गर्ने भनिएको छ, तर खुल्ला गर्ने या निषेध भन्ने कुरा राजनीतिक निर्णयमै भर पर्छ ।”

हिमाल खबरपत्रिका को १६–३० कात्तिक २०६७ को अङ्कमा देशमा भइरहेका लुटपाट, अपहरण, हत्यालगायतका अपराधमा संलग्न व्यक्तिहरू क्यासिनोको लतमा फसेका विवरणसहितको खोजमूलक आवरण रिपोर्ट प्रकाशित भएको थियो । त्यसबेला हिमाल ले डा. उपेन्द्र देवकोटाकी छोरी, डा. भक्तमान श्रेष्ठ, ओमकार भट्टचन, महेश मुरारकालगायतको अपहरण काण्डबाट अपराधीहरूले असुलेको फिरौती रकम राजधानीका विभिन्न क्यासिनोमा उडाएको खुलासा गरेको थियो । २२ जेठ २०६६ मा आफ्नै छात्रा ख्याति श्रेष्ठको अपहरण र नृशंस हत्या गर्ने शिक्षक वीरेन प्रधान, स्पाइडर ग्रुपका नाममा आतङ्क मच्चाउने सन्दीप पाठक (मिलन लामा)देखि व्यापारीहरू भट्टचन, मुरारका, निरज कक्षपति र बाबुराजा रावलको अपहरणमा संलग्न अमर टण्डन, उदय सेट्ठी (हाल जेलमा)को समूहका सदस्यहरूको अखडा पनि राजधानीका क्यासिनो नै थिए । प्रहरीको फन्दामा परेका यही समूहका प्रह्लाद महतले फिरौती रकम क्यासिनो र डान्स रेस्टुरेन्टमा सकिने गरेको स्वीकारेका थिए ।

हिमाल ले क्यासिनोमा पल्केर १५ वर्षमा रु.४ करोड ५० लाख सिध्याउने सोलुखुम्बुका मौलिधन मोक्तानसहित करोडपतिबाट कङ्गाल भएकाहरूको पीडालाई प्रकाशमा ल्याएको थियो । क्यासिनोमा लुक्लाको एभरेष्ट प्लाजा होटल, दैनिक रु.५० हजारसम्मको कमाइ हुने कार्गो कारोबार र राजधानीको अढाइतले घर–जग्गा सिध्याएर अहिले त्रिभुवन विमानस्थल नजिकै ‘भट्टी’ खोली गुजारा चलाइरहेका मौलिधनले हिमाल सँग भनेका थिए, “क्यासिनोले मलाई त खरानी नै बनायो !” क्यासिनोमै डेरा जमाएर बस्ने गिरोहहरूले हारेकालाई मोटरसाइकल, सुन, गाडी, घर–जग्गा बन्धकीमा भोलिपल्ट १० प्रतिशत थपेर फिर्ता गर्नुपर्ने शर्तमा रु.१ हजारदेखि रु.५० लाखसम्म ऋण दिने गर्दथे ।

हिमाल को खोजले नेपालीका लागि प्रतिबन्धित क्यासिनोहरू नेपाली जुवाडेकै भरमा चलिरहेको पाएको थियो । बेलाबेलामा छापा मारिए पनि क्यासिनो व्यवस्थापनले प्रहरीका वडा कार्यालयदेखि प्रधान कार्यालय तथा स्थानीय प्रशासनदेखि गृहमन्त्रालयसम्मका अधिकारी र मन्त्रीसम्मलाई नजराना चढाउने गरेकाले कारबाही अघि बढ्न सकेको थिएन । नेपाली छिर्न नदिन प्रहरी सक्रियता बढाउँदा माओवादी मजदुर आन्दोलन समेत बेहोर्न पुगेका पूर्व गृहमन्त्री वामदेव गौतमले क्यासिनो सञ्चालकसँग प्रहरीका तलदेखि माथिसम्मका अधिकारीहरू मिलेका थाहा पाएको र आफू मन्त्री हुँदा सञ्चालकहरूबाट मोटो रकमसहित आँखा चिम्लिदिन प्रस्ताव आएको हिमाल लाई बताएका थिए ।

डम्बरकृष्ण श्रेष्ठ

comments powered by Disqus

रमझम