सच्चा सेवा

Share:
  
रुकुमका राजकुमार र काठमाडौंकी उमाले महाकविको यो दर्शनलाई व्यवहारमा उतारिरहेका छन्।

खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ,

आफू मिटाई अरूलाई दिनू जहाँ छ।

*–महाकवि लक्ष्मीप्रसाद देवकोटा *

तस्वीरहरूः मीना शर्मा
राजकुमार पुन र उमा गुरुङ
कीर्तिपुरको भत्केपाटी चोक नजिकै दुईतले घरमा रहेको बेबी लाइफ होममा एचआईभी/एड्स संक्रमित १० बालबालिका छन्। यसका सञ्चालक साँख–२ रुकुमका राजकुमार पुन (२९) र काठमाडौं बसुन्धराकी उमा गुरुङ (३४) हुन्। तीन वर्षअघि यो घर बनाएका राजकुमारले यिनै बालबालिकाका लागि अहिले घर बेचिसकेका छन्। उमाले पनि यिनैका लागि चाबहिल चोकको कस्मेटिक पसल बेचिन्।

२०६७ असोजमा संस्था दर्ता गरेर दाङबाट चार जना एचआईभी संक्रमित केटाकेटी ल्याउँदा राजकुमारको घर बन्दै थियो। शुरूमा उमाको बसुन्धरास्थित घरमा राखिएका बालबालिकालाई जस्ता पाता र टेबुलहरू राख्न मिल्ने भएपछि राजकुमारको नयाँ घरमा सारियो। त्यसबेला कुपोषण लगायतका समस्याहरूले सताएका एचआईभी संक्रमित नानीहरूलाई हरेक दिन अस्पताल लैजानुपर्थ्यो। उनीहरूका लागि राम्रो खानपान र नियमित औषधिको आवश्यकता पूरा गर्दा र पढाइको चाँजो मिलाउँदासम्म उमाले होलसेल कस्मेटिक्स पसल र राजकुमारले बाबुआमा राख्न बनाएको घर नै बेचे।

समस्यामाथि समस्या

बेबी लाइफ होममा दाङ, सल्यान र बैतडीका ३ देखि ११ वर्षसम्मका एचआईभी संक्रमित बालबालिका छन्। तीमध्ये पाँच बालबालिकाका आमाबाबु दुवै छैनन् भने पाँच जनाको बाबु छैनन्। उनीहरू सबैलाई आमाबाबुबाट रोग सरेको हो। उनीहरूको वास्तविकता लुकाउनुभन्दा अपहेलना गर्नेलाई कारबाहीको व्यवस्था हुनुपर्ने विचार राख्ने राजकुमार र उमालाई यसले गर्दा सहयोग जुटाउन र विद्यालय भर्ना गर्न कठिनाइ परेको छ। उनीहरूलाई परिचय नलुकाई कुनै विद्यालयले पनि भर्ना लिन मानेनन्। “निजी विद्यालयहरूले त सीधै यस्ता विद्यार्थी लिंदा व्यापार डुब्छ भने” उमा भन्छिन्, “सरकारी विद्यालयहरू पनि मानेनन्।”

बेबी लाइफ होमका एचआईभी/एड्स संक्रमित बच्चा।
६ महीना भौंतारिंदा पनि कसैले भर्ना नलिएपछि उमा र राजकुमार आफैं विद्यालय दर्ता गर्न जिल्ला शिक्षा कार्यालय काठमाडौं पुगे, तर अघिल्लो वर्ष निवेदन दिएकाले मात्र यस वर्ष अनुमति पाउँछ भनियो। त्यसपछि भदौ २०६८ देखि प्रारम्भिक बाल विकास केन्द्र दर्ता गरेर नानीहरूलाई पढाउन शुरू गरेका उनीहरूले विद्यालय दर्ताको प्रयास पनि जारी राखे। वैशाख २०६९ मा जिशिकाले नजिकका दुई विद्यालयको सिफारिसपत्र लिएर आउन भन्यो, जुन कसैले दिएनन्। राजकुमार भन्छन्, “तर, नानीहरूको उमेर बढ्दै गएकाले विद्यालय नभई भएको छैन।”

नानीहरूको पालनपोषण र औषधि उपचार गर्दागर्दै थेगिनसक्नु ऋण बढेकाले राजकुमारले गत वैशाखमा घर बेचेर मासिक रु.१५ हजार भाडामा त्यहीं बसेका छन्। घर भाडासहित बाल विकास केन्द्र र बेबी लाइफ होमको न्यूनतम मासिक खर्च रु.६० हजार छ। घर बेचेको पैसाले अरू केही महीना धान्ने अवस्था त छ, तर घर खाली गरिदिनुपर्‍यो भन्ने अनुरोधले अर्को समस्या थपिएको राजकुमार बताउँछन्। “दुइ–तीन महीनापछिको खर्च कसरी जुटाउने भन्ने चिन्ता थियो” राजकुमार भन्छन्, “अब कहाँ सार्ने भन्ने समस्या थपिएको छ, त्यसमाथि संक्रमित नानीहरू पालिरहेका छौं भन्दा कसैले घर दिंदैनन्।”

