१६-३१ असार २०६९ | 30 June-15 July 2012

घटेन धन्दा

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
प्रहरीले जति समाते पनि लागूऔषधको माग र खपत बढिरहेकै अनि समस्या झन्झन् विकराल बन्दैछ।
p14
p14a
२७ जेठमा काठमाडौंको चाल्नाखेलबाट बरामद गरिएको २ हजार ६४० किलो चरेश, चरेश बनाउने कच्चा पदार्थ र पक्राउ व्यक्तिहरु। 

लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाई (एएनएलआईयू) नयाँ बानेश्वरको प्रहरी टोलीले २७ जेठमा काठमाडौंको सेतीदेवी–९, चाल्नाखेलमा ८८ वटा प्याकेटमा विदेश पठाउन ठिक्क पारिएको २६४० केजी चरेश बरामद गर्नुका साथै पाँच जनालाई समात्यो। त्यसअघि २४ वैशाखमा काठमाडौं, बाडभञ्ज्याङमा बा२च ६१७० न को टाटा मोबाइलबाट १०५ केजी र सीतापाइलामा ३१ केजी चरेश बरामद भएको थियो। 

जेठको तेस्रो साता राजधानीका विभिन्न स्थानबाट २२ हजार ६२० जनालाई एक डोज पुग्ने रु.५६ लाख ५५ हजार मूल्यको ११३१ ग्राम खैरो हेरोइनसहित पाँच जना समातिए। जेठकै दोस्रो साता रु.२७ लाख ४५ हजार बराबरको खैरो हेरोइन, चरेश, बुपरनर्फिन, एम्पुल र डाईजेपामसहित ६ जना समातिए। 

प्रहरीले जति समाते पनि लागूऔषधको माग र खपत बढिरहेकै अनि समस्या झन्झन् विकराल बन्दैछ। गएको चैत तेस्रो साता प्रहरीले विभिन्न स्थानमा चार भारतीय र एक चेक नागरिकलाई रु.१४ लाख ५० हजार मूल्यको लागूऔषध तथा १८ चैतमा काठमाडौं विमानस्थलमा दोहा उड्न लागेका जर्मन नागरिक ब्रेण्ड क्लेन्स्चिमिण्डलाई २२ केजी चरेशसहित समातेको छ। चैतकै पहिलो साता काठमाडौं बल्खुबाट रु.२६ लाख बराबरको ६५० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका थिए। 

चैत २०६८–जेठ २०६९ बीचको तीन महीनामा राजधानीमा बरामद र पक्राउ लागूऔषध तथा कारोबारीको यो विवरण नेपालमा भइरहेको लागूऔषधको अवैध धन्दाको भयावह अवस्था झ्ल्काउन काफी छ। प्रहरीले असार पहिलो साता पनि राजधानीका विभिन्न स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ। 

सन् २०१२ को जनवरीदेखि मेसम्मको पाँच महीनामा काठमाडौंमा अवैध लागूऔषध कारोबारमा समातिने १०५६ पुगेका छन्, जसमध्ये ९७३ नेपाली, ७९ भारतीय र चार जना तेस्रो मुलुकका नागरिक छन्। तीमध्ये ४२ नेपाली, दुई भारतीय र एक तेस्रो मुलुकका महिला छन्। बरामद लागूऔषध परिमाण र पक्राउ व्यक्तिको संख्याले यो अवैध कारोबारमा कुनै कमी नआएको स्पष्ट छ। (हे. टेबुल) 

गत वर्ष नेपालभर समातिएका २१६३ जना लागूऔषध कारोबारीमध्ये ९७ महिलासहित २०२८ नेपाली र ११ महिलासहित १३५ विदेशी थिए। उनीहरूबाट ३७ हजार १८६ केजी ६९१ ग्राम गाँजा, २९२४ केजी ४५७ ग्राम चरेश, ११ केजी ५८६ ग्राम हेरोइन र २३५३ ग्राम अफिम बरामद भएको थियो। त्यस्तै ३९ हजार ६९५ थान डाईजेपाम, २७ हजार ५३८ थान बुपरनर्फिन र ८३ हजार ७६२ ट्याब्लेट अन्य लागूऔषध पनि बरामद गरिएको थियो। पक्राउ पर्नेमा अधिकांश मुख्य कारोबारी नभई ओसारपसारमा संलग्न भरिया भएको एएनएलआईयूका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज सिलवाल बताउँछन्। 

पुराना कारोबारी 

p15a
विभिन्न समयमा सिरक–डसनामा ओसारपसार गर्न लागिएका लागूऔषध। 

प्रहरीका अनुसार देशमा उत्पादन हुने र बाहिरबाट आउने लागूऔषधको ६० प्रतिशत राजधानीमा र त्यसपछि पोखरा, धरान, वीरगञ्ज, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, जनकपुर जस्ता शहरमा खपत हुन्छ। नेपालमा ब्राउन सुगर, ह्वाइट सुगर र फर्मास्युटिकल लागूऔषध बुपरनर्फिन, नाइट्रोजिपाम, डाईजेपाम भारत र तेस्रो मुलुकबाट आउँछन्। काठमाडौंमा वीरगञ्जहुँदै हेटौंडाबाट लागूऔषध राजधानी भित्रिन्छ भने नेपालमै उत्पादन भएर विदेश तस्करी हुने चरेश भारतको गोवाहुँदै युरोप, अमेरिका पुग्छ। 

२७ जेठमा काठमाडौंको चाल्नाखेलमा समातिएको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको २६४० केजी चरेश स्थलमार्गबाट गोवा लैजाने तयारी गरिंदै थियो। त्यससँगै लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न मकवानपुरका हस्तबहादुर रुम्बा, तीर्थबहादुर राई, वीरे लामा, चन्द्रबहादुर गोले र कुमार लामा पक्राउ परेपछि प्रहरी यो धन्दामा संलग्न पुराना र अनुभवी तस्करहरूको मूल नेटवर्कमा पुग्ने प्रयासमा छ। २ असारमा ११०० थान बुपरनर्फिन र दुई एमएलका त्यति नै डाईजेपामसहित पक्राउ परेका भक्तपुरका चन्द्रबहादुर पोडे लागूऔषध कारोबारमा जेल परेर ११ असोज २०६८ मा छुटेका व्यक्ति हुन्। प्रहरीका अनुसार दुई दशकदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा थोक बिक्रेता रहेका पोडे लागूऔषध बजारमा 'हाकु' भनेर चिनिन्छन्। 

p15b
हर्लिक्सको बट्टाभित्र लुकाएर ओसारपसार गर्न लागिएका लागूऔषध। 

१९ जेठमा ९५ ग्राम खैरो हेरोइनसहित थानकोटमा आकाश भनिने मतलुब अन्सारी समातिएपछि लामो समयदेखि भारतको रक्सौलबाट काठमाडौं, हेटौंडा, चितवन, पोखरा लगायतका शहरमा खैरो हेरोइन पठाउने र 'होम डेलिभरी' समेत गर्ने वीरगञ्जका अनवर अन्सारी पनि प्रहरीको फेला परेका छन्।“अन्सारी समूहका व्यक्तिहरू समातिएपछि रक्सौलमा लागूऔषधका मुख्य डिलर इमाम र सञ्जय भएको पत्ता लागेको छ”, लागूऔषध नियन्त्रण इकाईका प्रहरी उपरीक्षक (एसपी) शेरबहादुर बस्नेत भन्छन्। 

२४ वैशाखमा बाडभञ्ज्याङ र सीतापाइलाको देवी भनिने देवेन्द्रविक्रम रोक्का (छपाली)को घरबाट चरेशसहित गोविन्दकुमार रोक्का छन्त्याल, मनजित घर्तिमगर र नगेन्द्र थापा समातिए पनि मुख्य अभियुक्त देवी फरार छन्। प्रहरीका अनुसार लामो समयदेखि चरेश कारोबारको अन्तर्राष्ट्रिय नेटवर्कमा संलग्न देवी २०३६ मा डेढ महीना र २०४२ मा साढे चार वर्ष जेल भुक्तान गरेर छुटेका व्यक्ति हुन्। 

तस्करीका अनेक उपाय 
५ असारमा एक्सप्रेस मेल सर्भिसको प्याकेटमा लुकाएर ब्याङ्कक्हुँदै बेइजिङ पठाउन लागिएको सात केजी र आम्सटर्डम पठाउन लागिएको डेढ केजी चरेश काठमाडौं विमानस्थलमा बरामद भयो। गएको माघमा काठमाडौंबाट विभिन्न कार्गो र कुरियरमार्फत लागूऔषध विदेश पठाउने अमेरिकी नागरिक क्रिष्टिन पिटर स्टिग्लर ११४० ग्राम चरेशसहित समातिइन्। माघकै पहिलो साता साढे सात केजी चरेशसहित दोहाहुँदै मस्को जान लागेका रुसी नागरिक इल्दुश काप्केइभ काठमाडौं विमानस्थलमै समातिए। 

p15c
झण्डाभित्र लुकाएर ओसारपसार गर्न लागिएका लागूऔषध। 

२० जेठमा काठमाडौं कलङ्कीमा समातिएकी गीतादेवी पटेल (कुर्मी) ले ६१४ ग्राम खैरो हेरोइन हर्लिक्सको बट्टामा राखेर सात वर्षकी छोरीलाई बोकाएकी थिइन्। गीताले एक पटक वीरगञ्जबाट लागूऔषधहरू काठमाडौं पुर्‍याउँदा रु.५००० पाउने गरेको प्रहरीलाई बताइन्। १५ जेठमा काठमाडौं, नागढुङ्गामा बा२ख ३५०७ नम्बरको यात्रुवाहक गाडीमा अदुवाका ६ वटा बोरामा लुकाएर ल्याइएको १०१ केजी चरेशसहित धादिङका टोकबहादुर तामाङ पक्राउ परेका छन्। 

२० फागुनमा सिरहाका मीनकुमार श्रेष्ठ र मकवानपुरका खड्गबहादुर पौडेल वा८च ५४७७ नम्बरको बोलेरो जीपमा रु.१४ लाख बराबरको ७००० थान बुपरनर्फिन र डाईजेपाम सहित काठमाडौंको बालाजुमा पक्राउ परेका थिए। उनीहरू रक्सौलबाट लागूऔषध ल्याएर काठमाडौंका डिलरहरूलाई बेच्ने गर्दथे। त्यसको ठीक एक महीनाअघि २० माघमा तीनकुनेमा ना३ख ६३०५ नम्बरको भाडाको पेट्रोल ट्याङ्करमा ४००० थान बुपरनर्फिन, डाईजेपामसहित चालक आइतसिंह थिङ समातिएका थिए। 

२४ फागुनमा सामाखुशीमा रु.१ करोड २० लाख बराबरको १२०० ग्राम प्लाष्टिक कोटेड सेतो हेरोइनसहित सुपारोङ तामाङ समातिएका थिए। अफगानिस्तानबाट ल्याइएको यो हेरोइन युरोप पठाउने तयारी भइरहेको बेला समातिएको थियो। विमानस्थलको एण्टी नार्कोटिक एभिएशन स्क्वाडले भदौ २०६८ मा ड्रागन एयरबाट हङकङ जान लागेका सोलुखुम्बुका कर्मा ग्याल्जेन लामा र रिन्जिन शेर्पाको पेटमा प्लाष्टिक कोटेड चरेश फेला पारेको थियो। असहज अवस्थामा विमान चढ्न लागेका कर्माको पेटबाट १२५२ ग्राम र रिन्जिनको पेटबाट ९७२ ग्राम चरेश निकालिएको थियो। त्यस्तै, थान्का पेन्टिङ अड्याउने प्लाइउडको डण्डामा चरेश निर्यात गर्ने नुवाकोटका श्रीमान लामा पनि पक्राउ परेका छन्। उनले पछिल्लो पटक भदौ २०६८ मा २७ वटा थान्काको डण्डामा ४६०० ग्राम चरेश बेलायत पठाउन लागेका थिए। 

एसएसपी नवराज सिलवाल प्रहरीले कडाइ गरे पनि किनेर लागूऔषध सेवन गर्ने क्रम नघटेकाले व्यापार मौलाइरहेको बताउँछन्। १५–३० वर्ष उमेर समूहका तन्नेरी लागूऔषधको कुलतमा फँसेका र २०–३५ वर्षका मानिस कारोबारमा सक्रिय छन्। एएनएलआईयूका प्रमुख डीआईजी यादव अधिकारी भन्छन्, “समस्या विकराल बन्दै गएकाले सामाजिक संघ–संस्था, विद्यालय, शिक्षक–अभिभावकहरू चनाखो हुनुपर्ने बेला आएको छ। नत्र सिंगो किशोर पुस्तालाई लागूऔषधले बर्बाद गर्नेछ।” 

२०१२ को पाँच महीनामा 
पक्राउः १०५६, विदेशीः ८३ 
गाँजा : २०५९३ केजी ७९२ ग्राम 
चरेशः १८१२ केजी ११८ ग्राम 
हिरोइनः ६ केजी ९२७ ग्राम 
अफिमः ०.५ केजी 
डाईजेपामः २४८७४ थान 
बुपरनर्फिनः १७६७८ थान 
ह्यासिस पाउडरः १३४ केजी 
कोकिनः १ केजी 
गाँजाको धूलोः १३४ केजी 
अन्य ट्याबलेटः १६१५६ थान

comments powered by Disqus

रमझम