पापको निशानामा निष्पाप

Share:
  
- कनकमणि दीक्षित
आस्थाको न्यानो बन्नुपर्ने धर्मलाई घृणाको धारिलो छुरा बनाउने दुष्प्रयासले पाकिस्तानमा निर्दोषहरूमाथि अपराधको कहर बर्साइरहेको छ।

अबुल हसन ईस्फाहानी पाकिस्तानका संस्थापक मुहम्मद अलि जिन्हाका निकट सहयोगी नेता थिए। कराचीको अब्बास नगरमा उनकै नाममा निर्मित छ– ईस्फाहानी रोड जहाँको रविया फ्लावर अपार्टमेन्ट ब्लकमा २० फागुनमा ठूलो विस्फोट गराएर ५० जनाको ज्यान लिइयो, सयौंलाई अंगभंग पारियो। सिया बहुल त्यस क्षेत्रमा साँझ् प्रार्थना सकेर फर्कन लागेका, किनमेलमा जुटेका र हावा खान अपार्टमेन्टको बरण्डामा निस्केकाहरूलाई निशाना बनाइएको थियो। १५० किलोभन्दा बढी विस्फोटक पदार्थ पड्काएर ती नागरिकहरुको निर्दोष रगतलाई नालीको पानीमा मिसाउने कृत्य गरिंदा तत्काल उद्धारमा जुट्ने स्थानीय युवा नै भए। कारण, हत्याराहरूले श्रृंखलाबद्ध विस्फोट गराएकाले सुरक्षाकर्मीहरू आइपुग्न ढिला भयो। उनीहरू आपतकालीन अवस्थामा जुट्ने युवा, अग्निनियन्त्रक, प्रहरी, रेन्जर, पत्रकार जो–कोहीलाई सिध्याउन चाहन्छन्।

पछिल्लो समय पाकिस्तानमा जारी रगतको खेललाई कराचीमा केन्द्रित गराउन खोजिंदैछ र महानगरको राजनीतिक–जातीय दुश्मनी एकअर्कालाई नामेट बनाउने गरी सघन हुँदैछ। कराचीमा हुर्किरहेको खतरनाक साम्प्रदायिक विद्वेषले हतियार, लागूऔषध र रियल स्टेट माफियागिरीको मलजल पाएको देखिन्छ। जात–धर्ममा नभई वर्गमा आधारित राजनीतिबाट अगाडि बढेको सिन्ध प्रान्तको यो राजधानीको गर्व अहिले दयनीय रूपमा सुरक्षात्मक अवस्थामा छ। उर्दूभाषी मोहाजीर र सिन्धी बासिन्दाको प्रतिनिधित्व गर्ने राजनीतिक समूहहरूको द्वन्द्व बढिरहेको बेला आफूलाई पञ्जाबी, बलुच र पस्तुनहरूको हितरक्षक भन्नेहरू थपिएका छन्। साम्प्रदायिक आक्रमणको पछिल्लो प्रवृत्तिलाई केलाउँदा खतराको दायरा अब इसाई, हिन्दू वा अहमदियाहरूभन्दा धेरै परसम्म फैलिसकेको मान्न कर लाग्छ। तुलनात्मक रूपमा पाकिस्तानको ठूलो अल्पसंख्यक समुदाय भए पनि सियाहरुमाथि उत्तर, पूर्व र पश्चिमको गिल्गिटदेखि बाल्टिस्तानसम्म र लाहोरदेखि क्वेट्टासम्म आक्रमण भइसकेको छ। अब निशाना दक्षिणको कराची भएको छ।

अहिलेलाई टेलिभिजनहरूबाट आइरहेका अस्पतालहरुको इमर्जेन्सीका दृश्य र परिवारजनका चिलबिलले अरू विषय बिर्साएको छ। आगामी मे महीनाका लागि निर्धारित निर्वाचन (राष्ट्रिय र प्रान्तीय), अफगानिस्तानबाट नेटो फौजको बहिर्गमनले पाकिस्तानमा देखाउने परिणाम, आफूलाई अत्यावश्यक भइसकेको प्राकृतिक ग्याँस इरानबाट ल्याउने योजनामा अमेरिकी प्रतिबन्धको चेतावनी, ग्वादर बन्दरगाह व्यवस्थापनको जिम्मा चिनियाँ ठेकेदारलाई दिने विवाद– सबै बिर्सिइएको छ, सबैको आँखा रविया फ्लावरको भग्नावशेषबाट निस्किरहेको धुवाँमै टिकिरहेकाले। यद्यपि, कराची दुई करोडको आवादी हो र २१ फागुनको घामसँगै यसले आफ्नो नियमित लय समातिसकेको छ। चर्चित सिन्धी राजनीतिकर्मी शर्मिला फारुकीको विवाह कार्यक्रम योजना अनुरुप अगाडि बढिरहेको छ। प्रायः अशान्त ल्यारीदेखि अस्वाभाविक रूपमा फैलँदो ओराङ्गीसम्म र शानशौकतको डिफेन्स र क्लिफ्टनसम्मका छिमेकी नगरहरू अब्बासको झ्ट्काबाट स्तब्ध भएर पनि आ–आफ्नो धुनमा फर्किसकेका छन्। अब्बास र यस वरपरका अस्पतालहरूको एम्बुलेन्सका साइरनलाई सर्वव्यापी भीआईपीहरूको सवारीको साइरनले धीमा बनाइदिएको छ।

पाकिस्तानमा निर्दोषहरूको सुनियोजित हत्या नियमित जस्तै हुनपुगेको छ। र, निर्दोषहरुलाई रक्षाहीन अवस्थामा पुर्‍याउने अपराधले नागरिकहरुमा भगवान भरोसा कतिसम्म बढाएको छ भने न्यायको आवाजलाई आगामी प्रहारको निरीह प्रतीक्षाले जितेको छ। २० फागुनको दिउँसो कराचीका एक जना प्रतिष्ठित पत्रकारले मलाई शहरमा हत्या र विस्फोट विगतको जस्तो जथाभावी नभई 'टार्गेटेड' हुन थालेको बताएका थिए। तर, त्यही साँझ्को घटनापछि उनी बाध्य भए, आफ्नो धारणा बदल्न। सूचनाप्रविधि (आईटी) का एक इन्जिनियरले भने, “मानिसका लागि न्यानो कपडा हुनुपर्ने धर्मलाई घातक तरबार बनाइएको छ।”

दक्षिणएशियाको अर्को सदस्य बंगलादेशमा भने सन् १९७१ का द्रोहीहरूलाई अपराधको चारदशकपछि कानूनको कठघरामा उभ्याईंदैछ। अब्बास नगर विस्फोटका योजनाकारहरूले पनि निर्दोषको खुन बगाउने यो अपराधका निम्ति कानूनले तिनीहरूलाई दशकौंपछिसम्म पछ्याउन नछाड्ने र सजायको भागीदार बनाएर छाड्ने बुझनुपर्छ।

(२२ फागुनको भारतीय अंग्रेजी दैनिक दि हिन्दू बाट अनूदित)

comments powered by Disqus

रमझम