१–१५ साउन २०६८ | 17-31 July 2011

एउटा तस्बिर

Share:
  
- क.दी.

पछिल्लो अङ्कको हिमाल खबरपत्रिका ले दिएको एकजना प्रधानमन्त्रीको तस्बिरमा नामको गल्ती भएको देखेपछि मलाई लागेको थियो ‘सम्पादकले अर्को अङ्कमा माफी माग्नुपर्ने भो !’ तर फेरि आफैँलाई लाग्यो— कसले चिन्छ यी राणाहरूलाई ? किन कपाल दुखाइरहनु ? । किनभने देव शमशेरको त्यो तस्बिरमा उनी जुद्ध शमशेर जस्तै देखिन्छन् अनुहारले । उनले भिरेको त्यो लामो खुकुरी र दौरासुरुवाल बाहेक त्यसमा उनलाई खुट्याउने अरू कुनै चिन्ह छैन । त्यसमाथि त्यो तस्बिर फोटो होइन, हातले बनाएको तैलचित्र (‘पेन्टिङ’) हो ।

मैले बुझेसम्म समजी (बालकृष्ण शमशेर)लाई राणाकालमै कुनै प्राइमिनिष्टर (या डाइरेक्टर जनरल साहेब)ले जङ्गबहादुरदेखि तलसम्मका सबै ‘श्री ३’ हरूका एकनासे, आदमकद (लाइफ साइज) चित्रहरू बनाउन अर्डर दिएका थिए र उहाँले त्यसको एउटा ‘फोरम्याट’ तयार पार्नुभएको थियो । त्यसै फोरम्याटमा जुद्ध शमशेरको फोटो उहाँले आफैँ बनाउनुभएको थियो र अरूका चित्र चाहिँ कुनै अमर चित्रकार (पछि प्राज्ञ) र कुनै सके उहाँकै छोरी ज्वालाले भरेका थिए । सुनेकै कुरा हो । सत्य हो होइन थाहा छैन ।

हिमाल मा छापिएको त्यो तस्बिर तिनै फोरम्याट–वाला चित्र मध्येको देव शमशेरको हो कि भन्ने मलाई लाग्छ । त्यस्तै गरी समजीलाई नै पछि राजा महेन्द्रले ‘श्री ५’हरूका पनि त्यस्तै चित्र बनाउन आदेश दिएपछि उहाँकै कुची र निर्देशनमा बनाइएर ती या त नारायणहिटी या सिंहदरबारमा झ्ुण्ड्याइएका थिए । त्यो अलिपछिको कुरा भयो । त्यस्ता चित्र बनाउँदा समजीले इतिहासको पनि ध्यान राखेर कुन महाराज या कुन महाराजाधिराजको छातीमा कुन कुन तक्मा सजाउने कुन पोशाक लगाउने भत्रे ठेगान गर्नुहुन्थ्यो र श्रीपेचका रूपरङ्गमा पनि सोही अनुरुप परिवर्तन गर्नुहुन्थ्यो रे ! उदाहरणार्थ जङ्गबहादुरका समयदेखि नै उपयोगमा आएको

‘तीनचाँदे’ श्रीपेचको पछाडिको कल्की पुरानो भई ढल्किँदै ढल्किँदै गएपछि (शायद) चन्द्र शमशेरका पालामा अमेरिकाबाट ‘बर्ड अफ प्याराडाइज’ चराका नयाँ पुच्छर ल्याएर फेरि ठाडो अग्लो पारिएको थियो भनिन्छ । ती चित्रमा महाराजहरू चित्रलाई अनुहारमा धेरै केही परिवर्तन गर्नु पर्दैनथ्यो (सबै एकै खलकका हुनाले) तर पोशाक समय अनुसार फेरिँदै गएको देखाइएको हुन्थ्यो । जुद्ध शमशेरलाई चिनाउन अरू कुराका अतिरिक्त समजीले उनको तल्लो ओठको मुन्तिर, चिउँडोमाथि रहने सानो ‘मिनी’ दाह्री सजाउनुभएको थियो अरे ! त्यस्तै चन्द्र शमशेर र भीम शमशेरका लामा–लामा दाह्री हुन्थे एउटा तील–चामले, अर्को पूरै सफेद !

माथि, मैले एकै खलकका हुनाले एकनासे अनुहार पारिएका हुन्थे भनेको ती तैल चित्रहरूमा मात्रै हो । सालिकहरूमा भने राणा प्रधानमन्त्रीका मुख फोटोमा देखिने जस्तै गरी बनाइएका छन् । राणाकालमा ठड्याइएका ती ‘श्री ३’ र ‘श्री ५’का सालिकहरू सबै बेलायतमा निर्मित हुन्, त्यहाँका नामूद कलाकारहरूद्वारा बनाइएका अनि समुन्द्र–यात्राबाट कलकत्तासम्म आई स्थलमार्गबाट काठमाण्डू आइपुगेका । चन्द्र शमशेरका पालामा ठड्याइएका ती सालिकहरू ऐलेको कान्तिपथको गोश्वारा हुलाक भएको ठाउँनिरदेखि उत्तर जमलसम्मै चौबाटाहरूमा बीचमा ‘आइल्याण्ड’ बनाएर सम्मानसाथ स्थापना गरिएका थिए । वीर शमशेर, भीम शमशेर र जुद्ध शमशेरका भने जाउलाखेल (ऐलेको चिडियाखाना अगाडि) चौरमा उभ्याइएका थिए । पञ्चायतकालमा ती सबै विस्थापित भए । जङ्गबहादुर, रणोद्दीप र चन्द्र शमशेर टुँडिखेलका कुना–कुनामा पु¥याइए । पृथ्वीवीरविक्रम भद्रकालीको पूर्वपट्टि स्थापित गरिएका छन् ।

ती सालिकका कुरा गर्दा भत्रुपर्छ— कलाकारिताका दृष्टिले पनि ती उत्कृष्ट छन्, यसरी उपेक्षित हुनुपर्ने खालको होइनन् । जङ्गबहादुर र रणोद्दीपका सालिकलाई हेरेर पश्चिमा कलाविद्हरूले समेत ‘वान अफ द वेस्ट एक्विष्ट्रियन आइकन’ (सर्वोत्कृष्ट अश्वारुढ मूर्ति) भनेर प्रशंसा गरेका थिए केही वर्षअघि ।

राणाकालका धेरै ऐतिहासिक र महŒवपूर्ण व्यक्तिका फोटोहरू पाइन्छन् तर तिनलाई चित्रे मान्छे अब राणाहरूमाझ्ै पनि अति कम छन् । एक जना पुरुषोत्तम शमशेर हुनुहुन्छ धेरैलाई ठम्याएर भत्र सक्ने । हाम्रा ‘आर्काइभ’हरूमा भएका त्यस्ता दुर्लभ फोटोहरू उहाँ जस्ता थोरै बाँकी रहेका विज्ञहरूलाई देखाएर परिचय लेखिराख्नु उचित हो । तर ‘शान्ति प्रक्रिया अघि नबढेको’ ऐलेको नेपालमा कल्लाई त्यतापट्टि हेर्ने फुर्सत छ ? कल्लाई चासो होला ?

comments powered by Disqus

रमझम