सरकार, अरू निकाय वा व्यक्तिहरूले सहयोग गरिदिए आफूहरूको शिक्षा सदनमा संक्रमित बालबालिकाको भविष्य फुल्ने आशा उमा र राजकुमारको छ।

मीना शर्मा


'मर्न त आखिर सबै मरिन्छ'

**मञ्जु चन्द **

मेरो घर बैतडी हो। अहिले १० वर्षकी भएँ। तीन वर्षदेखि कीर्तिपुरको 'बेबी लाइफ होम'मा छु र सफलता एचआईभी शिक्षा सदनमा कक्षा पाँचमा पढ्छु। भविष्यमा आफू जस्ता भाइबहिनीको सेवा गर्न चाहन्छु। म दुई वर्षकी छँदा बुबाआमा एचआईभी एड्सको कारण बित्नुभएछ। एक दिन म साह्रै बिरामी परेपछि मेरो हेरचाह गर्ने आफन्तले अस्पताल लैजानुभयो। मेरो शरीरमा एचआईभी भाइरस सरेको थाहा पाएपछि भने सबैले छिछिः दूरदूर् गर्न थाले। मेरो बारेमा पत्रिकामा समाचार आएपछि काठमाडौंबाट ठूलो सर (राजकुमार पुन) र ठूलो म्याडम (उमा गुरुङ) आउनुभयो। त्यसबेला म एकदमै बिरामी र कुपोषणग्रस्त थिएँ। सर र म्याडमले यहाँ ल्याएर उपचार गर्नुभयो।

एचआईभी रोग होइन, लक्षण मात्र हो। एचआईभी लाग्दैमा मान्छे मरिहाल्दैन। एचआईभी छ भन्दैमा कोही डराउनुपर्दैन। हात मिलाउँदा, एउटै भाँडामा खाँदा, सँगै बस्दा, सँगै पढ्दा एचआईभी सर्दैन। एचआईभी भएको र नभएको व्यक्तिको घाउ छ र त्यो घाउ छोइयो भने चाहिं सर्न सक्छ। एउटै सिरिञ्ज प्रयोग गर्दा पनि सर्न सक्छ। यो रोग टि.बी जस्तो सासबाट सर्दैन। एचआईभी/एड्स भएकाहरू औषधि, खाना र स्याहार–सुसार नपाउँदा मात्र मरिने हो। मर्न त एचआईभी नलागेका व्यक्ति पनि मर्छन् नै। त्यसैले हामीलाई घृणा होइन माया गर्नुहोस्।


बाँच्ने आशा पलाउँदै

नयाँ उपचार पद्धति र औषधिले एचआईभी संक्रमितहरूमा बाँच्ने आशा बढाएको छ।

एड्स पीडितहरूले कञ्चनपुरमा खोलेको संस्था 'नव आशा' र औषधिहरूले सात वर्षदेखि मृत्यु पर्खिंदै आएकी डोटीको सानागाउँकी जोगिनी भुल जस्ताको जीवन पूरै परिवर्तन गरिदिएको छ। बुहारी र नातिलाई अहिले दिनमा दुई पटक औषधि खान सम्झाइरहेकी जोगिनी भन्छिन्, “अब त मभन्दा अगाडि नाति र बुहारीलाई केही नहोला।”

औषधि खान थालेपछि कञ्चनपुर, दैजीका प्रेम खड्काले पनि रक्सी छाडेका छन्। अहिले उनको साँझ्–बिहान आफू जस्तै एड्स पीडितलाई सहयोग गर्ने संस्था 'नव आशा' का लागि दौडधुप गरेर बित्छ। कञ्चनपुरका ३७५ जना एचआईभी संक्रमितलाई 'नव आशा'ले सघाइरहेको छ।

कैलालीकी बटुक लुहार र उनकी सौता लालिमा पनि अहिले 'केही दिनमै मरिने' डर हटेको छ। धनगढीस्थित सेती अञ्चल अस्पतालको 'एन्टीरेक्टोभाइरल थेरापी सेन्टर' (एआरटी) जान थालेपछि उनीहरूमा बाँच्ने आशा पलाएको हो। ९ वर्षअघि संक्रमित भएका उनीहरू साढे ६ वर्षदेखि एआरटी गइरहेका छन्। बटुक भन्छिन्, “चार/पाँच दिनमा मर्छ्यौ भन्थे नौ वर्ष भइसक्यो बाँचेकै छु।”

