४ चैत्र २०६९ | 17 March 2013

'अर्थतन्त्र खस्कियो, रोजगारी भएन'

Share:
  

राजनीतिक अस्थिरताले अर्थतन्त्रको गति सुस्त बनिरहँदा यसप्रति आम जनताको आशा पनि धर्मराउन थालेको हिमाल जनमत सर्वेक्षणले देखाएको छ। गत साता देशभरका प्रमुख १२ शहरका ३७३ उत्तरदातामाझ् गरिएको सर्वेक्षणमा 'वर्तमान आर्थिक अवस्था कस्तो छ?' भनेर सोधिएको प्रश्नमा ५९.२ प्रतिशतले 'नराम्रो छ' भन्ने जवाफ दिएका छन्। 'ठीकै छ' भन्नेको संख्या २८.२ प्रतिशत छ भने 'थाहा नभएको' बताउने ११ प्रतिशत छन्। आर्थिक अवस्था 'राम्रो' ठान्नेको संख्या साँच्चै निराशाजनक देखियो, मात्र १.६ प्रतिशत।

क्षेत्रगत रूपमा सबैभन्दा धेरै सुदूर–पश्चिमाञ्चलका उत्तरदातामध्ये ८ प्रतिशतलाई अहिलेको आर्थिक अवस्था 'राम्रो' लागेको छ भने ६४ प्रतिशतले 'ठीकै रहेको' ठानेका छन्। अन्यत्रभन्दा बढी धनगढी र वीरगञ्जका ८–८ प्रतिशत उत्तरदातालाई आर्थिक अवस्था राम्रो रहेको लाग्छ। घोराहीका ९२, नेपालगन्ज र बुटवलका ७२–७२, वीरगन्जका ७६, विराटनगरका ८० तथा काठमाडौंका ५२.५ प्रतिशत उत्तरदाताले आर्थिक अवस्था नराम्रो रहेको उत्तर दिए। स्नातकोत्तर तह वा सोभन्दा माथि पढेका ६९.६ र स्नातक तहका ७६.७ प्रतिशतले आर्थिक अवस्था नराम्रो रहेको बताए, जसले शिक्षित नेपाली अर्थतन्त्रको अवस्थाप्रति चिन्तित रहेको देखाउँछ।

धेरैलाई अर्थतन्त्रको यो अवस्था तत्काल सुधि्रइहाल्ने विश्वास छैन। 'आगामी ६ महीनामा अर्थतन्त्र कस्तो हुने सम्भावना देख्नुहुन्छ' भनेर सोधिएको प्रश्नमा ४०.५ प्रतिशतले 'नराम्रो' र २९.८ प्रतिशतले 'ठीकै होला' भन्ने उत्तर दिए, 'राम्रो' हुने आशा गर्ने ५.४ प्रतिशत मात्र देखिए, 'थाहा नभएको' बताउने २४.४ प्रतिशत भेटिए। क्षेत्रगत रूपमा पनि देखिएको निराशाजनक यो अवस्था मुलुकको अस्थिर राजनीति, लगानीमैत्री वातावरण तथा शान्तिसुरक्षा अभावमा आर्थिक गतिविधि फैलिन नसक्नुको परिणति हो।

यस्तै निराशा रोजगारीको अवस्थामा पनि देखियो। सर्वेक्षणमा सहभागी ७७.७ प्रतिशत उत्तरदाता रोजगारीको अवस्था 'नराम्रो' रहेको ठान्छन्, १९ प्रतिशतलाई 'ठीकै' लाग्छ, 'राम्रो छ' भन्ने १.३ प्रतिशत मात्र छन्। काठमाडौंका ९९ प्रतिशत उत्तरदाताले रोजगारीको अवस्था 'नराम्रो' ठाने। ६ महीनापछि रोजगारीको अवस्था 'राम्रो' हुनेमा आशावादी ७.२ प्रतिशत छन्, जबकि ४८.३ प्रतिशतलाई त्यस्तो आशा छैन।

आकाशिंदो महँगीले जेनतेन गुजारा चलाइरहेका आम नेपालीको आम्दानी राम्रो छैन। ७५.६ प्रतिशत उत्तरदाताले पारिवारिक आम्दानी 'ठीकै' रहेको बताए, १२.३ प्रतिशतको पारिवारिक आम्दानी 'नराम्रो' छ र 'राम्रो' आम्दानी भएका ११.५ प्रतिशत मात्र भेटिए। धेरैलाई अबको ६ महीनामा आम्दानी बढ्ला भन्ने लाग्दैन। ६२.६ प्रतिशतले ६ महीनापछि पनि आम्दानी उस्तै हुने, १६.४ प्रतिशतले 'राम्रो हुने' र १४.७ प्रतिशतले चाहिं अझ्ै नराम्रो हुने अनुमान गरेका छन्।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम