इतिहासबाट सिक्नुपर्ने पाठ

Share:
  

नेपालका पछिल्ला मल्ल राजाहरूको

आपसी अन्तःकलह (खण्ड १)

लेखक/प्रकाशकः श्रीकृष्ण आचार्य

पृष्ठः १६८+१२,

मूल्यः रु.१४५

नेपाली समाज अन्योल र विग्रहको अवस्थाबाट गुजि्ररहेको बेला इतिहासकार श्रीकृष्ण आचार्यले आपसी बेमेलबाट पतन भएको मल्लवंशको इतिहास नेपालका पछिल्ला मल्ल राजाहरूको आपसी अन्तःकलह (खण्ड १) प्रकाशित गरेका छन्। यता मल्ल राजवंश पतन हुँदै र नेपाल राज्य खण्डित हुँदै गएको, उता नेपालमाथि भारतका मुगल शासकहरूको कुदृष्टि परेको र भारतमा राजनीतिक–सामाजिक–सांस्कृतिक उथलपुथल मच्चिरहेको पृष्ठभूमिमा नेपालको अस्तित्व रक्षाको लागि पनि गोरखामा पृथ्वीनारायण शाहको उदय भएको आचार्यको कथन छ।

अहिले भइरहेको जातीय संघीयताको पक्षपोषणलाई लेखकले नेपाली इतिहासको ज्ञानको कमीको परिणाम मानेका छन्। आचार्यले संघबाटै विकास हुने भए एकीकरणअघि किन भएन भन्ने प्रश्न पनि उठाएका छन्। पुस्तकमा शासकहरू बीचको कटु सम्बन्धका कारण तत्कालीन भक्तपुर र ललितपुरका बासिन्दाले कान्तिपुरमा पर्ने पशुपतिनाथको दर्शन गर्न नपाएको लगायतका उदाहरणहरू छन्। राजा, भाइ–भारदारको कलह, षडयन्त्र, आक्रमण र हत्याका डरलाग्दा विवरणहरू पढ्दा त्यसबेलाका शासकहरू यसैमा व्यस्त रहन्थे, अरू कामै गर्दैनथे जस्तो लाग्छ। प्रताप मल्ल र सिद्धिनरसिंह मल्लको कार्यकालको केही समयबाहेक सबै कालखण्ड यसैगरी बितेको किताबले जनाउँछ। भुपालेन्द्र मल्ललाई स्थापित गर्ने क्रममा पशुपतिनाथमा शरण लिएर बसेको अवस्थामा महीपतेन्द्र मल्लको हत्या गरिंदा 'यस्ता निर्दयी भारदार भएको राज्यमा बस्नु निको छैन' भन्दै पुजारी ललितपुर गएको प्रसङ्ग मार्मिक छ। आजका नेपालीले इतिहासका घटनाहरूबाट सिक्नुपर्ने धेरै पाठ छन्, किताबमा।

तर, किताबमा तथ्य विवरणहरूको ज्यास्तीले व्याख्या–विश्लेषणलाई अपर्याप्त बनाएको छ। शब्दावली र घटना विवरण ठाउँ–ठाउँमा दोहोरिएका छन्। सबैभन्दा ठूलो समस्याचाहिं लेखनशैलीमै छ। लाग्छ, विद्वान लेखक आचार्यले यो किताब आफूजस्तै प्राज्ञिक समुदायका लागि मात्र लेखेका हुन्। जबकि, उनले प्रकाश पार्न खोजेका कुराहरू बढी आमपाठकलाई आवश्यक छ। त्यसको लागि झण्डैझण्डै कथालेखनकै शैलीमा जाँदा बढी उपयोगी हुनेथियो।

बद्री पौड्याल


समयको ऐना तारो

लेखकः कृष्ण शाह यात्री,

प्रकाशकः डिकुरा पब्लिकेशन

मूल्यः रु.१३५,

पृष्ठः १६०

रंगकर्मी कृष्ण शाह यात्री नाटक, लघुकथा, कथा र बालकथामा कलम चलाइरहेका छन्। ३३ कृतिका स्रष्टा यात्रीले यसै वर्ष तेस्रो लघुकथासङ्ग्रह तारो प्रकाशित गरेका छन्। एकै बसाइमा पढ्न सकिने तारो का लघुकथाहरू प्रयोगका दृष्टिले सशक्त र शिल्पका हिसाबले व्यङ्ग्यधर्मी छन्।

६५ थान लघुकथा संग्रहित तारो का धेरैजसो सिर्जनामा राजनीतिक विसङ्गति र कुरुप यथार्थको चित्रण छन्। मान्छेभित्रका आडम्बर, नीचता, क्रूरता र त्रासदी तारो का अन्तरवस्तु हुन्। केही लघुकथामा मिथकीय पात्रहरूको विनिर्माण छ। यात्रीले मिथकीय सन्दर्भ र पौराणिक पात्रहरूको रोचक प्रयोग गरेका छन्। आधुनिक एकलव्य मा दुर्गम गाउँको सरकारी विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरीब परिवारका एकलव्यको राम्रो कलेज पढ्ने चाहना र राजधानीमा भव्य कलेज खोलेका शिक्षाविद् द्रोणाचार्यको पैसामोह चित्रित छ। मुलुक चर्को गृहयुद्धमा फँसेको बेला बालक श्रवणकुमारलाई उनका गरीब पिताले अनेक दुःख गरेर शहरमा पढाउँछन्। श्रवणकुमार लघुकथाका तिनै श्रवणकुमार प्रगति गर्दै अमेरिका पुग्छन् र जन्मभूमि र मातापितालाई चटक्कै बिर्सन्छन्।

कथाकार यात्रीले लघुकथाहरूमार्फत १० वर्षे सशस्त्र द्वन्द्व, त्यसले नेपाली समाजमा पारेको प्रभावलाई आकलन गर्नुका साथै २०६२/६३ को जनआन्दोलनपछि बढेको जनचेतना र संविधानप्रतिको चिन्ता पनि अभिव्यक्त गरेका छन्। सहिदहरू, दृश्य–दृश्यहरू, जेल वर्षहरू, फुट, बन्द, स्वभाव, गोलेमन्त्री, दृष्टिकोण, विकल्प, डर, प्राप्ति, समय–समय शीर्षकका कथाहरू यिनै विषयमा केन्द्रित लघुकथाहरू हुन्। यात्रीले सङ्ग्रहको नाम लघुकथाहरूको शीर्षक बाहिरबाट जुराएका छन्। वर्तमानका यावत् विसङ्गतिप्रति व्यङ्ग्यको तारो हान्ने सङ्ग्रहभित्रका अधिकांश लघुकथा रोचकसँगै घोचक पनि छन्। पाठकलाई समाउन हम्मेहम्मे मान्ने अति सामान्य विषयहरूमाथि कथाको पोयो हाल्नु तारो को खट्किने पक्ष हो।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम