यसरी गरियो सर्वेक्षण

Share:
  

सर्वेक्षणमा सहभागी नारायण नगरपालिका, दैलेखका एक उत्तरदाता।
हिमालमिडिया प्रालि ले देशको समसामयिक राजनीति, राष्ट्रियता र अखण्डता, शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता, मुलुकको भावी शासकीय स्वरुप, शान्ति–सुरक्षा, सुशासन, जनजीविकालगायतका विषयमा आम नेपालीको पछिल्लो धारणा र प्राथमिकता पहिल्याउन गरेको राष्ट्रिय जनमत सर्वेक्षण–२०६९ (२) को नतिजा पाठकसामु प्रस्तुत छ। यसअघि पनि यस्तै विषयमा केन्द्रित रहेर आठ वटा सर्वेक्षण गरिसकेको हिमाल को यो सर्वेक्षणमा देशका विभिन्न नगरपालिका, नगरोन्मुख गाविस र गाविसमा बसोबास गर्ने १८ वर्षमाथिका ३,५०८ जना उत्तरदाता सहभागी थिए।

उत्तरदाताको नमूना छनोट प्रोब्याब्लिटी र नन्प्रोब्याब्लिटी स्याम्पलिङ विधिद्वारा पाँच चरणमा गरिएको थियो। पहिलो चरणमा स्ट्राटिफाइड स्याम्पलिङबाट देशलाई तीन भौगोलिक क्षेत्र (हिमाल, पहाड र तराई), पाँच विकास क्षेत्र (पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल) तथा थप एक काठमाडौं उपत्यकाका आधारमा १६ भागमा विभाजन गरियो। त्यसपछि सबै भाग (स्ट्राटम) बाट पर्पोसिभ स्याम्पलिङद्वारा ३८ जिल्ला र ती जिल्लाका ४८ नगरपालिका र ४९ नगरोन्मुख गाविस तथा गाविसलाई नमूनामा छनोट गरियो। नमूनामा परेका नगरपालिका र गाविसबाट र्‍याण्डम स्याम्पलिङ विधिद्वारा २८४ वटा वडाका घरधुरी हुँदै उत्तरदातासम्म पुगियो।

कुन ठाउँमा कति जनालाई प्रश्न सोध्ने भन्ने स्याम्पल साइजको निर्धारण राष्ट्रिय जनगणना–२०६८ को जनसङ्ख्याको आधारमा अर्थात् प्रोब्याब्लिटी प्रोफेसनल टु साइज (पीपीएस) स्याम्पलिङद्वारा गरिएको र शहरी क्षेत्रका बासिन्दाको हकमा पीपीएस स्याम्पलिङबाट प्राप्त संख्या भन्दा बढीलाई समावेश गरिएको थियो। कुल ३५०८ सर्वेक्षण नमूनामा शहरी (नगरपालिका) तथा नगरोन्मुख गाविसका ६६.२ र ग्रामीण क्षेत्र (गाविस)का ३३.८ प्रतिशत थिए। लिङ्ग अनुसार पुरुष ४८.८ र महिलाको ५१.२ प्रतिशत सहभागिता भएको नमूना संकलनमा उत्तरदातालाई १८–२४, २५–३९, ४०–५९ र ६० माथिको चार उमेर समूहमा विभाजन गरिएको थियो।

उत्तरदाताले प्रश्नपत्रमा प्रयोग गरिएका शब्द, तिनको आशय र क्रमबद्धतालाई सजिलै बुझन सकून् भनेर प्रश्नावलीलाई पूर्व परीक्षण (प्रि–टेष्ट) र त्यसबाट प्राप्त नतिजाका आधारमा परिष्कृत गरिएको थियो। प्रश्नपत्रमा कुल ४५ प्रश्न समावेश थिए। सर्वेक्षणमा संलग्न ५९ जना गणकको टोलीलाई सर्वेक्षण विधि, प्रश्नहरूको उद्देश्य एवं उत्तरदाताहरूसँगको सम्बन्ध विकासलगायतका विषयमा अभिमुख गरिएको थियो।
यो सर्वेक्षणमा २६ माघ–५ फागुन २०६९ बीचको जनमतलाई समेटिएको छ। सर्वेक्षकहरूबाट प्राप्त प्रश्नावलीलाई कोडिङ गरिए अनुरुप कम्प्युटरमा सीएस–प्रो, एसपीएसएस, एमएस एक्सेल जस्ता सफ्टवेयरबाट प्रशोधन र विश्लेषण गरिएको थियो। प्रश्नावलीमा समावेश ४५ वटै प्रश्नको सीधा परिणाम तालिकामा तयार पारिएको र त्यसको क्रस–टेबुलेशन पनि निकालिएको छ।

सर्वेक्षणको योजना, प्रश्नावली निर्माण, गणकहरूको तालीम, प्रश्नहरूको पूर्व परीक्षण तथा अन्य प्राविधिक कार्यमा विज्ञहरूसँग परामर्श गरिएको थियो। प्रश्नावली तयार पार्न नेपाली टाइम्स साप्ताहिकका सम्पादक कुन्द दीक्षितको परामर्श निकै सहयोगी भयो। कतिपय राजनीतिक प्रश्नको सुस्पष्टताका लागि राजनीतिक दलका नेता तथा विचार निर्माताहरूसँग समेत परामर्श गरिएको थियो। एनेकपा माओवादीका राम कार्की, नेपाली कांग्रेसका धनराज गुरुङ र राधेश्याम अधिकारी, नेकपा एमालेका प्रदीप ज्ञवाली र रामचन्द्र झ्ा, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का जितेन्द्र देव, तराई मधेश लोकतान्त्रिक पार्टीका वृषेशचन्द्र लाल र राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ सम्मिलित एउटा अन्तरक्रिया गरियोभने गेजा शर्मा वाग्ले, चन्द्रकिशोर झ्ा, लालबाबु यादव, मुमाराम खनाल, विष्णु सापकोटा, टंक कार्की जस्ता विद्वान् लेखक तथा विचार निर्माताहरू सम्मिलित अर्को अन्तरक्रिया। दुवैका सुझ्ाव प्रश्नावली निर्माणमा महत्वपूर्ण बने।

सर्वेक्षणका लागि नमूना संकलन र प्रश्नावलीहरूको तथ्यांक विश्लेषण तथ्यांकशास्त्री बालकृष्ण खड्काले गर्नुभएको हो। त्यस्तै, नमूना संकलनको क्रममा फिल्ड संयोजनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सर्वेक्षणविद् हिरण्य बराल र कम्प्युटर प्रशोधन भोला कोइरालाको नेतृत्वमा भएको थियो। तथ्यांकको क्रस टेबुलेशनका आधारमा विस्तृत विश्लेषण राजनीतिक विश्लेषकद्वय मनमोहन भट्टराई र मुमाराम खनालले गर्नुभएको छ। सर्वेक्षणको विस्तृत र पूर्ण रिपोर्ट हिमालमिडिया बाट पाउन सकिन्छ।

–सम्पादक

comments powered by Disqus

रमझम