धनगढीस्थित सेती अञ्चल अस्पतालको एआरटी क्लिनिकमा ४५ दिने शिशुदेखि ६१ वर्षका १,२१९ जना एचआईभी संक्रमितले सेवा लिइरहेका छन्। त्यहाँ जानुअघि उनीहरूलाई मृत्युको मुखमा पुगेको भनिएको थियो। एआरटी सेन्टरका फोकल पर्सन मुकुन्द सिंह भन्छन्, “बाँच्दैन, डिस्चार्ज गरिदिनु पर्‍यो भनेका मान्छे यहाँ आउन थालेपछि काम समेत गर्न थालेका छन्।”

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार त्यो क्षेत्रका ६,५०० एचआईभी संक्रमितमध्ये ३,१०० ले एआरटी सेवा लिइरहेका छन्। दार्चुला, बझ्ाङ र बाजुरा बाहेक सुदूरपश्चिमका सात जिल्लामा एआरटी सेवा उपलव्ध छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार देशभर ३९ केन्द्रमा ७,१४२ जना संक्रमितले यो सेवा लिइरहेका छन्।

कति बाँचिन्छ?

एआरटी सेवाले संक्रमितको आयु लम्ब्याएको अर्थात् संक्रमितको मृत्यु दर घटाएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क छ। ब्रिटिश मेडिकल जर्नल एलएएनसीईटीमा भर्खरै प्रकाशित रिपोर्टमा अहिलेको उपचार पद्धतिका कारण एचआईभी संक्रमित भएको ३७ वर्षसम्म मानिस बाँच्न सक्ने उल्लेख छ। सन् १९९६ ताका पाउने औषधि र उपचारले १० वर्ष मात्रै बचाउन सक्थे।

एआरटी सेवा नलिएका संक्रमितहरूलाई पनि अहिले पहिले जस्तो मृत्युको डर छैन। महाकाली अञ्चल अस्पतालका एड्स पीडितहरूको उपचारमा संलग्न डा. आरके चौधरीका अनुसार औषधि र उपचार पद्धतिका कारण अहिले एचआईभी संक्रमितहरू पनि अरू सामान्य मान्छे जति नै बाँच्न सक्छन्। तर, त्यसका लागि नियमित औषधि सेवन, पौष्टिक आहार खानु र सरसफाईमा उचित ध्यान भने दिनुपर्ने डा. चौधरीको भनाइ छ।

संक्रमितलाई हेर्ने घरपरिवार तथा समाजको दृष्टिकोण बदलिए उनीहरूलाई अरू बढी बचाउन सकिने विभिन्न अध्ययनहरूले देखाएका छन्। जस्तो संक्रमितलाई अरू बिमारी जस्तै हेर्दा र व्यवहार गर्दा उनीहरूमा हीनभाव आउँदैन। अरूबाट माया पाइरहेको महसूस हुँदा उनीहरूमा बाँच्ने आशा जाग्छ र त्यसले स्वतः धेरै बचाउँछ।
पतिबाट एचआईभी सारिएकी ६१ वर्षीया बटुकको आत्मविश्वास छ, “मुम्बैया रोग लाग्नुमा मेरो गल्ती छैन। अरूले जति मर्छ्यौ भने पनि म अझै बाँच्छु।” धेरै बाँच्न बटुकको जस्तै आत्मविश्वास भने हुनै पर्छ।

बच्चु विक, धनगढी


पति परिराम (६६) को एड्सबाट मृत्यु भएपछि कैलाली गोदावरी–४ की बटुक लुहार (६१) को बाँच्ने आशा हरायो। पतिको रोग पत्नीलाई सर्ने सुनेकी उनले खान मन गर्न पनि छाडिन्।

कञ्चनपुरको दैजी–२ का प्रेम खड्का (४६) ले डाक्टरबाट एचआईभी संक्रमित भएको थाहा पाएको साँझदेखि नै रक्सी पिउन शुरू गरे। मृत्युको डर भगाउन उनको बिहानैदेखि रक्सीमा डुब्ने बानी पर्‍यो।

डोटीको सानागाउँ–७ की जोगिनी भुल (५९) एड्सले छोरा भाने र नातिनी लक्ष्मीको मृत्युपछि त्रस्त बनिन्। बुहारी माता (२९) र नाति धौले (२) को मृत्यु भएको दिनहुँ देखिने सपनाले उनलाई अरू अत्याउँथ्यो।

comments powered by Disqus

रमझम